कोहलपुर नगरबासीको प्रश्न : ‘स्वच्छ खानेपानी कहिले पाउँछौ सरकार ?’



डिल्ली शाही । कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाका बहुसंख्यक नागरिक स्वच्छ खानेपानीको पहुँचमा छैनन् । नगरपालिकाले हरेक वर्षका नीति तथा कार्यक्रममा स्वच्छ र सफा खानेपानी उपलब्ध गराउने कुरा समेट्ने गरेको छ । तर नगरबासी मानिसको नैसर्गिक अधिकारको रुपमा रहेको स्वच्छ खानेपानी पिउने पाउने अधिकारबाट बन्चित छन् । यहाँका हुनेखानेहरुले खानेपानी तथा जारको पानी पिउने गरेका छन् तर आर्थिक अवस्था कमजोर भएका र विपन्न वर्ग भने स्वच्छ पिउने पानीको प्रयोग गर्नबाट बञ्चित छ । कोहलपुरमा अहिले पनि हजारौं नागरिक कुवाको दुषित पानी प्रयोग गर्दै आइरहेका छन् ।

आर्सेनिक युक्त हेन्डपम्पबाट पानी तान्दै कोहलपुर नगरपालिकाका–१४ का चन्द्र सुनार ।

कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको तथ्यांक अनुसार कोहलपुरमा २० प्रतिशत व्यक्तिहरुले खानेपानीको प्रयोग गरिरहेका छन् भने ८० प्रतिशत नागरिक स्वच्छ खानेपानीको प्रयोगको पहुँच भन्दा बाहिर छन् । कोहलपुर नगरपालिकामा ३ हजार ५ सय १३ घरघुरीले खानेपानीको सेवा सुविधा पाएका छन् भने अझै १३ हजार घरधुरीले अझै पनी स्वच्छ खानेपानी प्रयोग गर्न पाएका छैनन् । लामो समयदेखि स्वच्छ खानेपानीको पहुँचमा नभएका व्यक्ति हुन्, कोहलपुर–१४ का ६० वर्षीय शिवकुमार वर्मा । स्थानीय सरकारले विकासका ठूला–ठूला नारा लगाएपनि आफूहरुले महशुस सम्म गर्न नपाएको उनको भनाइ छ ।‘म यहाँ २०४५ सालदेखि बस्दै आएको छु । हामी आर्सेनिक युक्त (दुषित ) पानी खान बाध्य भएका छौं’ उनले भने ।

त्यो पानी बोतलमा वा भाडामा राखियो भने पानीमा पहेंलोे जस्तो देखिन्छ । यस्तै समस्यामा हरेक घरमा देखिएपछि केही समय पहिले एक संस्थाले २० घरको खानेपानीको परिक्षण गरेको थियो । परीक्षणको क्रममा एक घर बाहेक सबै घरमा आर्सेनिक युक्त पानी देखा प¥यो । उनी भन्छन्, ‘स्थानीय तहको निर्वाचनमा हामीलाई खानेपानीको धारा प्रत्येक घरमा ल्याउँछौं भन्दै भोट मागे तर अहिले तीन वर्ष बित्न लागि सक्यो अझै कुनै सुर छैन । हामीले कहिलेसम्म स्वच्छ पानी पिउने पाउने हो ? ।’ यस्तै अर्का स्थानीय चन्द्र सुनारले आर्सेनिक युक्त पानी पिउने बाध्य भएको बताए । उनले पनि आफूले वर्षौदेखि पिउँदै आएको पानीमा समेत परीक्षण गर्दा आर्सेनिक युक्त पानी भेटिएको बताए । उनका अनुसार उक्त पानीले आफ्नो स्वास्थ्यमा असर गरिरहेको छ । ‘हत्केला र पैतलामा खस्रो खालको दाना आउँछ । कहिले नङ टुट्ने, सेतो हुने समस्या छ ।’ उनको घरमा ३५ फिट तलबाट निकाएको पानीको धारा छ ।

वर्मा र सुनारको मात्रै होइन कोहलपुरका प्रत्येक वडामा यस्तो समस्या छ । यस विषयमा मिसन टुडे राष्ट्रिय दैनिकसँग कुरा गर्दै कोहलपुर नगरपालिका १४ का वडा अध्यक्ष टेकचन हरिजनले स्वच्छ पानीको लागि खानेपानी आयोजना सञ्चालनको क्रममा रहेको बताए । उनले भने, ‘वडामा खानेपानीको व्यवस्थापनको लागि पाइप बिछ्याउने काम भइरहेको छ । यहाँका बासिन्दाहरुले खानेपानीको सुविधा पाउँने सपना पुरा हुँदैछ ।’ यस्तै कोहलपुर–७ का वडाअध्यक्ष दिपकजंग शाहले वडामा खानेपानीको लागि कुनै योजना नरहेको बताए ।

उनका अनुसार वडामा कोलिर्फम, आरर्सेनिक पानीमा देखिएको छ तर यसको विकल्पमा के गर्ने भन्ने बारेमा कुनै योजना ल्याएको छैन । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका छाला तथा यौन रोग विशेषज्ञ डा. सुमित पाण्डेले आर्सेनिकयुक्त पानी खाँदा शरीरको जुनसुकै अंगलाई हानी पुग्ने बताए । ‘आर्सेनिकयुक्त पानी लामो समय खाँदा मन्द विष झै छालाका रोग देखिन थाल्छन्’ उनले भने, ‘यस्तो पानीले छाला, कलेजोको सिरोसिस, मुटु (उच्च रक्तचाप) हुन्छ । श्वासप्रश्वास सम्बन्धी रोगको सम्भावना हुन्छ । मृगौला, मस्तिष्कमा समेत समस्या आउन सक्छ ।’

तर अन्तिम अवस्थामा विभिन्न प्रकारका क्यान्सरको सम्भावना हुने डा. पाण्डेले बताए । कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष नरबहादुर मल्ल आवश्यकता अनुसार पु¥याउन नसकेको बताउँछन् । ९ लाख लिटर बराबरको ट्याङ्की निर्माण भैसकेको उनले बताए । उक्त आयोजनाबाट ५ हजार भन्दा बढिलाई खानेपानी पु¥याउने लक्ष्य रहेको उनको भनाइ छ ।

यस्तै कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले कोहलपुर बासीलाई खानेपानी पु¥याउनका लागि विभिन्न आयोजना सञ्चालनमा रहेको बताए । रावतका अनुसार कोहलपुर नगरपालिका ६, ८, ९ र १० वडामा असोजबाट प्रत्येकको घरघरमा खानेपानी पुग्ने बताए । नम्बर ३ र ४ वडामा पनि खानेपानीको आयोजना सुरु भइसकेको उनले जानकारी दिए । अब कोहलपुर नगरपालिकाले पानी परिक्षणका लागि ल्याब समेत राख्ने उनको भनाइ थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ साउन १८ गते आइतबार