आँखामा पट्टी र हातमा साङलो बाँधेर युवाले भने… ‘मान्छे भएर बाँच्न कहिले पाउने?’



शुभाकर विश्वकर्मा, कोहलपुर

बाँकेको कोहलपुरमा राज्यद्धारा संरक्षित जातीय विभेदको विरुद्धमा सांकेतिक विरोध जनाइएको छ । आँखामा पट्टी र हातमा साङलो बाँधेर कोहलपुरका युवाहरुको नेतृत्वमा जातीय विभेद र जात व्यवस्थाका विरुद्धमा विरोध प्रदर्शन गरिएको हो । शनिबार दिउँसो ३ बजेट न्युरोड चोकमा दुई दर्जन बढी युवा युवती र अधिकारकर्मीहरुको सहभागितामा सांकेतिक विरोध प्रदर्शन गरिएको हो ।

विरोध सभामा सहभागीहरुले जातीय विदेभ खारेज गर, मान्छे भएर बाँच्ने अधिकार सुनिश्चित गर , राज्य संरक्षित विभेद विरुद्ध दलित माथि हुने विभेद अन्त्य गर, वर्गीय एकता– जिन्दावाद,राज्य संरक्षित अपराध बन्द गर,जात व्यवस्था खारेज गर,जातीय विभेद संरक्षण गर्ने मन्त्री बर्खास्त गर र जातीय विभेदका प्रश्नमामन्त्रीको व्यवहार र प्रधानमन्त्रीको मौनता गम्भीर छ !’ भन्ने नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

उक्त अवसरमा बोल्दै दलित सेवा संघका केन्द्रीय अध्यक्ष इश्वरी प्रसाद विकले सरकारले नै जातीय विभेदको संरक्षण गर्नु महा अपराध भएको बताए । उनका अनुसार त्यसमा बहालवाला मन्त्रीले नै जातीय विभेदको आरोपितको खुलेयाम संरक्षण गर्नु विधिको शासनको खिलाप हो र त्यस्ता मान्छेलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्छ ।
यस्तै दलित सेवा संघ बाँकेका अध्यक्ष कृष्ण बहादुर विकले पनि जातीय विभेदका विरुद्धमा युवाहरु शसक्त रुपमा लाग्नु पर्ने बताएका थिए । उनले सम्पूर्ण सचेत नागरिक अमानवीय क्रियाकलापका विरुद्ध एकजुट हुनुपर्ने बताएका थिए । यस्तै दलित अगुवा अमर विकले पनि मान्छेले मान्छेलाई विभेद गर्नु कलंकित र असोभनीय काम भएको बताए । राज्यले विभेदको विरुद्धमा सलंग्न हुनु पनि गम्भीर अपराध भएको उनले बताए ।

उक्त अवसरमा बोल्दै पत्रकार मधु शाहीले नेपाली समाज रुढिग्रस्त चिन्तन र मानसिकताबाट अझै पनि गुज्रिएको बताइन् । उनका अनुसार जनताको करले सरकारी गाडि प्रयोग गरेर जातीय विभेद गर्नेलाई संरक्षण गर्नु जातीय विभेदलाई खुलेयाम स्वीकार गर्नु हो । उनी भन्छिन्, ‘दलित भएकोले कोठा नदिने जस्तो अपराध गर्न कसैलाई छुट छैन । यो त जघन्य अपराध हो । अपराधीलाई कारबाही गरिनुपर्छ ।’

शाहीले समाजमा हुने गरेका यस्ता घटनाको विरुद्धमा सबै बोल्न आवश्यक छ । यस्तै सांकेतिक विरोध कार्यक्रमको संयोजन गरेका युवा लक्ष्मण मानवले सरकारले जातीय विभेदलाई प्रसय दिइएरहेको आरोप लगाए । उनले विभेदको संरक्षण गर्ने मन्त्रीलाई कारबाही नभए युवाहरुले आन्दोलन गर्नेछन् ।

उनले प्रश्न गरे,‘दलित के मान्छे होइनन्, पशुवत व्यवहार देखाउने हामी कसरी मानिस भयो, उनीहरुले अछुत भए ।’ अहिले नेपालका ६० लाख दलित समुदायको प्रश्न छ, सरकार हामीे मान्छे भएर बाँच्न कहिले पाउने ? यस प्रश्नको जवाफ सरकारले दिनैपर्ने उनको भनाइ छ । उक्त अवसरमा करिब दुई दर्जन बढी युवाहरुको सक्रिय सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार १३ गते आइतबार