बाँकेमा लागू भो चाडपर्व लक्षित सुरक्षा योजना



नेपालगञ्ज ।

बाँकेमा प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेको छ । हिन्दुहरुका ठूला पर्व दशै, तिहार र छठ नजिकिदैं जाँदा बाँकेमा प्रहरी विशेष सुरक्षा योजना लागू गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेले आइतबार पत्रकार सम्मेलन गरेर चाडपर्व लक्षित सुरक्षा योजना लागू भएको जानकारी दिएको थियो ।

चाडपर्वमा हुनसक्ने सुरक्षा जोखिमलाई मध्यनजर गरेर सुरक्षा योजना लागू गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

‘जिल्लामा हामीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गरिसकेका छौं’ उनले भने, ‘शहरदेखि गाउँसम्म सोही अनुसार प्रहरी परिचालन भइसकेका छन् ।’

प्रहरीले खासगरी चाडपर्वका बेला हुनसक्ने चोरी, डकैती, अपराध लगायतलाई न्यूनीकरण तथा नियन्त्रण गर्नका लागि विशेष सुरक्षा योजना बनाएर कार्यान्वयनमा ल्याएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेले १४ बुँदे विशेष सुरक्षा योजना बनाएर लागू गरेको प्रहरी उपरीक्षक रानाले जानकारी दिए । चाडपर्व लक्षित सुरक्षा योजनामा जिल्लाभर ६ सय ५० जना प्रहरी परिचालन गरिने उनले बताए ।

‘पिकेट, हाइवे चेकिङ, एम्बुस चेकिङ, डग स्न्यापिङ, विशेष टोली (सादा पोशाक), सरप्राइज चेकिङ, मोबाइल गस्ती, पैदल गस्ती, सिसिटिभी निगरानी, स्कटिङ, काउन्टर पार्ट्स, क्विक रिस्पोन्स टिम, भिग्रस चेकिङ र कमान्ड पोष्ट मार्फत सुरक्षा अवस्था निगरानी गर्नेछौं’ प्रहरी उपरीक्षक रानाले भने ।

विशेष सुरक्षा योजना अन्तर्गत पिकेट ३३ स्थानमा, हाइवे चेकिङ ४ स्थानमा, एम्बुस चेकिङ ३० स्थानमा, डग स्न्यापिङ आवश्यकता अनुसार, विशेष टोली (सादा पोशाक) २५ जना, सरप्राइज चेकिङ १० स्थानमा, मोबाइल गस्ती १० वटा, पैदल गस्ती २० वटा, सिसिटिभी निगरानी १० जना, स्कटिङ २० जना आवश्यकता अनुसार, क्विक रिस्पोन्स टिम १४ समुह, भिग्रस चेकिङ १४ स्थानमा हुनेछ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास खड्काले सबैको परिचालन कार्यालयमा स्थापना गरिएको कमान्ड पोष्टले गर्ने जानकारी दिए ।

‘विभिन्न किसिमले जिल्लाभरी नै प्रहरी जनशक्ति परिचालन हुनेछ’ उनले भने, ‘त्यसको सम्पूर्ण परिचालन कमाण्ड पोष्टबाट हुन्छ ।’ सर्वसाधारणहरुलाई ढुक्कका साथ चाडपर्व मनाउने बातावरण बनाइने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । सोही अनुसार नै विशेष सुरक्षा योजना बनाइएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए ।

चाडपर्व मनाउन घर फर्किनेहरुको सहजकताको लागि जमुनाहा तथा जिल्लाका बसपार्कमा यात्रु सहायता कक्ष स्थापना भइसकेको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ असोज २६ गते सोमबार