शिवु खनाल । दाङ ।
अपराधिक गतिविधि न्यूनिकरण गर्न भारतसँग जोडिएको दाङको नेपाल भारत सीमा क्षेत्रको अनुगमन गरिएको छ । गढवा गाउँपालिका वडा नम्बर ८ कोइलाबास नाकासम्मको सीमा स्तम्भ, सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (विओपी) कोइलाबास र सीमा प्रहरी चौकीको अनुगमन गरिएको हो ।
नयाँ आएका दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङको नेतृत्वमा भारतसँगको सीमा क्षेत्रको शुक्रवार अनुगमन गरिएको थियो । अनुगमनमा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्ले, राष्ट्रिय अनुसन्धान दाङका प्रमुख अर्जुन भण्डारी, सशस्त्र प्रहरी बल २९ नम्बर गण हेकुवा ज्वालामाई गण भालुवाङका प्रहरी उपरीक्षक टोप खनाल लगायतका सुरक्षाकर्मी तथा जनप्रतिनिधीहरु रहेका थिए ।
सीमा क्षेत्रमा हुने अवैध र अपराध कार्यलाई न्यूनिकरण गर्न अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले जानकारी दिए । भारतसँग सीमा जोडिएको र विकासको दृष्टिकोणले सबैभन्दा पछाडि परेका जिल्लाका दुईवटा पालिका अन्तरगतका सीमा क्षेत्रमा समय समयमा जिल्लाका सुरक्षा अधिकारीहरुले अनुगमन गर्ने गरेका छन् ।
‘स्थानीयबाट पनि सीमा स्तम्भ लगायतका विषयमा कुरा उठाइरहनुहुन्छ । सीमा क्षेत्रमा सुरक्षा सतर्कता लगायतका विषयलाई लिएर बुझ्न आएका हौं’ उनले भने । जिल्लाको भारतसँगको सीमा क्षेत्रमा ७७ वटा सीमा स्तम्भ रहेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । शुक्रवार सुरक्षा निकायसहितको टोलीले सीमा स्तम्भहरुको अनुगमन समेत गरेको थियो ।
सीमा क्षेत्रमा लागूऔषध, जाली नोट, भन्सार छली, मानव बेचबिखन, वन तथा वन्यजन्तुको चोरी सिकारी, हातहतियार विक्रि वितरण लगायत अपराधिक गतिविधि बढ्न सक्ने भन्दै सुरक्षा सतर्कतालाई बढाइएको प्रहरी उपरीक्षक काफ्लेले बताए ।









प्रतिक्रिया दिनुहोस्