बाँकेमा अहिलेको अवस्था ‘कलस्टर ट्रान्समिसन’



बाँकेमा एक महिनायता कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तिव्र रुपमा फैलिरहेको छ । सरकारले लकडाउन अन्त्य घोषणा गरेपछि न्यून हुँदै गएको संक्रमण दर ह्वात्तै बढ्यो । यहाँका धेरै सरकारी कार्यालयहरु कोरोनाको ‘हटस्पट’ बने । बाँके विस्तारै पुरानै लयमा त फर्किदैं छ तर कोरोना संक्रमण झन् बढ्दैछ । पछिल्लो समय कोरोना संक्रमणको अवस्था, रोकथाम तथा नियन्त्रणका लागि भएका प्रयास लगायतका विषयमा केन्द्रित रहेर स्वास्थ्य कार्यालय बाँके जनस्वास्थ्य अधिकृत तथा कोरोना रोग स्रोत व्यक्ति नरेश श्रेष्ठसँग कृष्ण ओलीले गरेको कुराकानी ।

१. बाँकेमा कोरोना संक्रमणको पछिल्लो अवस्था के छ ?

बाँकेमा कोरोना संक्रमणको अवस्था भन्नुपर्दा पछिल्लो समय संक्रमण बढिरहेको अवस्था छ । एक महिनायता संक्रमितहरु बढ्ने क्रम बढिरहेको छ । विशेष गरी कलस्टर–कलस्टर परीक्षण गर्दाखेरी संक्रमितको संख्या बढेको पाइन्छ । आइतबार साँझसम्मको तथ्यांक अनुसार जिल्लामा कुल संक्रमितको संख्या एक हजार पाँच सय नजिक पुगिसकेको छ । उमेर समुहमा संक्रमितको तथ्यांक हेर्ने हो भने सबैभन्दा २० वर्षदेखि ४० वर्षसम्मका बढी संक्रमित भएका छन् । संक्रमितमध्ये महिलाको तुलनामा पुरुषहरु रहेका छन् । सबै क्षेत्रका मानिसहरु संक्रमित भएको अवस्था छ ।

२. पछिल्लो समय बाँकेमा दैनिक जसो कोरोना संक्रमितहरु थपिने क्रम ह्वात्तै बढेको छ ? यसको कारण चाही के रहेछ ?

लकडाउनपछिको अवस्थामा हामीले कोरोना सर्ने तरिकाहरुलाई नियन्त्रण गर्न सकेनौं । शहरमा बजारमा भिडभाड, बढी भिडभाड हुने सरकारी कार्यालयहरु खुल्ला भए । कोरोना सार्नसक्ने केश भएका मानिसहरु स्वस्थ्य मानिसहरुको प्रत्यक्ष सम्पर्कमा रहे । कोरोना सराईको प्रकोप दर बढ्यो त्यसैले संक्रमितहरुको संख्या बढ्न पुग्यो । सम्रगमा भन्नुपर्दा हामीले सरकारले लागू गरेका स्वास्थ्य मापदण्डहरु कडाईका साथ पालना गर्न सकेनौं ।

३. जिल्लामा दैनिक जसो कोरोना संक्रमितहरु थपिदैं जाँदा उनीहरुको व्यवस्थापन चाँही कसरी गर्ने गरिएको छ ?

अहिले जिल्लामा १८ वटा जती आइसोलेसन साइटहरु रहेको अवस्था छ । आइसोलेसनमध्ये भेरी अस्पताल नेपालगञ्ज र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लक्षणसहितका विरामीहरु राख्ने व्यवस्था मिलाइएको छ । अन्य आइसोलेसन सेन्टरहरुमा लक्षण नदेखिएका कोरोना संक्रमित विरामीहरुलाई राख्ने गरिएको छ । त्यसले गर्दाखेरी जब पोजिटिभ केशहरु पत्ता लाग्छन् । ती पोजिटिभ केशहरुलाई व्यवस्थापन गर्नको लागि जिल्ला प्रशासन कार्यालय अन्तरर्गत एउटा टिम छ । सोही टिमले नै स्थानीय तहका स्वास्थ्य शाखासँग समन्वय गरेर पोजिटिभ भएका केशहरुलाई कहाँ–कहाँ राख्ने भनेर अहिले काम गरिरहेको अवस्था छ । अहिले पनि हामीसँग लगभग ५ सय जना संक्रमित विरामीहरुलाई राख्न सक्ने क्षमता आइसोलेसनको रहेको छ । ५ सयसम्म सक्रिय संक्रमित भएपनि सजिलै व्यवस्थापन गर्न सक्छौं । लक्षण नभएका विरामीहरुलाई राख्नको लागि केही होटलहरुलाई समेत आइसोलेसन बनाइएको छ । लक्षणसहितका विरामीलाई राख्नको लागि दुई वटा अस्पतालमा व्यवस्था मिलाएका छौं ।

४. पछिल्लो समय चिकित्सक, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी संक्रमित हुने क्रम बढ्दो छ ? यसले गर्दा कोरोना रोकथाम तथा नियन्त्रणका कामहरुमा कस्तो प्रभाव पारेको छ ?

सुरक्षाकर्मी जसले सुरक्षाको जिम्मा लिएको छ । उहाँहरुको समुह पनि ठूलो मात्रामा संक्रमित भएको अवस्था छ । नेपालगञ्ज मेडिकल कलेज र भेरी अस्पतालमा सेवा दिने डाक्टरसापहरु, नर्सिङ स्टाफ, ल्यावकर्मीहरु समेत संक्रमित भएको अवस्था भएको हो । उहाँहरु केही उपचारमा हुनुहुन्छ भने केही डिस्चार्ज भएर सेवामा खटिसक्नुभएको छ । उहाँहरुलाई आन्तरिक रुपमा त्रास त छँदैछ । अर्को कुरा एकैपटक धेरै स्वास्थ्यकर्मी संक्रमित हुँदा उपचारको लागि ड्युटी खटाउँदा जनशक्तिको अभाव भएको बेला–बेला गुनासो आउने गर्दछ । संक्रमित नभएका जनशक्तिबाट नै विरामीहरुलाई सेवा दिनको लागि अस्पतालहरु लागेको अवस्था छ । धेरै सुरक्षाकर्मीहरु पनि संक्रमित हुनुहुन्छ । नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले आइसोलेसनको सुरक्षा, संक्रमित केश व्यवस्थापनमा समेत सहयोग गर्नुहुने भएकाले जनशक्ति अभावमा केही समस्या पारेको छ ।

५. संक्रमितहरु दैनिक जसो बढिरहेको अवस्थामा लक्षणसहितका संक्रमितहरु थपिने क्रम भने कस्तो छ ?

पछिल्लो समय त लक्षणसहितका केशहरु दैनिक दुई÷तीन वटा देखिने गरेका छन् । उनीहरुको व्यवस्थापन पनि हुँदै आएको छ । सामान्य रुघाखोकि लागेका संक्रमितहरुलाई सकेसम्म आइसोलेसनमा नै राख्ने गरेका छौं । अन्य लक्षण देखिएका संक्रमितहरुलाई तत्काल सुविधासम्पन्न अस्पतालमा पु¥याउने गर्दछौं । अहिलेसम्म ८० जनाभन्दा बढी संक्रमितहरुलाई लक्षण देखिएको अवस्था छ । उनीहरु सबैको राम्रोसँग व्यवस्थापन भइरहेको छ ।

६. गम्भिर खालका संक्रमितको उपचार लागि सुविधासम्पन्न अस्पतालको व्यवस्थापन कसरी गरिएको छ ?

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एउटा भेण्टीलेटर चालू अवस्थामा छ । त्यसैगरी भेरी अस्पतालमा ८ वटा भेण्टीलेटरसहित ७२ बेडको कोभिड अस्पताल सञ्चालनमा छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले पनि एक सय बेड तयार पारेको छ । उहाँहरु अझै भेण्टीलेटर थप गर्ने क्रममा हुनुहुन्छ । शिक्षण अस्पताल कोहलपुर एउटा भेण्टीलेटरमा अहिले पनि कोरोना संक्रमित विरामी राखेर सेवा दिइरहेको अवस्था छ । समग्रमा भन्नुपर्दा हामीले गम्भिर खालका कोरोना संक्रमितको उपचार लागि सबै खाले व्यवस्था मिलाएका छौं । कोरोना संक्रमितको तत्काल अपरेसन गर्नुपरेको खण्डमा समेत कोहलपुरमा तत्काल अपरेशन गर्ने व्यवस्था मिलाइएको छ । अस्पतालमा रहेका अन्य सेवाहरु समेत संक्रमित विरामीले समेत प्रयोग गर्नेगरी व्यवस्था मिलाइएको छ ।

७. बाँकेमा समुदाय स्तरमा नै कोराना संक्रमण फैलिसकेको छ की छैन ?

केही कुराहरुमा हामीले विश्व स्वास्थ्य संगठन (डल्लुएचओ) को मापदण्ड मान्नुपर्ने नै हुन्छ । डल्लुएचओले जे भन्यो त्यही नै उपचार सिस्टममा मान्नुपर्छ । हुन त केही दिन पहिलेबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिधै कोरोना संक्रमित भएर मृत्यु हुने र कोभिड–१९ पोजिटिभ अन्य कारणले मृत्यु भनेर छुट्टाछुट्टै तथ्यांक राख्न थालेको छ । अहिलेको कुरा गर्नुभन्दा धेरै भिडभाड हुने स्थानहरुमा समुदाय स्तरमा नै कोरोना संक्रमण देखिएको छ । नेपालगञ्ज उप–महानगरपालिकाको सबै स्थानमा त होइन्, भित्रका केही पकेट बस्तीहरुमा र केही अफिसहरुमा चाँही समुदाय स्तरमा पनि संक्रमण फैलिएको देखिएको छ । तर अहिलेको डल्लुएचओको परिभाषाले चाँही त्यसलाई कलस्टर ट्रान्समिसन भनेर भनेको छ । कम्युनिटी ट्रान्समिसन भनेपछि संकटकाल घोषणा गर्नुपर्ने, अन्य अन्य व्यवस्थापनमा कडा रुपमा जानुपर्ने भएकाले यसलाई डल्लुएचओले कलस्टर ट्रान्समिसन नै भनेकोले हामी पनि बाँकेको अहिलेको अवस्थालाई कलस्टर ट्रान्समिसन नै भन्छौं । यो बिशेष गरी नेपालगञ्ज उप–महानगरपालिका क्षेत्र देखिएको छ । अन्य खजुरा गाउँपालिकाका दुई स्थानमा कलस्टर ट्रान्समिसन देखिएको अवस्था छ भने अन्य पालिकाहरुमा संक्रमित केश बढेपनि कलस्टर ट्रान्समिसन देखिएको छैन । कोभिडका कारण आठ जनाको मृत्यु समेत भएको भन्नुपर्छ र हामीले डल्लुएचओकोे गाइडलाइन नै फ्लो गर्नुपर्छ ।

८. जिल्लामा पीसीआर परीक्षण कुन मापदण्डका आधारमा भइरहेको छ ? गाउँको भन्दा परीक्षण शहर केन्द्रित हुनुको कारण के हो ?

पीसीआर जाँचको लागि जहाँ संक्रमित बढी छ त्यहीको कन्ट्याक्ट ट्रेसिङ गर्दाखेरी त्यहाँ नै बढी हुने भयो । अलि बढी जाँच हिसाबले पनि नेपालगञ्ज उप–महानगरपालिका रिक्क गु्रपमा प¥यो, सीमा क्षेत्र, भिडभाड बढी, जनसंख्या धेरै भएको हुनाले यहाँ केन्द्रित भयो । तर सबै स्थानीय तहहरुमा त्यो व्यवस्था छ । जिल्ला सरकारले आफै पनि पीसीआर परीक्षणको लागि स्वाब संकलन गर्न सक्छन् । उहाँहरुले परीक्षण गर्नुलाई हामीले जिल्लाबाट समन्वय गरिदिने गरेका छौं । बाँकेमा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ ज्यू समेतको राम्रो साथ र सहयोग रहेको छ ।

९. अन्त्यमा बाँकेबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

अन्य जिल्लाहरुको तुलनामा हाम्रो जिल्लामा सबैको सहयोग पाएका छौं हामीले । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ सर आफै सक्रिय हुनुहुन्छ । उहाँ त कोरोनाकै लागि आएको जस्तो हामीलाई अनुभुति भइराखेको छ । सबै राजनितिक दलहरु, सबै तहका जनप्रतिनिधी, पत्रकार, नागरीक समाज, सरकारी गैर–सरकारी निकाय, सुरक्षाकर्मी लगायतको राम्रो साथ मिलेको छ । कोरोना भएको शंका लागेका रोग पालेर बस्नुभन्दा पनि स्थानीय तहका स्वास्थ्य शाखा तथा भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा पुगेर चिकित्सकहरुसँग सल्लाह लिन आग्रह गर्दछु । लक्षण देखाएको खण्डमा पीसीआर जाँच गरेर आफु समेत बच्न र अरुलाई समेत सर्नबाट रोक्नको लागि सहयोग गर्नुहोस् । धन्यावाद ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ २९ गते सोमबार