शिवु खनाल । दाङ ।
देउखुरी स्तरीय कोरोना अस्पतालले बिरामीका कुरुवाहरुसँग अवैध रूपमा आफुखुसी पैसा असुली गरेको गर्ने गरेको खुलेको छ । कोरोना भाइरस (कोभिड– १९) बिरामीको निःशुल्क उपचार गर्नको लागि दाङ देउखुरीका चारवटा स्थानीय पालिकाले संयुक्त रूपमा कोभिड अस्पताल सञ्चालनमा ल्याएका थिए ।
देउखुरीका चारवटा पालिका प्रमुख, सम्बन्धित पालिकाका स्वास्थ्य प्रमुख लगायत संयुक्त सहभागि बैठकको उपस्थितिमा कोभिडका संक्रमितहरुको उपचारमा लाग्ने सबै खर्च निःशुल्क गर्ने भनेर निर्णय गरेको थियो । तर, देउखुरी कोरोना स्तरीय अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले आफुखुसी उपचाररत बिरामीहरुको ग्लोबल डाइग्नोस्टिक सेन्टर लमही प्रा.लीमा विभिन्न स्वास्थ्य चेकजाँच गरि रकम असुली गरेको भन्दै बिरामीहरूले आपत्ती जनाएका हुन् ।
देउखुरी क्षेत्रका चारवटा पालिका संयुक्तरूपमा बीस÷बीस गरि असी लाख बजेट बिनियोजित गरेर कोभिडका बिरामीहरूको निःशुल्क उपचार गर्नको लागि बैशाख अठार गते देउखुरी स्तरीय कोरोना अस्पतालको स्थापना गरिएको थियो । तर सोही अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले नै बिरामीका कुरुवाहरुसँग विभिन्न मोटो रकमको बिल हातमा थमाउदँै रकम असुली गरेका हुन् ।
राजपुर गाउँपालिका वडा नम्बर ७ वनकट्ठी निवासी भिमबहादुर नेपालीले कोरोना संक्रमित आमाको उपचार गरेको तीन हजार छ सय रुपैयाँ स्वास्थ्यकर्मीले भुक्तानी मागेको जानकारी दिए । उनका अनुसार ७० वर्षीय आमा धनकुमारी नेपालीलाई देउखुरी स्तरीय कोरोना अस्पतालमा गत २६ गते उपचारको लागी भर्ना गरिएको थियो ।
‘स्वास्थ्यकर्मीले अस्पतालबाट डिसचार्ज हुनुभन्दा एकदिन अगाडि बिरामीको दिशा, पिसाब, खकार र रगत चेकजाँच गरेको भन्दै तीन हजार छ सय रुपैयाँ भुक्तानी मागेर लगेका हुन्’ भिमबहादुरले भने, ‘संक्रमितको उपचारमा पैसा लाग्ने नलाग्ने मलाई थाहा थिएन । स्वास्थ्यकर्मी आएर एक्कासी हजुरको बिरामीको रगत बाहिर चेकजाँच गरेको भन्दैँ तीन हजार छ सयको विल हातमा थमाउनु भएको हो । भुक्तानी दिएर डिस्चार्ज हुने भनेपछि मैले स्वास्थ्यकर्मीबाट बिल लिएर भुक्तानी गरेको हुँ ।’
यता लमही नगरपालिका वडा नम्बर ५ रातोँ डाँडा निवासी संक्रमित विष्णु गिरी र रमा गिरीको रगत चेकजाँच गरेको दश हजारको विल हातमा थपाएर कोरोना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले भुक्तानी मागेको बिरामीका कुरुवा माधव गिरीले बताए । उनका अनुसार असार २ गते बेलुका अंकल विष्णु गिरी र अन्टी रमा गिरीलाई उपचारको लागी लमहीमा संचालित कोरोना स्तरीय अस्पतालमा भर्ना गरेको थिए । केहीदिनपछि दुबैजना अंकल अन्टीको रगत चेकजाँच गरेको स्वास्थ्यकर्मीले दश हजार भुक्तानी मागेका हुन् ।
‘मैले भुक्तानी दिएको छैन । अंकल अन्टी अस्पतालमा उपचाररतमा हुनुहुन्छ’ उनले भने । देउखुरी कोरोना स्तरीय अस्पतालमा कार्यरत स्वाथ्यकर्मीले लमही अस्पतालमा स्वास्थ्य चेकजाँचको व्यवस्था छैन अन्य बाहिर ग्लोबल डाइग्नोस्कि सेन्टर लमही प्रा.लीमा चेकजाँचको लागी लैजानुपर्छ भन्दै स्वास्थ्यकर्मीहरुले बिरामीका कुरुवाहरुसंगै पैसा असुली गर्दै आइरहेको कुरा बाहिरीयता पनि पालिका प्रमुखहरुले यस विषयमा चासो देखाएका छैनन् ।
देउखुरीका चार वटा स्थानीय पालिकाले देउखुरी कोरोना अस्पताल संचालन गर्नका लागि ८० लाख रुपैयाँ संकलन गरेको थियो । बिरामी भएर कोभिड अस्पतालमा पुगेका बिरामीलाई उपचार गर्दा लाग्ने खर्च सबै पालिकाले संकलन गरेको ८० लाख रुपैयाँ बाटै भुक्तानी गर्ने निर्णय भएको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुबेदीले बताए । यस्तै देउखुरी कोरोना स्तरीय अस्पतालका इञ्चार्ज डाक्टर पुष्प भुषालले लमही अस्पतालमा स्वास्थ्य चेकजाँच नहुने भएपछि बिरामीलाई सोधेर उपचाररत बिरामीहरुको ग्लोबल डाइग्नोस्टिक सेन्टर लमही प्रा.लीमा विभिन्न स्वास्थ्य चेकजाँच गरि रकम लिएको बताए ।
निर्णय कार्यान्वयन फितलो
संक्रमण रोकथामका लागि देउखुरी क्षेत्रका चारवटा पालिकाले विभिन्न निर्णय गरे पनि कार्यान्वयन भने हुन सकेको छैन । कोभिड अस्पताल व्यवस्थापन, आवश्यक जनशक्ति भर्ना, उपकरण र औषधि आपूर्ति गर्ने निर्णय गरे पनि कार्यान्वयन नभएको हो ।
निःशुल्क उपचार भनिए पनि औषधि खरिद गर्नुपरेको संक्रमितका आफन्तहरूले बताउछन् । देउखुरी स्तरीय कोरोना अस्पतालको जिम्मेवारी वहन गरिरहेका स्वास्थ्यकर्मीले नै दुवैतर्फ काम गरिरहेका छन् । तर उनीहरूको भूमिका चित्तबुझ्दो छैन ।
अक्जिनको आवश्यक पर्ने कोभिडका बिरामीहरुलाई स्थानीय तहले स्थापना गरेको कोरोना स्तरीय अस्पताल लमहीमा पठाउने गरेका थिए । कोरोना स्तरीय अस्पताल लमहीमा शुल्क तिर्नुपर्ने भएपछि अस्पतालमा कोभिडको उपचारका लागी आउने बिरामीहरुको संख्यामा नै कमी आएको छ । शुल्क लिन थालेपछि संक्रमित अस्पताल जान छाडेका छन् ।
देउखुरी क्षेत्रमा कोरोना संक्रमण तीव्रगतिमा बढ्दै गए पनि नियन्त्रणका लागि देउखुरीका स्थानीय तहले संचालनमा ल्याएको कोरोना स्तरीय अस्पताल फितलो भएको भन्दै स्थानीयहरु आलोचना गरेका छन् । कोरोनाले भारत आक्रान्त बनेकोले नेपालमा पनि संक्रमितको संख्या बढ्न सक्ने भए पनि दाङ देउखुरीका स्थानीय तहको सुरुदेखी नै तयारी फितलो भएको स्थानीयको आरोप छ ।









प्रतिक्रिया दिनुहोस्