देशका शीर्ष नेताहरुका भाषामा संविधानको बहात हत्या, बलात्कार, संविधान विरुद्धको कदम, जनभावना विपरित र असंवैधानिक कदम
(प्रतिनिधि सभा) विघटन भएको दुई साता नाघिसक्यो । ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको सिफारिस तुफानी गतिमा अनुमोदन गरेकी थिइन् । त्यसयता सत्ताधारी नेकपा राजनीतिक रुपमा फुटिसकेको छ । अहिलेको एक गुटको नेतृत्वमा प्रधानमन्त्री छन् भने अर्को गुटको नेतृत्व प्रचण्ड–नेपालले गरिरहेका छन् ।
अहिले दुवै पक्ष सार्वजनिक गाली बेइज्जतीमा उत्रिएका छन् । अर्कातिर संसद विघटन र दल आधिकारिताको विषय अदालत र निर्वाचनमा आयोगमा विचारधिन छ । निर्वाचनबाट प्राप्त सुविधाजनक बहुमत, पाँच वर्षे कार्यकालको स्थायी सरकार, आम नागरिकको स्थायित्वको चाहनालाई तिलाञ्जली दिएर गरिएको संसद विघटनले देशको राजनीतिक व्यवस्था माथि नै खतराको संकेत देखिएको छ । यसबाट संववत सबै भन्दा बढी क्षती जसले विघटन गरे उनीहरु माथि नै पर्ने निश्चित जस्तो छ । प्रधानमन्त्रीको सिफारिस हठात अनुमोदन गरेकी राष्ट्रपतिको भूमिकामाथि नै प्रश्न चिन्ह खडा भएको छ ।
कोरोना महामारीको कालमा राजनीतिक महामारीको संकेत किन देखाप¥र्यो यसपछिका गतिविधि तर्फ फर्किनुपर्ने हुन्छ । गत वर्षको बैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले अकस्मात दल विभाजन र संवैधानिक परिषद्को अध्यादेश ल्याएपछि सत्ताधारी नेकपामा विवादको श्रृंखला सुरु भएको हो । त्यसपछिका नेकपाका झण्डै १० महिना आन्तरिक कलह मै बिते । एकातिर कोरोना महामारीको कहर अर्कातिर नेकपाको आन्तरिक सत्ता र शक्ति संघर्षले जनतालाई गिजोलिरहेको थियो । अन्नत त नेकपा आन्तरिक किचलोको असर सार्वभौव सत्ता प्रतिनिधिसभा माथि परेको छ । विगत ७० वर्षे नेपालको राजनीतिक इतिहासमा झण्डै दुईतिहाईको सरकार र देशको सबै भन्दा ठुलो पार्टीको अध्यक्षको हैसियतमा रहेका ओलीले संविधानले दिदै नदिएको अधिकार प्रयोग गरेर संविधान विपरित कार्य मात्रै गरेनन् जनमतको अपमान गरे । जुन कुरा ओलीले चौथो प्रयासपछि सफल भबाएरै छोडे ।
राष्ट्रको अभिभावकीय भूमिकामा रहनु पर्ने राष्ट्रपति व्यवस्था विसर्जन जस्तो कदमलाई साथ दिएर ओली प्रवृत्तिको मतियार भइन् । उनले देशको अभिभावकको भूमिका होइन ओलीको सहयोगीको भूमिका निर्वाह गरिन् । संसद विघटन सिफारिसको हठात अनुमोदन देशको अभिभावकीय भूमिकाको विपरितको कार्य हो । संविधान र विद्यामान कानुन विपरितको कदमले ओलीको राजनीतिक भविश्य ओरालो लाग्यो नै । राष्ट्रपतिको गरिमामा समेत कालो धब्बा लाग्यो । संसद विघटन पछाडि पनि ओली अभिव्यक्तिहरु कारक छन् । केही समय अघि ओलीले भनेको एउटा भनाइ निकै चर्चामा आएको थियो । उनले भनेका थिए, ‘मलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाउन खोजियो भने म त्यो कुर्सी नै फोडिदिन्छु । व्यवस्था नै मासिदिन्छु ।’ पहिले नै राजनीतिक हाँस्यकलाकार जस्ता ओलीको भनाइलाई धेरैले ख्याल ठट्टा ठाने । उनका निकटहरुलाई पनि संसद विघटन गरिहाल्लान भन्ने थिएन ।
५ पुसको उनको कदमको त्यसैको निरन्तरताको पहिलो चरण हो । उनले आफ्नो कुर्सी त फोडेनन् । तर प्रतिनिधिसभा सदस्यहरुको कुर्सी भने फोडिदिएका छन् । यसलाई ओलीले आफ्नै कुसी बाँच्ने कदमको सुरुवात भनेका छन् । पुस ५ का दिन ओलीले एकैपटक तीन वटा जनता भावना विपरित र अराजनीतिक काम गरे । संविधान मिचेर प्रतिनिधिसभा विघटन । त्यसलाई बलपुग्नेगरि युद्धस्तरमा राष्ट्रपतिद्धारा अनुमोदन र आफैले फिर्ता लिने बताएको सध्यादेश देखाएर संवैधानिक निकायमा असंवैधानिक नियुक्ति । यो कदमलाई ‘ओली र भण्डारीको भष्मासुर पद’ का रुपमा समेत हेरिएको छ । यो कदम अनिश्चितता र राजनीतिक अस्थिरताको सुरुवात पनि हो ।
अर्कातिर संसद विघटनसँगै ‘ओलीको राजनीतिक अवसान’ भएको समेत टिप्पणी हुन थालेको छ । अब पुस पाँचपछिका महत्वपूर्ण राजनीतिक परिघटनाबारे चर्चा गरौ, पुस ५ मा संसद विघटन भयो । राष्ट्रपतिबाट हठात अनुमोदन गरियो । खासमा त्यो निर्णय एक महत्वपूर्ण कारक नेकपाको आन्तरिक किचलो नै थियो । यो एउटा राजनीतिक भुकम्प हो । यसको असरको रुपमा नेकपा फुटको अन्तिम चरणमा पुग्यो । अहिले स्पष्ट रुपमा दुई वटा खेमामा विभाजित भइसकेको छ । यतिसम्मकी समानान्तर पार्टीको अभ्यास समेत सुरु भइसकेको छ । संसद विघटनको मुद्धा एकातिर छँदैछ ।
अर्कातिर अहिले संविधान अनुसार हालको सत्ताधारी दल नेकपा, चुनाव चिन्ह विवाद पनि निर्वाचन आयोगको टेवलमा पुगिसकेको छ । दुवै पक्षमा आफ्नो हुनुपर्ने दावी गरिरहेका छन् । निर्वाचन आयोगले आफ्नै विवेकले निर्णय गर्ला । यस्तै अहिले नेकपाका दुई पक्ष भेला, प्रशिक्षण र आमसभाका नाममा देश दौडाहामा छन् । ती भेलाहरुमा सहभागी नेताहरुका भाषण सुन्दा दुवै पक्षले एकपक्षका नराम्रा कुरा गरेर आफू ‘पानी पानीको ओभालो’ भन्ने रणनीति अपनाएको देखिन्छ । ओली पक्षले संसद विघटनको कदम बाध्यतात्मक, देशलाई अग्रमनतिर लैजान, नयाँ जानदेश प्राप्तिका लागि र संविधान संवत नै भएको भन्दै प्रतिरक्षा गरिरहेको छ । अर्कातिर प्रचण्ड–नेपाल समूहले उक्त कदम असंवैधानिक, लोकतन्त्रको मर्म विपरित, जनभावना विरुद्धको कदम भएको आरोप लगाइरहेका छन् ।
कमेडियन जस्ता प्रधामन्त्री
स्रोपटक मृगौला प्रत्यारोपणपछि लगत्तै कोरोना महामारीपछि ओली खास्सै सार्वजनिक कार्यक्रममा उपस्थित भएनन् । अहिले पनि ओली दिनहु गुटको भेलामा उपस्थित भइरहन्छन् । उनका अभिव्यक्ति विपक्ष प्रति चर्का छन् । त्यति मात्रै होइन उनका अभिव्यक्ति, रिस, कुण्ठा,उग्र महत्वकांक्षा मिश्रित छन् । उनी खासगरी प्रचण्ड र मावध नेपालप्रति आगो ओकल्छन् । सातायता उनका अभिव्यक्ति, पटापक्ष पुराका पुरा गैरराजनीतिक रुपमा आइरहेका छन् । भाषणको बीच उखान टुक्का जोड्ने त उनको पुरानो राजनीतिक शैली हो । त्यस्ता सभामा उनी प्रधानमन्त्री कम कमेडियन बढी देखिन्छन् । उनलाई राजनेता मान्ने कार्यकर्ताहरु हाँसिरेहका हुन्छन् ।
उनका अभिव्यक्तिहरुमा ओलीले बोल्दिन भन्दा भन्दै धेरै कुरा बोलका छन् । कुनैबेलाका उनका नेता, देशको प्रधामन्त्री समेत भइसकेका माधव नेपाललाई प्रचण्डको मामुली कार्यकर्ता हो भन्छन् । अघि अघि बढ्दै भन्छन्, ‘तपाईंहरू सहीद भएर गएको भए श्रद्धाञ्जलि दिनुहुन्थ्यो, अहिले के भनेर स्मरण गर्ने ? तपाईंहरूले फोहोर मात्रै गर्नुभयो ।’ ओलीले यसो भनिरहदाँ उनका अन्धवक्त कार्यकर्ता, आफूलाई अग्रगमनको पक्षधर बन्ने लोपी पापी नेताहरु ग्ललल हास्छन्, थपडि पिट्छन्। यो भन्दा ठूलो जोकरतन्त्र के हुनसक्छ देशमा ।
यति बेला कवि–स्वप्निल स्मृति,को ‘जोकर व्यवस्था’ भन्ने कविताका अंश सम्झिन्छु ।
जोकरबाट शासित हुन कति कठिन छ !
राजा–महाराजा या तानाशाहबाट भन्दा कम छ ?
कृपया हाँसेर समय नबिताउनोस्
हाँस्दाहाँस्दै रोएर जीवन नबिताउनोस्
कान्तिपुरको दैनिकको प्रिन्ट संस्करण (समवत)मा सरिता तिवारी ‘कृपया हाँसेर समय नबिताउनोस्’ भन्ने लेखमा लेख्छिन् ।
‘सामाजिक सञ्जालमा देशका प्रधानमन्त्रीले विपक्षीहरूलाई कटाक्ष गर्न कथेका ‘म्याउँ म्याउँ’ देखि रत्नपार्कमा ओखती बेच्ने र श्रद्धाञ्जली दिनेसम्मका हास्य क्लिपहरू भाइरल भइरहेका छन् । यतिखेर माथिको कविताले सम्प्रेषण गर्ने आग्रह झनै प्रासंगिक र समयसिद्ध छ ।’
उनी अघि लेख्छिन्,
‘हो, देश साँच्चै लोकतन्त्र–गणतन्त्रको होइन, जोकरतन्त्रको अभ्यासमा छ । एउटा जोकरका शब्दखेल र भंगिमा हेर्दै पुर्पुरो समाएर उसैका लीलामा तन्मयरत भई बस्नु हाम्रो दैनिकी बनेको छ । आम जनजीविकाका असीमित दुःख र शोक एकातिर छन्, लोकतन्त्र–गणतन्त्रमा उम्रेको ऐंजेरुतुल्य लीलाकारी प्रधानमन्त्रीका दिनदिनैका हास्य सभाहरू अर्कातिर ।’
ओलीका यस्ता अभिव्यक्तिहरुलाई मनोविद्हरु जवाफदेहिता कम स्वेच्छाचारिता बढी हाबी भएका कारण तल्लोस्तरको टिप्पणी गरेको बताउँछन् । नेताहरूले सिद्धान्तको राजनीतिभन्दा घृणाको राजनीतिलाई प्राथामिकता दिँदा यस्ता अभिव्यक्ति र टिप्पणीहरु भइरहेको मानवशास्त्रीहरुको ठम्याइ छ । यस्ता अभिव्यक्तिहरु दिनेमा ओली मात्रै होइन, प्रचण्ड, नेपाल र केही युवा नेता भनिनेहरु छन् । ओलीका अभिव्यक्ति तुलनात्मक रुपमा गैरजिम्मेवार, गैरराजनीतिक संस्कार भित्र पर्छन् । यसै सन्दर्भमा १७ पुसको राष्ट्रिय सभाको सातौ बैठकमा नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य, जितेन्द्र नारायण देवले ७ अप्रिल १८३७ मा प्रकाशित भएको डेनिस राइटरको कथा ‘द एम्पारस न्यु क्लोथ
(महाराजका नयाँ लुगा) बारे प्रसंग उल्लेख गरेका थिए । आफूले उक्त कथा कक्षा दशमा पढ्ने बेला पढेको बताउँदै, ह्यान्स क्रिस्टयान एण्डर्सनले लेखेको त्यो कथाले नेपालको वर्तमान बिशिष्ट राजनीतिक परिस्थितिलाई अत्यन्त सांकेतिक रुपमा प्रतिविम्वन गरिराखेको छ । उनका अनुसार उक्त कथाको सार संक्षेप यस्तो छ ।
(त्यो कथामा महाराजलाई नयाँ लुगा लगाइदिएर उनका केही अन्धभक्तले बजारमा घुमाइराखेको हुन्छ । अन्धभक्तहरुले आहा क्या राम्रो लुगा, महाराजले क्या राम्रो लुगा लगाइराख्नुभएको छ भन्दै घुमाउँदा घुमाउँदै एउटा चोक आइपुग्छ । त्यहाँ एउटा अबोध बच्चाले भन्छ,(ओहो, महाराज त नाङ्गै होइबक्सिन्छ । सत्यलाई अबोध बालकले रहस्य उद्घाटन गर्छ ।)
राष्ट्रियसभा सदस्य देवले उल्लेख गरेको कथाको सार जस्तै आज प्रधानमन्त्री ओलीसँग सत्य करोडौ माइल टाढा छ । तर असत्य उनको सभाका अभिव्यक्तिमा भेटिन्छ । ओली विचार, तर्कमा नांगो भएका
छन् । हस्याउली, ठट्याउली र बेप्रसंगका कुराहरु गर्दै आफूलाई शरिरभरी लुगा लगाएको सम्झिरहेका छन् । आजको नेपालको राजनीतिक परिस्थिति त्यस्तै हो । एकातिर मैले जे गरेँ त्यो ठीक गरेँ । मैले प्रतिनिधिसभा विघटन गरेँ, ठीक गरेँ, संवैधानिक गरेँ । प्रतिनिधि सभाको ६४ प्रतिशत बहुमत भएकाले मैले जे गरेँ ठीक गरेँ, संवैधानिक गरेँ भनेर भन्दै हुनुहुन्छ । तर, पूरा देश यो पुरै असंवैधानिक छ, अलोकतान्त्रिक छ भनेर भनिराखेको छ । उनका पछिल्ला भाषणमा सयौ असत्य र झूठ कुराको सहारा उनले लिइरहेको पाइन्छ । ओलीको स्वभाव नै पहिले देखि नै सक्की हो । इतिहासमा उनी एक तानशाह, शक्तिको अत्यधिक भोग भएका र सन्की शासकका रुपमा दर्ज हुने निश्चित छ, नकी उनले अरिंगालहरुले भन्ने गरे झै राजनेता र राष्ट्रका अभिभावक ।
के ओलीबाट व्यवस्था नै मासिएला !
संघीय लोकतान्त्रिक ब्यवस्थाका निमित्त गरिएको राजा विरोधी संघर्षलाई ओलीले ‘बयलगाडा चढेर अमेरिका पुगिदैन’ भनेर खिल्ली गर्दथे । जन आन्दोलनको बलमा शताब्दी लामो राजतन्त्रको औपचारिक रुपमा अन्त्य भयो । २०७२ मा नेपालको संविधान निर्माण गरियो । हिजो राजतन्त्रको पक्ष र गणतन्त्र तथा संघीयताको विरुद्धमा नारा लगाउने ओलीलाई समयमा संघीय शासन लागु भएपछि त्यसको कार्यान्वयन गर्नुपर्ने स्थानमा पु¥याइदियो । त्यसो त सुरुदेखि नै ओलीलाई संघीयता मन पर्दैनथ्यो, लोकतन्त्र र गणतन्त्र मन पर्दैनथ्यो । धर्मनिरपेक्षता र समावेशिता पनि कहिल्यै मन पर्दैनथ्यो । तर, सशस्त्र युद्धसहितको जनआन्दोलनले मुलुकलाई र उनलाई त्यही दिशातिर डो¥याइदियो । त्यतिवेलासम्म उनी गुमनाम थिए । ओली दोस्रोपटक प्रधानमन्त्रीको कुर्सीमा पुगिसकेपछि निरन्तर संघीयताका विरुद्धमा अभिव्यक्ति दिदै आएका छन् । केही समय पहिले उनले प्रदेश सरकार संघीय सरकारका इकाइ मात्रै हुन् भन्ने अभिव्यक्ति दिएका थिए ।
जबकी संघीयताले शक्ति वीकेन्द्रीकरणलाई संघीयता कार्यान्वयनको कडि मानेको छ । उनकै मन्त्रीमण्डलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको सट्टा नेपाल मात्रै भन्नु पर्ने निर्णय ग¥यो । यो ओलीले संघीय शासन प्रति देखाएको अरुचि हो । प्रधामन्त्री भएदेखि शक्ति आर्जनमा उनमा देखिएको रुचिले उनी तानाशाह बन्न खोजेको आरोप लागिरहछ । धेरै घटनाले यी कुराको पुष्टि गरेको छ । अहिले पनि संसद विघटन र दलको विवाद चलिरहेको विद्यामान अवस्थामा उनी निकट निरु पालले ‘संघीय व्यवस्था नै खारेज’ गर्न सुझाव दिइन् । नेकपाका कार्यकर्ताहरुका अनुसार उनलाई ओलीले नै बोल्न लगाएका हुन सक्छन् । किनभने ओली आफू संकटमा परेका बेला विभिन्न कार्ड फाल्छन्, आफ्ना लागि अन्य मानिसहरुलाई प्रयोग गर्छन् । भक्तपुरको बाल्कोट स्थित उनको निजी निवासमा बस्दै आएका तत्कालीन मन्त्री गोकुल बाँस्कोटाले समेत यस्तै अभिव्यक्ति दिदै आएका छन् ।
अहिलेको संघटन विघटन गर्ने ओलीको कदमलाई धेरै यो व्यवस्था नै मास्ने ओली मनसायका रुपमा बुझेका छन् । उनीबाट अहिलेको व्यवस्था माथि थुप्रै चुनौतीहरु छन् । उनका आगामी कदम भनेका आफू पनि सिद्धिन्ने र व्यवस्था पनि सिध्यादिने सम्मका छन् । अहिले राजनीतिक रुपमा विभाजित भइसकेको नेकपा पंक्तिमा राजतन्त्र फर्काउनेदेखि सेनाको शासन लागू गर्नेसम्मका कदम ओलीले चाल्न सक्ने आंकलन हुन थालेको छ । अहिलेको समय राजनीतिक संक्रमणको समयमा हो । वर्तमान व्यवस्थाको रक्षाको लागि एकढिक्का हुने बेला हो । कविका कविता अंश जस्तै सन्की शासक र जोकर व्यवस्था जस्तो हास्य सभामा हाँसेर समय बिताउने बेला होइन । अहिलेको आवश्यकता व्यक्तिको पक्षधरता नभएर व्यवस्थाको पक्षमा बहस गर्ने हो । त्यसैले संविधानको बलात हत्या हुँदा पनि हाँसेर बस्ने छुट कुनैपनि नेपालीलाई छैन । कीनकी नाटक र रंगमञ्चको पात्र जस्तो रुने अनि हाँस्ने । त्यसैले कृपया हाँसेर समय नबिताउनुहोस् ।










प्रतिक्रिया दिनुहोस्