नेपालमा स्वास्थ्य संकटकाल लगाउने तयारी



काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य संकटकाल लगाउन सक्ने संकेत गरेका छन् । मन्त्रालयले सोमबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले स्वास्थ्य संकटकाल लगाउने विषयमा मन्त्रालय सकारात्मक रहेको जानकारी दिएका हुन्।

विज्ञहरुले जनस्वास्थ्य संकटकाल लगाउन दिएको सुझावलाई मन्त्रालयले सकारात्मक रुपमा लिएको मन्त्री त्रिपाठीले बताए।

‘मन्त्रालय विषयमा सकारात्मक छ। विज्ञहरूले दिनुभएको सुझावलाई हामीले मनन गरेका छौं। सरकारले यो विषयमा चाडै निर्णय गर्छ’ मन्त्री त्रिपाठीले भने।

स्वास्थ्य संकटकालका विषयमा मन्त्रालयले आन्तरिक तयारी गरिरहेको स्वास्थ्य सचिव लक्ष्मण अर्यालको भनाइ छ। स्वास्थ्य निरीक्षक नियुक्त गर्नेदेखि अन्य कामपनि भइरहेको अर्यालले जानकारी दिए।

मन्त्रालयले आन्तरिक तयारी गरिरहेको र मन्त्रिपरिषद् बैठकले निर्णय गरेको खण्डमा जुनसुकै समयमा पनि स्वास्थ्य संकटकाल लाग्ने सचिव अर्यालले बताए।

मन्त्री त्रिपाठीले कोरोना नियन्त्रण, रोकथाम र व्यवस्थापनका लागि सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताए।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १० गते सोमबार