बने सामूहिक आवासका घर, बस्नको लागि गरीब र विपन्नको खोजी हुँदै



नेपालगञ्ज ।

बाँकेको खजुरा गाउँपालिकाको ‘क’ गाउँ छेउमा एउटै डिजाइनका १६ वटा घर बनेका छन् । भान्छा र बराण्डासहितका दुई कोठे घर आकर्षक देखिन्छन् । घरमा विद्युत, पानी, शौचालयको प्रबन्ध गरिएको छ । गाउँ जाने बाटो ग्राभेल गरिएको छ । तराई–मधेस समृद्धि कार्यक्रमअन्तर्गतको सामूहिक आवास हो यो । खजुरा गाउँपालिका वडा नं. ३ मा ‘बी’ गाउँदेखि ‘क’गाउँ जाने बाटोमा यी घरहरु बनेका छन् ।

गाउँपालिकाले अब तारबार गर्नेबाहेकको काम सकेको छ । ७० लाख बजेटको यो सामूहिक आवासमा बस्नका लागि गरीब, विपन्नको खोजी सुरु भएको छ । अब कम्पाउण्डको काम गर्दा ४० लाखजति खर्च हुने अनुमान गरिएको छ । सरकारी जग्गामा बनेका यी घरमा घरबास नभएका, ज्याला मजदुरी गरेर खानेलाई बस्न दिने गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । ‘जो खजुरामा क्षेत्रमा बस्छ । घरबास छैन भने उसले यहाँ बस्न पाउँछ,’ उनले भने, ‘यहाँ निःशुल्क बस्न दिने हो । तर, घर उसको नाममा हुँदैन ।’

सामूहिक आवासमा बस्नेलाई गाउँपालिकाले काम दिने जनाएको छ । तर, यी घरमा बस्ने मान्छे गाउँपालिकाले फेला पारिसकेको छैन । सूचना निकाल्दा जम्मा १० जनाको निवेदन परेको छ । गाउँपालिकाले फेरि सूचना निकाल्ने तयारी गरेको छ । यी घरमा बस्नका लागि केही शर्तहरु रहेका छन् । योजना अधिकृत दिलबहादुर पौडेलका अनुसार ५ वर्षदेखि खजुरामा स्थायी बसोबास गरेको, आफू र परिवारको नाममा घरजग्गा नभएको, ज्याला मजदुरी गरेर खाने व्यक्तिले सामूहिक आवासमा बस्न पाउँछन् ।

यी सबै शर्तहरु सम्बन्धित वडा कार्यालयबाट सिफारिस गरेर ल्याउनु पर्छ । गाउँपालिकाले यो आर्थिक वर्षमा त्यहाँ बस्नेको फाइनल गर्ने जनाएको छ । असार मसान्तसम्ममा कागजी प्रक्रिया पूरा गरेर अर्को आर्थिक वर्षदेखि त्यहाँ विपन्नलाई बसाउने गाउँपालिकाको योजना रहेको छ । योजना अधिकृत पौडेलले यी घरमा बस्ने व्यक्तिसँग गाउँपालिकाले एउटा सम्झौता गर्ने जानकारी दिए । घरलाई आफ्नै सम्झेर सरसफाईदेखि सुरक्षित राख्नु पर्छ । एकपटक बस्ने अनुमति पाएका व्यक्ति चाहेजति समयसम्म बस्न सक्छ । उसले अर्को ठाउँमा घरबासको व्यवस्था नगर्दासम्म त्यही बस्न पाउँछ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार १६ गते बुधबार