कोहलपुर ।
बाँके राप्तीसोनारी गाउँपालिकाको आठौं गाउँ सभाले विभिन्न ९ वटा विधेयक तथा ऐन पारित गरेको छ । पुस २४ गतेबाट सुरु भएको गाउँ सभा ९ वटा विधेयक पारित गर्दै सम्पन्न भएको हो । गाउँ सभामा गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले दश वटा विधेयक र ऐन अगाडि सार्दै पेश गरेका थिए । सभाबाट त्यसमध्ये नौ वटा विधेयक तथा ऐन पारित भएका हुन् ।
गाउँ सभाबाट कृषि विकास, संस्था दर्ता, तथ्यांक तथा अभिलेखन, स्थानीय स्वास्थ्य तथा सरसफाई, स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण, स्थानीय तहको औद्योगिक व्यवसाय प्रवद्र्धन, विपद् जोखिम न्यूनिकरण, स्थानीय शिक्षा ऐन र स्थानीय वन ऐन २०७७ पारित भएको थियो । सभामा कार्यसूचीमा रहेको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित विधेयकलाई भने हटाइएको गाउँपालिका अध्यक्ष थारुले जानकारी दिए ।
‘नौं वटा विधेयक तथा ऐन पारित गर्दै गाउँ सभा सम्पन्न भएको छ’ उनले भने, ‘अहिलेको लागि सभाबाट एउटा विधेयक भने फिर्ता लिइएको थियो ।’ गाउँ सभामा प्रस्तुत भएका विधेयक तथा ऐनहरुलाई पारित अघि विस्तृत छलफलका लागि सबै वडा कार्यालयहरुमा पठाइएको
थियो ।
‘विधेयक र ऐनहरुलाई पालिकामा बनाइएका विषयगत समिति, विधान समिति हुँदै कार्यपालिकाको बोर्ड बैठकमा छलफल गरेर मात्र पास गरिएको हो’ कार्यपालिका सदस्य समेत रहेका वडा नम्बर ७ का अध्यक्ष रामलखन थारुले भने, ‘सबैको सहमतिको आधारमा नै गाउँ सभाबाट विधेयक तथा ऐन पारित भएका हुन् ।’ यसअघि नै राप्तीसोनारी गाउँपालिकाले ३३ वटा ऐन, १० वटा नियमावली र १२ वटा कार्यविधि बनाइसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर विकले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्