स्वास्थ्यकर्मीलाई ‘कोभिड भत्ता’मा विभेद



शुभाकर विश्वकर्मा, कोहलपुर

बाँकेको कोहलपुर नगरपालिका स्वास्थ्य शाखा अन्तर्गत विभिन्न तहमा कार्यरत स्वास्थ्यकर्मीहरुले कोभिड जोखिम भत्तामा विभेद गरिएको बताएका छन् । दोस्रो चरणको कोरोनाको समयमा फ्रन्टलाइनरका रुपमा ड्युटी गरेको भएपनि कोभिड भत्ता समान रुपमा नदिइएको गुनासो स्वास्थ्यकर्मीले गरेका हुन् । स्वास्थ्य शाखा अन्तर्गतका विभिन्न इकाईमा रहेर कोभिड विरुद्धको अभियानमा सक्रिय रुपमा खटिएको भएपनि सबैलाई समान रुपमा भत्ता नदिइएको उनीहरुको भनाइ छ ।

नगरपालिकाको निर्देशन अनुसार ज्यानको बाजी लगाएर कोरोना कहरको समयमा सक्रिय रुपमा खटिएको भएपनि सुविधा पाउने समयमा आएर विभेद गरेको कोहलपुर स्वास्थ्य चौकीका प्रमुख प्रकाशजंग हमालले बताए । असार मसान्तको अन्तिमतिर स्वास्थ्यकर्मीहरुलाई भत्ता वितरण गरिएको भएपनि अधिकांश स्वास्थ्यकर्मीहरुलाई चित्त नबुझेकोले विरोध जनाएको उनले जानकारी दिए ।

कोहलपुर नगरपालिकाकामा कुल ६५ जना स्वास्थ्य क्षेत्रका कर्मचारी रहेका छन् । ‘स्वास्थ्य मन्त्रालयले स्पष्ट रुपमा छुट्याएको छ । शतप्रतिशत र ५० प्रतिशत भत्ता पाउने स्वास्थ्यकर्मीको वर्गीकरण गरिएको छ । निर्देशिकामा उल्लेख गरे अनुसार हामीले भत्ता पाएनौँ । त्यसैले हामीले नियम अनुसार भत्ता पाउनुपर्ने अडान राखेका हौँ ।’ हमालले भने ।

जबकी स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकामा अस्तपाल र ल्यावमा खटिएका स्वास्थ्यकर्मीलाई शतप्रतिशत कोभिड जोखिम भत्ता दिने भनेको छ । तर कोहलपुर अस्पताल र ल्याबमा खटिएका स्वास्थ्यकर्मीहरुले नै तोकिएअनुसार भत्ता नपाएको गरेका छन् । शुक्रबार भत्तामा विभेद भएको भन्दै नगरप्रमुख,प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसँग आफ्ना गुनासो पोख्न गएका थिए । नगरपालिकाका ४ जना स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मी सहित अन्य ४–५ जनाले शतप्रतिशत भत्ता पाएका छन् । बाँकी बहुसंख्यक स्वास्थ्यकर्मीहरुले भने कोभिड जोखिम भत्ता पाएका छैनन् ।

उनी भन्छन्,‘आइसालेसन र ल्यावमा खटिएकाले समेत शतप्रतिशत भत्ता पाएका छैनन् । कतिको नाम नै गएको छैन, हामीले त त्यही पनि पाएका छैनौँ ।’ स्वास्थ्यकर्मी सबैलाई ५० प्रतिशत भत्ता दिनुपर्ने भएपनि अन्यलाई दिइएको उनको भनाइ छ ।कोहलपुर नगरपालिकाद्धारा सञ्चालित आइसालेसन, अस्पताल र ल्याबमा खटिएकाले समेत कोभिड भत्ता प्रयाप्त नपाएको उनले बताए । कोहलपुका ल्यावमा दुई जना र अस्पतालमा एक दर्जन बढी जनशक्ति परिचालित थिए । उनीहरुले पनि आफूहरुले अहिलेसम्म कोभिड भत्ता नपाएको गुनासो गर्दै मेयरलाई गुहार गरिरहेका छन् ।

सबैले समान रुपमा सेवा पाउनु पर्ने माग उनीहरुको रहेको छ । कोरोनाका कारण आफूहरु पनि दैनिक खटिएको भन्दै शतप्रतिशत नै भत्ता पाउनुपर्ने उनले बताएका हुन् । अस्पताल र ल्यावमा खटिएकाकाहरुका सम्बन्धमा आफूहरुको विरोध नभएको पनि उनले स्पष्ट पारे । शुक्रबार सोही विषयमा उनीहरुले कोहलपुर नगरपालिकाका प्रमुख लूटबहादुर रावतलाई भेटेका थिए ।
निर्देशिकाको मापदण्डमा नपरेका तर शतप्रतिशत भत्ता पाएकाहरुको हकमा भत्ता फिर्ता गराई नीतिगत निर्णय हुनुपर्ने आफूहरुको माग रहेको उनले बताए ।
‘पहिलो र दोस्रो चरणको कोरोनाको समयमा हामीले खटिएका थियौँ । अझै पनि हामी ड्युटी गर्न तयार छौँ । तर सबैलाई समान ज्याला हुनुपर्छ । नत्र हामी सबै मिलेर आन्दोलन गर्छौँ’मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने । यता लेखा प्रमुख सुदिप सिंह सुनारले सबै स्वास्थ्यकर्मीहरुलाई समान रुपमा भत्ता दिने निर्णय भइसकेको बताए । उनका अनुसार प्राविधिक मिस्टेक भएका कारण समस्या भएको हो । अरु केही पनि भएको होइन । अब सबैले समान रुपमा कोभिड भत्ता पाउँछन् । उनले अहिले सम्म कतिजनाले भत्ता पाए र कति रकम निकासा भएको छ भनेर खुलाउन चाहेनन् ।

कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले पनि स्वास्थ्यकर्मीहरुले समान रुपमा भत्ता पाएनौँ भनी गुनासो गरेको बताए । गुनासो गर्ने स्वास्थ्यकर्मीहरुले सामुहिक रुपमा निवेदन दिएको भन्दै स्वास्थ्यकर्मीको माग पुरा गरिने बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार २६ गते शनिबार