स्वास्थ्य स्वयंसेविकालाई साईकल



नेपालगञ्ज ।

बाँकेको नेपालगञ्जमा महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल उपलब्ध गराइएको छ । नेपालगञ्ज उप–महानगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनका लागि साइकल उपलब्ध गराएको हो ।

बुधवार एक कार्यक्रमका बीच नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणाले महिला स्वास्थ्य स्वयंसेविकालाई साईकल वितरण गरेका थिए । नेपालगञ्ज उप–महानगरपालिका भित्र कार्यरत २ सय १ जना महिला स्वास्थ्य स्वयंसेविकामध्ये १ सय ६८ स्वास्थ्य स्वयंसेविकालाई साईकल उपलब्ध गराइएको थियो ।

सो अवसरमा बोल्दै नगर प्रमुख राणाले यसबाट महिला स्वास्थ्य स्वयंसेविकालाई काम गर्न सहज हुने बताएका थिए । ‘हामीले यसबाट महिला स्वास्थ्य स्वयंसेविकालाई काम गर्न सहज हुने विश्वास लिएका छौं’ उनले भने, ‘समग्रमा यसले नगरकै स्वास्थ्य क्षेत्र सुधार हुने अपेक्षासहित साईकल सहयोग गरिएको हो ।’

नगरभित्र कार्यरत ३३ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुले उमेर हदका कारण असारपछि अवकाश पाउन लागेको उप–महानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए । उनीहरुले ६० वर्षीय उमेर हदका कारण अवकाश पाउन लागेका हुन् ।

मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई साईकल उपलब्ध गराइएको नेपालगञ्ज उप–महानगरपालिकाले जनाएको छ । साईकल पाएपछि महिला स्वास्थ्य स्वयंसेविकाहरुले यसले आफुहरुलाई थप जिम्मेवार बनाएको बताएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार २४ गते बिहीबार