कोहलपुर
कञ्चनपुरका जीवन परियार सुर्खेतबाट बुधबार साँझ कोहलपुर पुगेका थिए । बिहीबार विहानैदेखि नेकपा प्रचण्ड–नेपाल पक्षले गरेको आन्दोलनका कारण उनले गन्तव्यमा पुग्न पाएनन् । उनी भन्दैथिए,‘कसले आन्दोलन गरेको हो थाहा छैन, विहानैेदेखि यहाँ बसेको छु । गाडी अझै चलेको छैन । गृह जिल्ला फर्किन एकाविहानै कोहलपुरको चौराहामा पुगेका उनको दिन चौराहा मै बित्यो । परियार भारतमा मजदुरी गर्छन् । भारतमा गाडीका चलाउने काम गर्छन् उनी ।
उनले आफू पाँच दिन पहिले आफन्त भेट सुर्खेत गएको बताए । विदा सकिएकोले छिट्टै कर्मथलोमा जानुपर्ने बाँध्यता उनीसँग थियो । शनिबार सम्म पुगिसक्नु पर्ने भएपनि उनी अझै यतै छन् । सुर्खेतबाट आउँदा उनलाई हडतालबारे कुनै पनि जानकारी नै थिएन। आफू काम गर्ने ठाउँमा गौटीफन्टा नाका हुँदै गाडीमा जाँदा मात्रै तीनदिन लाग्ने गरेको उनी बताउँछन् ।
यस्तै जुम्लाका विजय रावत बाग्लुङबाट घर फर्किदै थिए । ६ जनाको समूहमा रहेको उनीहरु त्यहाँबाट मजदुरी गरेर बुधबार साँझ नै कोहलपुर पुगेका हुन् । नेकपाको प्रचण्ड– नेपाल समुहले आह्वान गरेको बन्दका कारण उनीहरु जुम्ला जान पाएका छैनन् । ‘विहानै घर फर्किने भनेका थियौै । बन्द रैछ गाडी नै चलेको छैन ।अब दिनभर बसपार्कमा बस्नुपर्ला ।
गाडी चलेपछि राती नै जाउँला । मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने । उनीहरु पूर्व माओबादीका कार्यकर्ता समेत हुन् । विजयले त व्यवस्था परिवर्तनका लागि भन्दै जनयुद्ध समेत लडेका थिए । माओबादी शान्ति प्रक्रियामा आएपछि उनी मजदुरी गर्न थाले । अहिलेको राजनीतिक अवस्थासँग उनी खुसी छैनन् ।रावतका अनुसार अधिकारका नाममा बन्द, हडताल गर्नुको साटो कामगरी खाने मानिसहरुलाई रोजगारी दिनुपर्छ । गाडी नचलेको थाहा पाएपछि उनले बाँकेका नेतालाई समेत फोन गरेका थिए, ती नेताले गाडी चलेपछि पठाइदिने आस्वासन दिए ।
परियार र रावत मात्रै होइन,कोहलपुरको चौराहामा जुत्ता सिलाउँदै आएका चन्द नेपाली पनि बन्द र हडतालका कारण आफूलाई साँझ हातमुख जोड्न समेत समस्या बताउँछन् ।उनी सधैजसो बिहीबार विहानै चौराहामा आएका थिए । चन्द्र दिनभर आन्दोलनकारीका गतिविधि हेर्र्द बस्न बाध्य भए । उक्त पक्षको आन्दोलनका कारण बाँकेमा मजदुरी गरेर जिविकिपार्जन गर्नेहरु सबैभन्दा बढी प्रभावित भए । बाँकेमा दिनभर यातायात, मजदुर, शैक्षिक संस्था तथा सर्वसाधारण प्रभावित भएका थिए ।
जब बन्दकर्ता नाचगान गर्न थाले…
दिनभर कोहलपुरकार चौराहामा आन्दोलन भइरहेको थियो । प्रचण्ड–नेपाल समुहका नेता कार्यकर्ता कोहलपुरको चौराहामा आन्दोलनरत थिए। उनीहरुले दिनभर ठुला तथा साना सवारी साधन, मोटरसाइकल, साइकल तथा पैदलयात्रीहरुलाई समेत राम्रोसँग आवातजावत गर्न दिएनन् । उक्त पक्षका जिल्ला तथा प्रदेश स्तरका नेता बीच सडक मै लठ्ठी बोकेर बसेर आन्दोलन गरे । युवा तथा विद्यार्थी नेताहरुले चौराहामा टायर बालेर समेत आन्दोलन तथा नाराबाजीको प्रयास गरेका थिए । टायर बाल्ने क्रममा सुरक्षाकर्मीहरु बीच केही समयमा मुठभेटको अवस्था समेत सिर्जना भएको थियो । यद्यपी केही समयपछि सामसुम भयो ।
बाटोमा यात्रा गर्नेहरुलाई अवरोध गर्ने क्रममा साँझ पाँच बजेसम्म पनि चल्यो । करिब तीन दर्जनजतीको संख्यामा रहेका आन्दोलनकारीहरुले विभिन्न रमाइला गतिविधिहरु समेत गरे । उनीहरु बीच बाटोमा घरी फुम्फरी खान्थे । घरी बाटोमा यात्रा गरिरहेकाहरुलाई झम्टिन पुग्थे । िबहीबार उनीहरुकै शब्दलाई सापटी लिने हो भने प्रतिगमन विरुद्ध, व्यवस्था रक्षाको लागि संविधानको रक्षाको लागि आन्दोलन र बन्द गर्नु परेको हो । तर बीच सडक मै उनीहरु क्रान्तिकारी बजाउँदै नाच्दै थिए । बन्दको नाममा सार्वजनिक बाटोलाई उनीहरुले पिकनिक स्पट जस्तै बनाइरहेको पाइयो । एउटा साउण्ड सिस्टम बीचमा राखिएको थियो । माथि ठुलो थैलोमा मुम्फली राखिएको थियो । आन्दोलनकारीहरु गीतमा नाच्दै मुम्फली गर्दै गर्दैथिए । जहाँ घन्किएको थियो,
‘सिन्ने हिमाल…, अघि बढन प्रचण्ड जनता साथमा छ । हाम्रो देशको भविश्य तिम्रै हातमा छ ।’
उनीहरु तालतालमा कोही नाच्थे, कोही देउडा खेल्थे । सडक छेउको वरपर उनीहरुको रमिता हेर्ने सर्वसाधारणको घुइँचो थियो। आम हडतालको सुरक्षाको लागि खटिएका सुरक्षाकर्मीहरु समेत उनीहरुको नाचगानमा खुबै रमाइरहेका थिए । भिडियो खिच्ने सर्वसाधारणहरुको समेत भीड बाक्लै थियो। आन्दोलनकारीहरुको यस्तो हर्कतको भने त्यहाँ उपस्थित केही सर्वसाधारणहरुले विरोध
जनाए । व्यवस्थाको रक्षाको लागि गरिएको हडतालमा पिकनिक गएको जस्तो रमाइलो गर्नु अस्वाभाविक भएको उनीहरुको भनाइ थियो ।नाम उल्लेख नगर्ने सर्तमा एकजना सर्वसाधारणले आन्दोलनको नाममा गरिएको असंवेदनशिल कार्य भएको बताए ।
उनका अनुसार विरोधको क्रममा केही सिर्जनात्मक गतिविधि भने गर्न सकिन्थ्यो । यस विषयमा आन्दोलनको नाममा नाचगान गर्नु कत्तिको उपयुक्त हो भन्ने मिसन टुडेको प्रश्नमा उक्त पक्षका नेता तथा जिल्ला सचिव समेत रहेका अशोक कोइराला आन्दोलनको क्रममा साथीहरुले सामान्य रमाइलो गर्नु नराम्रो कुरा नभएको बताए । उनी भन्छन्,‘हामीले संसद र संवैधानिक निकायहरुका विरोधमा आन्दोलन गरेका थियो । साथीहरुले जनताका गीत बजाउनु भयो । एकछिन सामान्य रमाइलो गर्नुभयो । मलाई नराम्रो काम गर्नुभयो भन्ने लाग्दैन ।’उनले दिनभर आन्दोलनको क्रममा भएका फोहोर समेत साँझ सबै सफा गरेको दावी गरे ।









प्रतिक्रिया दिनुहोस्