कोहलपुर – भोलि १२ गते बुधवार लाग्ने चन्द्र ग्रहणको समयमा चन्द्रमा पुरै रातो देखिने छ। यसलाई सुपर ब्लड मून भनिन्छ। यो एउटा दुर्लभ घटना हो जब चन्द्र ग्रहणको बेला चन्द्रमा पुरै रातो देखिन्छ। बुधवार लाग्ने ग्रहणबारे जानकारी दिँदै अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले लेखेको छ, “त्यो दिन पुरै चन्द्रमा पृथ्वीको छायामा पर्छ। जब चन्द्रमा हाम्रो ग्रहको छायाबाट बाहिर निस्कन्छ यो पहिले भन्दा ठुलो र उज्यालो देखिन्छ। ”
यो २०२१ को दोस्रो सुपर मून हो। पहिलो सुपर ब्लड मून वैशाख १३ गते अर्थात् २६ अप्रिलमा देखिएको थियो। यो चन्द्र ग्रहण बुधवार अपराह्न ३:३० देखी सुरु हुनेछ र साँझ ६:३७ सम्म चल्नेछ। नेपालबाट पूर्ण चन्द्र ग्रहण भने देखिने छैन। पूर्ण चन्द्र ग्रहण पश्चिम उत्तर अमेरिका, पश्चिम दक्षिण अमेरिका र पूर्वी एसियामा देखिने छ। यसबिच लगभग १५ मिनेटसम्म चन्द्रमा पुरै रातो देखिने छ।
सुपर मून के हो?
सुपर मून एक खगोलीय घटना हो जुन बेला चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक हुन्छ। त्यसैले यो ठुलो र १४ प्रतिशत बढी चम्किलो देखिन्छ। यसलाई पेरिगी मून पनि भनिन्छ। चन्द्रमा वा अरू कुनै भूउपग्रह पृथ्वीको सर्वाधिक नजिक रहेको अवस्थालाई पेरगी भनिन्छ भने र सबैभन्दा टाढा रहेको बेलालाई अपोगी भनिन्छ।
सुपर मूनको बेला चन्द्रमा पृथ्वी भन्दा ३ लाख ६० हजार किलोमिटर वा त्यो भन्दा नजिक हुन्छ। पेरिगीको स्थिति १२ गते बुधवार लगभग ७ मिनेट २३ सेकेन्डसम्म रहन्छ जुन बेला चन्द्रमा पृथ्वीबाट ३ लाख ५७ हजार ३०९ किलोमिटरको दूरीमा हुनेछ।
धेरै मानिसहरूले सुपर मूनको कारण पृथ्वीमा पर्ने प्रभावको बारेमा छलफल गर्ने गरेका छन्। तर, यसले भूकम्प, ज्वालामुखी विस्फोट, सुनामी, बाढी वा खराब मौसम जस्ता घटनाहरू निम्त्याउँछ भन्ने तथ्यगत प्रमाण अहिलेसम्म छैन।
चन्द्रमाको प्रभाव समुद्रको छालहरूमा भने निश्चित रूपले हुन्छ। फूलमून र न्यू मूनको बेला सागरका छालहरू शक्तिशाली हुन्छन्। तर, पेरिजीको अवस्थामा औसतमा यसले पाँच सेन्टिमिटर भन्दा बढी फरक पार्दैन।
ब्लड मून के हो?
चन्द्र ग्रहणको समयमा चन्द्रमा पृथ्वीको छायामा जान्छ र त्यो बेला चन्द्रमा पूर्ण रूपले रातो देखिन्छ भने त्यसलाई ब्लड मून भनिन्छ। नासाका अनुसार सूर्यको किरणहरू पृथ्वीको वातावरणमा प्रवेश गरे पछि फर्कन्छन्। निलो वा बैजनी रङ्ग रातो वा सुन्तला रङ्ग भन्दा बढी फैलिन्छ। त्यसैले आकाशको रङ्ग नीलो देखिन्छ। रातो रङ्ग सिधा दिशामा जान्छ। त्यही भएर सूर्योदय र सूर्यास्तको बखत मात्र सूर्य रातो रङ्गको देखिन्छ। त्यस समयमा सूर्यको किरणहरू पृथ्वीको वायुमण्डलको बाक्लो तह पार गरेर हाम्रो आँखामा पुग्छन् र नफैलीकन सिधा आउने हुँदा हाम्रो आँखामा रातो रङ्ग आएर ठोकिन्छ।
चन्द्र ग्रहणको समयमा सूर्योदय वा सूर्यास्तको समयमा देखिएका राता किरणहरू पृथ्वीको वातावरण हुँदै चन्द्रमाको सतहमा पुग्छन्। त्यस कारण, ग्रहणको बेला हामी चन्द्रमा रातो देख्छौँ । ग्रहणको समयमा पृथ्वीको वातावरणमा जति धेरै बादल वा धुलो हुन्छ चन्द्रमा त्यति नै बढी चम्किलो रातो देखिन्छ।










प्रतिक्रिया दिनुहोस्