खुले सरकारी कार्यालय



कोहलपुर ।

कोरोनाको दोस्रो लहर सुरु भएपछि बन्द भएका अधिकांश सरकारी कार्यालय सञ्चालनमा आएका छन् । गत बैशाख १४ गतेदेखि बन्द भएका बाँकेका अधिकांश सरकारी कार्यालयहरु मंगलवारदेखि सञ्चालनमा आएका हुन् । दोस्रो लहरको कोरोना रोकथाम तथा नियन्त्रणको लागि बाँकेको नेपालगञ्ज क्षेत्रमा बैशाख ९ गते तथा बैशाख १३ गतेदेखि जिल्लाभरी नै निषेधाज्ञा जारी गरिएको थियो ।

निषेधाज्ञाका कारण बन्द रहेका जिल्लाका अधिकांश सरकारी कार्यालयहरु सञ्चालनमा आएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । ‘बाँकेमा कोरोना संक्रमणदर कम भएसँगै मंगलवारदेखि सरकारी कार्यालयहरु सञ्चालनमा ल्याइएको छ’ उनले भने, ‘तत्काललाई सरकारी कार्यालयबाट केही सेवाहरु मात्र प्रवाह गरिनेछ ।’ जिल्ला प्रशासन कार्यालय बाँकेले क्रमश निषेधाज्ञा खुकुलो बनाउँदै पछिल्लोपटक जिल्लामा असार १४ गतेसम्म निषेधाज्ञाको अवधि सोमवार थप गरेको छ ।

जिल्लाका सरकारी कार्यालयहरु लामो समयसम्म बन्द हुँदा सेवाग्राहीहरु मर्कामा परेकाले कार्यालयमा भिडभाड नहुने गरी सेवा प्रवाहको वातावरण गराइएको प्रमुख जिल्ला अधिकारी गेलालले बताए । ‘कार्यालयमा भिडभाड नहुने गरी सेवा प्रवाह व्यवस्थित गर्ने गरी सरकारी कार्यालयहरु खुलेका हुन्’ उनले भने, ‘अब क्रमश नै कार्यालयबाट सहज रुपमा सबै सेवाहरु दिने वातावरण गराइनेछ ।’ करिब दुई महिनादेखि बन्द भएका यहाँका सरकारी कार्यालयहरु खुलेको पहिलो दिन मंगलवार भिडभाड भने कम रहेको थियो । विगतमा सेवाग्राहीहरुको धेरै भिडभाड हुने कार्यालयहरुमा समेत सेवाग्राहीहरु थिएनन् ।

जिल्ला प्रशासन कार्यालय बाँकेले कार्यालय, व्यापार व्यवसाय खोल्ने निर्णय गरेपनि सार्वजनिक सवारी साधनहरु भने सञ्चालन गर्ने निर्णय गरेको छैन । सार्वजनिक सवारी साधन सञ्चालन नहुँदा सरकारी कार्यालयहरुमा सेवाग्राहीको चाप कम भएको हुनसक्ने आंकलन गरिएको छ । मंगलवारदेखि आवश्यक स्वास्थ्य मापदण्ड पालना गरेर जिल्लामा रहेका निजी कार्यालय, बैंक तथा वित्तिय संस्थाहरु सञ्चालनमा आएका थिए । सरकारी कार्यालयहरु सुनसान भएपनि बैंक तथा वित्तिय संस्थाहरुमा भने मानिसहरुको भिड लागेको थियो ।

कोरोना संक्रमणदर कम हुँदै जाँदा निषेधाज्ञा खुकुलो हुनु राम्रो भएपनि स्वास्थ्य मापदण्डलाई भने कडाईका साथ कार्यान्वयन गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । जिल्लाका विभिन्न सरकारी कार्यालयहरुले सेवाग्राहीको धेरै भिडभाड नहोस् भनेर स्थानीय तह अनुसार दैनिक समय छुट्याइदिएका छन् । सोही अनुसार यातायात व्यवस्था कार्यालय नेपालगञ्जले यातायात चालक अनुमति पत्रको लिखित र प्रयोगात्मक परीक्षा तथा अनलाइन आवेदन, मोटरसाइकलको व्यक्तिबाट व्यक्तिमा हुने नामसारी बाहेकका कामहरु सञ्चालन गरिरहेको छ ।

मालपोत कार्यालय बाँकेले स्थानीय तहअनुसार बार र प्रदान गरिने सेवा छुट्याएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले समेत आइतवार, मंगलवार र बिहीवार नेपालगञ्ज उप–महानगरपालिका र अन्य बार नेपालगञ्ज बाहेकका स्थानीय तहका सेवाग्राहीलाई सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको बताएको छ । शान्ति सुरक्षा र मुद्धा बाहेक सेवाहरुका लागि बार छुट्याइएको छैन । नागरिकता र नाबालक परिचय पत्र बनाउन आउँदा सम्बन्धित व्यक्ति र अर्काे एकजना व्यक्तिमात्र आउन भनिएको छ ।

अन्य कामका लागि एकजना मात्रै आउन भनिएको छ । सोधपुछ गर्नका लागि प्रशासन कार्यालयले सम्पर्क नम्बर पनि सार्वजनिक गरेको छ । बाँकेमा पसल व्यवसाय सञ्चालनको लागि दिउँसो ४ बजेसम्मको समय तोकिएको छ । विद्यालय, कलेज, ट्युशन सेन्टर, तालिम केन्द्र भने खोल्नको लागि अनुमती दिइएको छैन ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार ९ गते बुधबार