मोटरसाइकल चोरीमा संलग्न ठूलो गिरोह दाङमा पक्राउ परेको छ । मोटरसाइकल चोरीमा घटना बढ्न थालेसँगै जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको बिशेष टोलीले गिरोहलाई नै पक्राउ गर्न सफल भएको हो ।
१३ वटा चोरीका मोटरसाइकलसहित ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिए ।
‘जिल्लामा मोटरसाइकल चोरी गर्ने एउटा गिरोहलाई नै हामीले पक्राउ गर्न सफल भएका छौं’ उनले भने, ‘उनीहरुको साथबाट केही मोटरसाइकल समेत बरामद भएका छन् ।’
अनुसन्धानबाट पक्राउ परेकाहरुले विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर रोल्पा, प्युठान लगायतका जिल्लामा लगेर बिक्री गर्ने गरेको खुलेको छ । ‘दाङ लगायतका जिल्लाबाट मोटरसाइकल चोरी गरेर पक्राउ परेको गिरोहले पहाडी जिल्लामा लगेर सस्तो मूल्यमा बिक्री गर्ने खुलेको छ’ प्रहरी उपरीक्षक काफ्लले भने ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङले शुक्रवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो । पक्राउ पर्नेमा १ जना भारतीय नागरिक, ५ जना रोल्पा, १ जना दाङ र १ जना प्युठानका रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा भारत बलरामपुर तुलसीपुर थानाका २२ वर्षीय मोहम्मद रफिक, दाङ घोराही उप–महानगरपालिकाका, १९ का १९ वर्षीय जाबेद खान र प्यूठान स्वर्गद्वारी नगरपालिका, ३ जलुकेका २४ वर्षीय ठगीराम थापा, रोल्पा सुनिल स्मृती गाउँपालिका, ३ सुलिचौरका २८ वर्षीय श्रीजात अन्सारी, लुङ्ग्री गाउँपालिका ४ नाम्जाका २६ वर्षीय लेखनाथ विष्ट, सोही गाउँपालिका वडा नम्बर ५ बडाचौरका २५ वर्षीय टेकेन्द्र विष्ट, वडा नम्बर ६ गुम्चालका २६ वर्षीय नुमबहादुर रोका क्षेत्री र २२ वर्षीय हिराबहादुर विष्ट रहेका छन् ।
पक्राउ परेकामध्ये श्रीजात अन्सारी ग्लोबल बजाज सर्भिस सेन्टर सुलिचौर रोल्पाका सञ्चालक रहेको दाङ प्रहरीले जनाएको छ । उनले रोल्पामा चोरीका मोटरसाइकल खरिद गर्न गिरोह परिचालन गर्ने गरेका थिए । त्यसैगरी, प्युठानका थापा अटो पार्टसका सञ्चालक रहेको र उनले चोरीका मोटरसाइकल खरिद गर्ने र बिक्री गर्दै आएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
मोटरसाइकल चोरीका निवेदन आउन थालेपछि दाङ प्रहरीको कमाण्ड सम्हालेलगत्तै प्रहरी उपरीक्षक काफ्ले प्रहरी सहायक निरीक्षक युवराज गौतमको नेतृत्वमा टोली परिचालन गरेका थिए । सोही टोलीले नै मोटरसाइकल चोरीमा संग्लन गिरोह नै पक्राउ गर्न सफल भएको थियो । पक्राउ परेका उनीहरुमाथी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।











प्रतिक्रिया दिनुहोस्