बर्दिया ।
बर्दियाको बाँसगढी नगरपालिकामा नगरस्तरीय आधारभूत अस्पताल भवन शिलान्यास गरिएको छ । नेपाल सरकारको प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्य अनुसार बिहीबार बाँसगढीमा पनि एक कार्यक्रमका बीच अस्पताल भवनको शिलान्यास गरिएको
हो । उक्त अस्पतालको एक कार्यक्रमका बीच स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले शिलान्यास गरेका थिए ।
उनले कोरोना महामारीको समयमा सरकारले एकैपटक करिब ४ सय अस्पताल भवनको शिलान्यास गराउनु ऐतिहासिक कार्य भएको बताए । ‘सरकार हरेक नागरिकको लागि स्वास्थ्य सेवा बिस्तारको अभियानमा छ’ उनले भने, ‘सोही अभियान अन्तर्गत देशभरका स्थानीय तहमा कम्तिमा १५ शैयाको अस्पताल निर्माणको लागि शिलान्यास भएको छ ।’
उद्घाटन सत्रमा बोल्दै बाँसगढी नगरपालिकाका प्रमुख शालिकराम अधिकारीले सरकारको लक्ष्य र नगरबासीको चाहना अनुसार अस्पताल भवनको शिलान्यास गरिएको जानकारी दिए । उनका अनुसार नगरपालिका र नेपाल सरकारको प्रत्यक्ष लगानीमा नगरस्तरीय अस्पताल बन्न लागेको हो । ‘यो हाम्रो लागि गौरवको कुरा हो ।
जनताको मौलिक हक पुरा गर्न पनि अस्पताल आवश्यक छ । छिट्टै सञ्चालन ल्याइनेछ ।’ नगर प्रमुख अधिकारीले भने । नेपाल सरकारले केही दिन अघि मात्र देशभर एकैदिन ३ सय ९६ वटा अस्पताल शिलान्यास गरेको थियो । उक्त दिन विभिन्न कारणले अस्पताल शिलान्यास नभएको भन्दै केही दिन ढिलो गरेर काम सुरु भएको उनले जानकारी दिए । घरदैलो नै न्युनतम् स्वास्थ्य सेवाको सुनिश्चितताका लागि स्थानीय सरकार लागि परेको उनको भनाइ रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्