कोहलपुर ।
बाँकेको कोहलपुर उद्योग वाणिज्य संघमा नयाँ दर्ता र नवीकरणका लागि करिब ३५ सय व्यवसायीक फर्मका आवेदन परेका छन् । आसन्न निर्वाचनलाई लक्षित गरेर नयाँ दर्ता र नवीकरणका लागि संघमा तीन हजार चारसय ६४ वटा फर्मका आवेदन परेका हुन् ।
अन्तिम दिन शुक्रबारसम्म नवीकरण र नयाँ दर्ताको लागि ३ हजार ४ सय ६४ वटा फर्मको आवेदन परेको कोहलपुर उद्योग वाणिज्य संघका महासचिव तेजप्रसाद अधिकारीले जानकारी दिए ।
कोहलपुर उद्योग वाणिज्य संघको आगामी फागुन २२ गते शनिबार नयाँ नेतृत्वको लागि निर्वाचन हुँदैछ । निर्वाचनलाई नै मध्यनजर गरेर संघले गत शुक्रबारसम्म नयाँ दर्ता र नवीकरणको लागि म्याद तोकेको थियो ।
सोही अनुसार तोकिएको समयभित्र ३ हजार ४ सय ६४ वटा फर्मको दर्ता तथा नवीकरणको लागि आवेदन परेको संघका महासचिव अधिकारीले बताए । छोटो समयमा नयाँ दर्ता तथा नवीकरणका लागि धेरै फर्महरुको आवेदन परेकाले अहिले उनीहरुको रुजु गरेर इन्ट्री गर्ने काम भइरहेको संघले जनाएको छ ।
संघका महासचिव अधिकारीले अहिले इन्ट्री गर्ने काम चलिरहेकोले यो संख्या नबढ्ने तर केही घट्नसक्ने मिसन टुडेलाई बताए । ‘अन्तिम समयमा एकमुष्ट धेरै फर्महरुको आवेदन परेकाले अहिले उनीहरुले रुजु गरेर इन्ट्री गर्ने काम भइरहेको छ’ उनले भने, ‘सो क्रममा अहिले परेका आवेदनका कागजपत्र नपुगेमा त्यो मान्य हुँदैन । त्यसैले केही संख्या घट्नसक्छ ।’
संघले अहिले परेका सबै आवेदनहरुलाई रुजु गर्दै इन्ट्री गरेर भोली साँझसम्म निर्वाचन समितिलाई बुझाउनेछ । सोही तथ्यांकलाई निर्वाचन समितिले १२ गते मतदाता नामावलीको रुपमा प्रकाशित गर्नेछ ।
मतदाता नामावलीमा नाम भएकाहरुले मात्र निर्वाचनमा मत हाल्न पाउनेछन् । यसभन्दा अघि २०७४ साउनमा भएको संघको निर्वाचनमा १४ सय ५७ जना मतदाता रहेका थिए । उक्त निर्वाचनमा १२ सय ६३ मत खसेको थियो । यसपटक विगतमा जस्तै गरेर निर्वाचनको लागि अन्तिम समयमा नै संघमा नयाँ दर्ता र नवीकरणका लागि धेरै फर्मका आवेदन परेका हुन् ।
यस्तो छ निर्वाचन कार्यपालिका
कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचन कार्यतालिका फागुन १२ गतेबाट औपचारीक सुरु हुनेछ । पहिलो दिन १२ गते मतदाता नामावली प्रकाशन गरिनेछ ।
सोही दिन नै मतदाता नामावली उपर दावी विरोधको समय तोकिएको प्रमुख निर्वाचन आयूक्त लोक बहादुर शाहले मिसन टुडेलाई जानकारी दिए । उनका अनुसार १३ गते मतदाता नामावली उपर छानविन र मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ । १४ गते उम्मेदवार मनोनयन दर्ता र उम्मेदवारको प्रथम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।
१५ गते मनोनयन उपर दावी विरोध, दावी विरोध उपर छानविन र उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ । प्रमुख निर्वाचन आयूक्त शाहका अनुसार १७ गते मनोनयन फिर्ताको समय तोकिएको छ । १७ गते नै उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । फागुन २२ गते शनिबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तोकिएको प्रमुख निर्वाचन आयूक्त शाहले जानकारी दिए । मतदान सम्पन्न भएपछि आपसी सहमतीमा मतगणना सुरु गरिने बताइएको छ ।
चुनावी मैदानमा दुई प्यानल
संघको नयाँ नेतृत्वको लागि व्यवसायीका दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन् । एउटा विष्णु खनालको नेतृत्वमा र अर्को लक्ष्मणराज पौडेलको नेतृत्वमा प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।
खनालको नेतृत्वमा साझा समावेशी व्यावसायिक प्यानल र पौडेलको नेतृत्वमा लोकतान्त्रिक समावेशी व्यवसायी समूह रहेको छ । खनालको प्यानललाई नेपाल कम्प्युनिस्ट पार्टी (नेकपा) ओली तथा प्रचण्ड–माधव दुवै समूह, राष्ट्रिय जनमोर्चा र पौडेलको समूहलाई नेपाली काँग्रेसले समर्थन गरेको छ ।
नेकपा राजनितिक रुपमा विभाजन भएपनि कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा भने ओली र प्रचण्ड–नेपाल समूह भने एकढिक्का भएर चुनावी मैदानमा उत्रिएका छन् । औपचारीक रुपमा निर्वाचन कार्यतालिका सुरु नभएपनि उम्मेदवारहरुलाई भने चुनाव लागिसकेको छ । दुवै प्यानलका उम्मेदवारहरु भोट माग्दै व्यवसायीहरुको घरदैलोमा पुगिरहेका छन् ।









प्रतिक्रिया दिनुहोस्