चार विद्यार्थी संगठनले भने, ‘शुल्क असुल्ने प्रवृत्ति रोकियोस्’



कोहलपुर,

बाँकेमा क्रियाशिल चार वटा विद्यार्थी संगठनले विद्यालय सञ्चालन नभएको अवस्थामा पनि विद्यार्थीबाट शुल्क असुल्ने काम भइरहेका भन्दै रोक्न माग गरेका छन् । कोभिड–१९ का कारण लामो समय विद्यालय बन्द रहेको तर अनलाइन कक्षा र अन्य बाहनामा विद्यार्थीहरुबाट शुल्क असुल्ने काम भइरहेको भन्दै तत्काल शुल्क असुल्ने प्रवृत्ति खारेज गर्न माग गरिएको छ ।

बाँकेमा क्रियाशिल चार राजनीतिक दलका भातृ संगठनका प्रमुखहरुद्धारा हस्ताक्षरित प्रेस वक्तव्यमा जिल्लाभित्र लकडाउनको अवधिभर शैक्षिक क्षेत्रभित्र अनलाइन कक्षा,कोचिङ लगायतका विभिन्न बाहनामा वर्षभरिको शुल्क शुल्क असुल्ने प्रवृत्ति खारेज गर्न माग गरिएको छ । यस्तै लकडाउनको अवधिभरको सम्पूर्ण शुल्क राज्यले वहनगरी विद्यार्थीलाई शुल्क नथुपार्न माग गरिएको हो ।

चार विद्यार्थी घटकहरुले जारी गरेको विज्ञप्तिमा जिल्लाभरका सम्पूर्ण संस्थाहरुमा शुल्कको असमानता देखिएको हुनाले शिक्षण संस्था अनुसार शुल्क समान बनाउन आह्वान गरिएको हो । यसैगरी शिक्षण संस्थाहरुमा वितरण गरिदै आइरहेको छात्रवृत्ति पारदर्शी,समानता बनाउनका लागि शिक्षा समितिलाई अनुरोध गरिएको छ ।

मनपरी रुपमा शुल्क थुपरिएमा निजी शैक्षिक संस्था विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ । प्रेस वक्तव्यमा नेविसंघका सचिव चक्र रावत, अनेरास्ववियूका अध्यक्ष टेकेन्द्र मल्ल,अखिल क्रान्तिकारीका संयोजक सुरेन्द्रजंग शाह जम्बो र अखिल छैठौँका अध्यक्षको हस्ताक्षर रहेको छ । नेकपा एमाले बाहेकका विद्यार्थी संगठनहरुले बुधबार जिल्लाको नेपालगन्जमा प्रतिगमन २ विरुद्ध प्रदर्शन समेत गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार १८ गते शुक्रबार