प्लाज्मा थेरापीबाट पहिलो व्यक्ति निको



बाँकेमा पहिलोपटक प्लाज्मा थेरापी विधीबाट उपचार गरिएका कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । गम्भिर कोरोना संक्रमित विरामीलाई प्लाज्मा थेरापी विधीबाट गरेको पहिलो प्रयास नै सफल भएपछि चिकित्सहरु समेत खुसी भएका छन् ।

नेपालगञ्ज ।

बाँकेमा प्लाज्मा थेरापी विधीबाट उपचार गरिएका पहिलो कोरोना संक्रमित युवक स्वस्थ्य भएर घर फर्किएका छन् । निको भएर घर फर्किने शारदा नगरपालिका–६ सल्यान घर भई नेपालगञ्ज बस्दै आएका २९ वर्षीय प्रविण केसी हुन् । श्वासप्रश्वास, ज्वरो र खोकी सम्बन्धी समस्या देखिएपछि उनी भदौ १२ गते भेरी अस्पताल भर्ना भएका थिए । भोलीपल्ट केसीलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनी १७ दिनपछि कोरोना जितेर आइतबार घर फर्किएका छन् ।

निमोनिया भएका केसीको स्वास्थ्य स्थिति गम्भीर हुँदै गएपछि आइसीयुमा राखेर अक्सिजन दिइएको थियो । स्वास्थ्य स्थिति खस्किँदै गएपछि अस्पतालमा भर्ना भएको तीन दिनमा उनलाई प्लाज्मा थेरापी विधीबाट उपचार गरिएको थियो । स्वास्थ्य अवस्थामा सुधार आएसँगै केसीको पीसीआर रिपोर्ट पनि नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका फिजिसियन तथा उपचारमा संलग्न चिकित्सक खगेन्द्र जंग शाहले जानकारी दिए । ‘बाँकेमा पहिलो केसमै हामीले सफलता पाएका छौं’ खुसी हुँदै उनले भने, ‘संक्रमणबाट मुक्त भएकाहरुलाई प्लाज्मा दान गर्न पनि म सबैलाई आव्हान गर्दछु ।’

भेरी अस्पतालमा नै दोस्रो प्लाज्मा थेरापीबाट उपचार गरिएका व्यक्तिको अवस्था भने स्थिरजस्तै रहेको उनले बताए । ‘भेरीमा उपचाररत अझैपनि ५÷६ जनाको अवस्था क्रिटिकल छ’ डा. शाहले भने, ‘अहिले रेमडिसिभिर औषधि दिएका छौं । त्यसले सुधार भएन भने प्लाज्मा दिनु पर्ने हुन्छ ।’ प्लाज्मा थेरापी कोरोना भाइरसको संक्रमण भएका गम्भीर प्रकृतिका विरामीको उपचारमा प्रयोग गर्न प्रभावकारी मानिएको छ । उपचारबाट निको भएका केसीलाई नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१ का अध्यक्ष प्रमोद रिजालले प्लाज्मा दान गरेका थिए । आफ्नै प्लाज्माबाट केसीको ज्यान जोगिएको भन्दै उनले खुसी व्यक्त गरे ।

‘म आज निकै खुसी छु । मेरो रगतबाट निकालिएको प्लाज्माले प्रविण भाइको ज्यान जोगियो, आफैलाई भाग्यमानी ठानेको छु’ वडाअध्यक्ष रिजालले भने । प्लाज्मा थरापी विधीबाट उपचार गर्दा निको भएका केसीले कोरोनालाई हल्का रुपमा नलिन सबैलाई आग्रह गरे । ‘कोरोनालाई हल्का रुपमा नलिऔं’ उनले भने, ‘म मृत्युको मुखमा पुगेर फर्किएको व्यक्ति हुँ । त्यो पीडा र छटपटिको नजरअन्दाज कसैले नगरौं ।’ कोरोनाले दीर्घरोगी, बुढाबुढीलाई नै असर गर्छ भन्ने सुनेको थिए, त्यसो हैन रहिछ केसीले अगाडि थपे ।

‘न म कुनै स्वास्थ्य समस्याबाट पीडित थिए । न दीर्घरोगी न त म वृद्ध नै । तर संक्रमणले निकै थल्लाइदियो । समयमै सहि उपचार नपाएको भए सायद बाँच्ने थिएन् होला ।’ उनले प्लाज्मा दान दिने वडाअध्यक्ष रिजाल, उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी लगायत सबैलाई धन्यवाद दिए । स्वास्थ्य अवस्था सामान्य हुने वित्तिकै आफु प्लाज्मा दिन आतुर रहेको केसीले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ २९ गते सोमबार