कोरोनाको असरः भएनन् मादल विक्री



शिवु खनाल । दाङ ।

दाङको लमही नगरपालिका वडा नम्बर ४ अर्नहवा निवासी टंक कुमालले गत वर्षको तिहारमा नयाँ मादल विक्रि र पुराना मर्मत गरेर एक लाख पचास हजार रुपैयाँ कमाए । उनको मुख्य आम्दानीको स्रोत भनेकै मादल विक्रि र मर्मत गर्ने नै हो ।

विगतका तिहारमा मादल विक्रिबाट राम्रो आम्दानी गर्ने कुमाल यसपालिको तिहारमा चिन्तित छन् । कोरोना कहरका कारण बनाएका नयाँ मादलहरु विक्रि भएका छैनन् नत पुराना मादल मर्मतका लागि कसैले ल्याएका नै छन् ।

‘योवर्ष मादल विक्रि गर्न सकिएको छैन । कोरोनाको कारणले गर्दा मादल विक्रि गर्न सकिएन’ उनले भने, ‘गतवर्ष यतिखेर २० वटा जति नयाँ मादल बेचिसकेको थिए र ७० वटा पुरानो मादल मर्मत गरेर राम्रो आम्दानी गरेको थिए ।’

कुमालका अनुसार विगतका वर्षहरुमा दशैंको घटस्थापना सुरु भएदेखि मानिसहरू पुराना मादल मर्मत गराउन वा नयाँ खरिद गर्न उनको घरमा नै आइपुग्थे ।

कोरोना कहरका कारण उनले अहिलेको तिहारको लागि भनेर ७ वटा मादल मात्र तयार पारेका छन् । ‘गत वर्ष मात्रै नयाँ मादल विक्री र पुरानो मादल मर्मत गरेर दसैं–तिहारको बीचमा एकलाख ५० हजार आम्दानी गरे’ कुमालले भने, ‘यसपालि नत नयाँ मादल खरिद गर्न आए नत पुरानो मादल मर्मतका कसैले ल्याए । तयार पारेका मादल पनि बिक्ने निश्चित छैन ।’

१२ वर्षको उमेरदेखि नै नयाँ मादल बनाउदैँ विक्री गर्दै आएका कुमालले तिहारमा यसवर्ष पहिलोपटक मादल विक्रिमा यस्तो गिरावट आएको बताए । ‘यही व्यवसायबाट पाँचजना परिवारको गुजारा चलाउदैँ आएको थिए ।

अन्य पेशा केही छैन । कोरोनाले गर्दा मादलको माग ह्वात्तै घट्यो । योवर्ष मादलको माग नै आएन । परिवार कसरी चलाउने हो । पानी बत्तीको विल कसरी भुक्तानी गर्ने हो । रातभरी निद्रा लाग्दैन’ उनले भने, ‘ऐलानी जग्गामा बसेको छु । धितो राखेर संस्थाबाट ऋण खाउ पुर्जा भएको जग्गा छैन ।

आर्थिक स्थित निकै कमजोर छ । पाँचजना परिवार कसरी पाल्ने हो ।’ देउखुरीका मादल व्यवसायहरुले मादल विक्री गरेर दशैँ तिहार खर्च राम्रै उठाउदैँ आएका थिए । तर यसवर्ष कोरोनाको कारणले गर्दा मादल विक्रि नहुँदा मादल व्यवसायीहरु चिन्ति बनेका हुन् ।

बाउबाजेले सिकाएको सीपलाई निरन्तरर्ता दिदै आएका देउखुरी क्षेत्रका मादल व्यवसायीहरुले यसवर्ष खर्च जुटाउन हम्मे हम्मे भएको बताउँछन् । मादल खरिद गर्नको लागि दाङसहित विभिन्न छिमेकी जिल्लाहरुबाट मानिसहरु आउने गरेका थिए ।

आउँदै गरेको तिहारमा सरकारले देउसी भैलो नखेल्न अनुरोध गरिसकेको छ । साथीभाई जमघट भएर यतिबेला देउसी भैलो खेल्ने तयारीमा हुन्थ्ये । कोरोना संक्रमणको जोखिमले अहिले समूहमा खेल्ने, बस्ने अवस्था नभएको कारण मादलको व्यापार घटेको हो ।

कोरोना संक्रमणको जोखिमका कारण यो वर्ष तिहारमा गाउँका टोलटोलमा मादल बजाएर देउँसी, भैलो खेल्ने अवस्था छैन् ।

जसको असर मादल व्यवसायमा पनि परेको छ । पोहोर वर्षहरुमा तिहारको बेला भ्याइनभ्याइ हुने मादल व्यवसायीहरु व्यापार नै शुन्य भएपछि अहिले फुर्सदमा छन् । त्यसो त अहिले ठूला चाडपर्व, स्थानीय मेलापर्वमा मादल बजाएर नाचगान गर्ने चलन पनि कम हुँदै गएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ कात्तिक २७ गते बिहीबार