कोहलपुरमा ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम



कोहलपुर  बाँकेको कोहलपुर नगरपालिकाले जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्ने भएको छ । कोहलपुर नगरपालिकाले गरेका गतविधिहरुलाई आम जनतासमक्ष ल्याउनको लागि सो कार्यक्रम सञ्चालन गरिने भएको हो । सोमबार नगरप्रमुख लुटबहादुर रावतद्धारा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रममा कोहलपुर नगरपालिकामा रहेका सञ्चार माध्यमबाट सो कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रमको ९ नम्बरमा समेटिएको सूचना तथा सञ्चार नीतिमा कोहलपुर नगरपालिकाद्धारा बुलेटिन समेत प्रकाशन गरिने उल्लेख गरिएको छ । जनतासँग जनप्रतिनिधि कार्यक्रम र बुलेटिन प्रकाशन गर्ने बुँदा नीतिको ३ नम्बरमा समावेश भएको हो ।

नगरपालिकाको सूचना तथा सञ्चार नीति जम्मा ४ शीर्षकमा समेटिएको छ । यस्तै नीति तथा कार्यक्रमले कोहलपुर नगरपालिकामा सञ्चालनमा रहेको सञ्चार माध्यम र सञ्चारकर्मीहरुलाई समेत समेट्ने प्रयास गरेको छ । नीतिमा भनिएको छ,‘ विकासका लागि सञ्चार मुल नारा हुनेछ । यहिँ कुरालाई आत्मसाथ गर्दै नगर क्षेत्रमा रहेका गृहको विकास र प्रर्वद्धन गरिनेछ ।’

सूचना प्रवाह र सञ्चार माध्यमसँग सन्तुलित सम्बन्ध राख्न नसकेको आरोप खेपिरहेको नगरपालिकाले पहिलो पटक समावेशी विज्ञापन प्रणाली लागू गरिने जनाएको छ । यस्तै सञ्चारकर्मीहरुको क्षमता विकासका लागि तालिम गोष्टि, लेखनवृत्ति तथा अध्ययन छात्रवृत्ति उपलब्ध गराइने उल्लेख गरिएको हो ।

उक्त नीति तथा कार्यक्रममा नगर स्तरीय सञ्चार ग्रामको पूर्वाधार निर्माणमा सहयोग गरिने, वार्षिक रुपमा उत्कृष्ट स्थानीय सञ्चारकर्मीलाई पुरस्कृत गरिने र पत्रकारहरुको सुरक्षाका लागि दुर्घटना बीमा र पेशागत दक्षता अधिवृद्धिका लागि विकास पत्रकारिता लेखनवृत्ति लगायतका अवसरहरु प्रदान गरिने कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले जानकारी दिए ।

नीति तथा कार्र्यक्रममा नै नगरपालिकाले गर्ने मूल्यांकन तथा अनुगमन लगायतका गतिविधिहरुमा पत्रकार महासंघको संस्थागताका लागि आवश्यक नीतिगत व्यवस्था गरिने पनि उल्लेख गरिएको छ । यसले कोहलपुर नगरपालिकाले आगामी दिनमा नगरपालिकालाई सञ्चारमैत्री बनाउँदै आफूले गरेका कामको प्रचारप्रसार तथा जवाफदेही बन्न खोजेको देखिन्छ । यद्यमी नीति तथा कार्यक्रममा उल्लेख गरेका कुरा कत्तिको लागू गर्ने हो, त्यसमा भरपर्नेछ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार १० गते बिहीबार