बोलाई–बोलाई मजदुरको ‘पीसीआर’



नेपालगञ्ज ।

बाँके नेपालगञ्जको त्रिभुवन चोकमा भेला हुने श्रमिकहरुको कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएको छ । जिल्लाका अति जोखिम क्षेत्रमा काम गर्नेहरुको पीसीआर परीक्षण गर्ने क्रममा बिहीवार १३० जना मजदुरहरुको स्वाब संकलन गरिएको हो । कामको खोजीमा त्रिभुवन चोकमा भेला हुने श्रमिकहरु अती जोखिममा पर्ने हुँदा कोरोना परीक्षण गर्ने निर्णय गरिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । ‘त्रिभुवन चोकमा बिहानै कामको खोजीमा दैनिक सयौं मानिसहरु भेला हुने गर्दछन्’ उनले भने, ‘त्यसरी जम्मा हुने उनीहरुमा कोरोनाको उच्च जोखिम हुने भएकाले स्वाब संकलन गरेका हौं ।’

उनका अनुसार बिहीवार चोकमा भेला भएका १३० जना मजदुरहरुको स्वाब संकलन गरिएको थियो । श्रमिकहरूको स्वाब सङ्कलनमा नेपाल रेडक्रस सोसाइटी बाँके र कसौधन वैश्य समाज बाँकेले विशेष सहयोग गरेका थिए । चोकमा जम्मा भइ विभिन्न ठाउँमा गएर दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरूको परीक्षणका लागि सरकारले चार महिना लामो लकडाउन अन्त्य भएको घोषणा गरे लगत्तै स्वाब सङ्कलन गरिएको हो । ‘त्रिभुवन चोकबाट २ सय जना श्रमिकहरुको स्वाब संकलन गर्ने लक्ष्य थियो’ कोरोना स्रोत व्यक्ति श्रेष्ठले भने, ‘धेरैजना श्रमिकहरू काम पाउने वित्तिकै त्यहाँबाट गइसकेकोले १३० जनाको मात्र स्वाब लिइयो ।’ बिहीवार संकलन गरिएका स्वाबहरुलाई परीक्षणको लागि भेरी अस्पतालमा रहेको प्रयोगशालामा पठाइएको छ । जिल्लामा केही समययता आएर संक्रमितहरु फेला पर्ने क्रम घट्दै गएपछि उच्च जोखिममा रहेको क्षेत्रको पहिचान गरेर कोरोना परीक्षणलाई तीव्र पारिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । हालसम्म फ्रन्टलाइनमा काम गर्ने र अति जोखिममा रहेका पत्रकार, स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी, औषधी व्यवसायी, बैंङ्कका कर्मचारी र कानुन व्यवसायीहरूको पीसीआर परीक्षण गरिसकिएको छ । स्थानीयको माग अनुसार अब सैलुनमा काम गर्ने, तरकारी मण्डीमा काम गर्ने र अन्य भिडभाडको क्षेत्रमा काम गर्नेहरूको पनि परीक्षण गर्ने तयारी गरिएको कोरोना स्रोत व्यक्ति श्रेष्ठले बताए ।

२५९ जनाको स्वाब संकलन

बिहीवार स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका विभिन्न स्थानबाट २ सय ५९ जनाको स्वाब संकलन गरेको छ । स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले एकैदिन २ सय ५९ जनाको स्वाब संकलन गरेर प्रयोगशालामा पठाइएको जानकारी दिए ।

नेपालगञ्जको त्रिभुवन चोकमा भेला भएका १३० जना श्रमिक, कोहलपुरका क्वारेन्टिन, स्वास्थ्यकर्मी, कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्ति लगायत ९३ जना र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालबाट ३१ जना र अन्य स्वाब विभिन्न पालिकाबाट संकलन गरिएको हो ।

‘हामीले बिहीवार संकलन गरेका सबै स्वाबलाई पीसीआर परीक्षणका लागि प्रयोगशालामा पठाइसकेका छौं’ उनले भने, ‘प्रयोगशालामा स्वाब चाप अली बढेकाले तीन दिनभित्र रिपोर्ट आउँला ।’ अहिलेसम्म बाँकेमा १० हजार ५ सय जनाको पीसीआर परीक्षणको लागि स्वाब सकंलन गरिएको छ । जसमध्ये ३७० जनामा कोरोना पुष्टि भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ साउन ९ गते शुक्रबार