बाँसगढीमा समुदायमै पुग्यो कोरोना



बाँसगढी ।

बर्दियाको बाँसगढीमा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको छ । बिहीवार बाँसगढी क्षेत्रका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये एक जना वडाध्यक्ष र दुई जना बाँसगढीमा रहेका बैंकका कर्मचारीहरु रहेको बाँसगढीका स्वास्थ्य शाखा प्रमुख धन बहादुर रेग्मीले जानकारी दिए । संक्रमित तीनै जना क्वारेन्टिनमा नबसेका व्यक्तिहरु हुन् ।

समुदायस्तरबाट स्वाब संकलन गरेर परीक्षणको लागि पठाउँदा पहिलोपटक बाँसगढीमा समुदाय स्तरमा नै कोरोना पुष्टि भएको शाखा प्रमुख रेग्मीले बताए । ‘समुदायमा कोरोनाको अवस्था पत्ता लगाउनको लागि हामीले ३५ जनाको स्वाब संकलन गरेर पठाएका थियौं’ उनले भने, ‘संक्रमित चार जनामध्ये तीन जना सेवाग्राहीको सम्पर्कमा आउनेहरु हुनुहुन्छ ।’ बाँसगढी वडा नम्बर ४ का संक्रमित भने भारतबाट आएर होम क्वारेन्टिनमा बसेका व्यक्ति हुन् । समुदायमा नै कोरोना संक्रमण पुष्टि भएपछि बाँसगढीमा चुनौती थपिएको स्वास्थ्य शाखा प्रमुख रेग्मीले बताए ।

संक्रमित मध्ये एक सिद्धार्थ बैंक र एक कुमारी बैंक बाँसगढी शाखाका कर्मचारी रहेका छन् । उनीहरुलाई सेवाग्राहीबाट नै कोरोना संक्रमण भएको हुनसक्ने आंकलन गरिएको छ । संक्रमितहरुको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरेर उनीहरुले केही दिनमा नै स्वाब संकलन गरिनेछ । संक्रमित फेला परेको वडा कार्यालय र दुई बैंकहरु सिल गरिएको छ । बिहीवार पुष्टि भएका चारै जना संक्रमितलाई बाँसगढी नगरपालिकाले बनाएको आइसोलेसन सेन्टरमा राखिएको शाखा प्रमुख रेग्मीले जानकारी दिए । बाँसगढी नगरपालिकामा अहिलेसम्म २५ जनामा कोरोना संक्रमित भेटिएका छन् । तीमध्ये २१ जना कोरोना जितेर घर फर्किएको बाँसगढी नगर स्वास्थ्य शाखाले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ साउन २३ गते शुक्रबार