कोरोनाको कहरमा पर्या–पर्यटन, राजमार्गमै देखिन्छ बाघको ‘बाघचाल’



सुदीप अधिकारी । बर्दिया ।

बर्दिया राष्ट्रिय निकुञ्जमा वन्यजन्तु अवलोकन गर्ने पिक आवर हो, चैतदेखि असार महिना । पर्यटनको पिक आवरमा पर्यटकको स्वागतका लागि पर्यटन व्यवसायी निकै तमझामका साथ जुटेका थिए । निकुञ्जमा बाघलगाएत अन्य वन्यजन्तु अवलोकन गर्न आउनका लागि अधिकाशं पर्यटन व्यवसायीहरुले देशविदेशका पाहुनाहरुलाई आमन्त्रण गर्न पनि भ्याइ सकेका थिए । पर्यटकलाई आर्कषित गर्न पर्यटन व्यवसायीहरुले आर्कषक प्याकेज पनि बनाएका थिए । पर्यटन व्यवसायीको आमन्त्रणलाई स्वीकार गर्दै केही विदेशी पर्यटकले निकुञ्ज अवलोकनका लागि होटल बुकिङ्ग समेत गरि सकेका थिए । पर्यटकको सिजनको सुरुवातसँगै निकुञ्ज तथा पर्यटन व्यवसायीहरुमा खुशीयाली छाएको थियो । निकुञ्ज आसपासका क्षेत्रमा रौनकता बढ्दै गएको थियो । तर सिजनको मुखैमा आएर पर्यटन व्यवसायीहरुलाई गाँसमा ढुंगो परे झै भयो ।

यहाँ पर्यटकको स्वागतका लागि पर्यटन व्यवसायी तम्तयार भइ रहदा विश्वका विभिन्न मुलुकका मानिसहरुलाई कोरोना भाइरसले आफनो चपेटामा पार्न थालिसकेको थियो । केही साता नबित्दै कोरोना भाइरस महामारीका रुपमा विश्वभर फैलियो । विभिन्न मुलुकहरुमा लडकडाउन सुरु भयो । अन्तराष्ट्रिय उडान बन्द हुँदै गए । यसको पहिलो मार पर्यटन व्यवसायीहरुलाई पर्न गयो । पर्यटकका बुकिङ्गहरु धमाधम रद्ध हुन थाले । पहिले नै आएर बसेका पर्यटकहरु प्याकेज नभ्याउँदै हतारहतार आफनो देश फर्कन थाले । जसले गर्दा पर्यटकिय सिजनको रौनकता सुरु नहुँदै पर्यटकिय क्षेत्र एकाएक सुनसान बन्दै गयो । पर्यटकको स्वागतको लागि भब्य तयारी गरेका पर्यटन व्यवसायीमा निराशा छायो । एक पछि अर्को गर्दै होटेल, रिर्सोटहरु बन्द हुँदै गए । फुल्न नपाउँदै आइलाएको विरुवा झै भएको यहाँको पर्यटन व्यवसाय फेरी कहिले फक्रेला भन्दै पर्खाइमा छन् पर्यटन व्यवसायी ।

विगतका वर्ष यो सिजनमा यहाँ पर्यटक खचाखच हुन्थे । पर्यटन व्यवसायी र नेचर गाइडलाई पर्यटकलाई निकुञ्ज घुमाउन भ्याइनभ्याइ हुन्थ्यो । कोही जीप सफारी, कोही हात्ती सफारी त कोही पैदल वाकमा वन्यजन्तुको अवलोकन गरेर मख्ख हुन्थे । निकुञ्ज घुम्ने अधिकाशं पर्यटकले यो सिजनमा बाघ, गैँडा र हात्तीलगाएतका वन्यजन्तु सजिलै देख्थे । तर यतीखेर पर्यटकिय क्षेत्र ठाकुरद्धारा सुनसान छ । यहाँ कुनै पर्यटक छैनन् । निकुञ्जले जगल वाक, जीप सफारी, हात्ती सफारी लगाएतका सबै गतिविधी बन्द छन् गरेको छ । लकडाउनले पर्यटनसँग सम्वन्धित सबै गतिविधी बन्द गरिएका छन् । पर्यटकलाई लक्षित गर्दै ठाकुरद्धारा क्षेत्रमा धरै साना तथा ठूलो होटेल तथा रिर्सोटहरु खुलेका छन् । ठाकुरद्धारा क्षेत्रमा सानाठूला गरि करिव ३० वटा भन्दा बढी होटल तथा रिर्सोटहरु छन् । कोरोना महामारीले अहिले सबै होटेल तथा रिर्सोटका गेटमा ताला झुण्डिएका छन् । होटेल बन्द भएपछि यहाँ काम गर्ने करिव ३ सय कर्मचारी बेरोजगार भएका छन् । नेचर गाइडहरु होटलको कोठामा सिमित छन् ।

रोडौँ रुपैँया लगानी गरेर पर्यटक व्यसाय संचालन गरेका पर्यटन व्यवसायीहरु बढी यतीखेर चिन्तीत छन् । बैँकको ब्याज र किस्ता कसरी तिर्ने उनीहरुमा पिरलो छ । ‘यस्तो पिक आवरमा पर्यटकिय गतिविधी शुन्य छ । लकडाउनको निकै मार खेपेका छौ । यो संकट कसरी टार्ने भन्ने पिरलो छ,’ बर्दिया टाइगर रिसोर्टका प्रवन्धक रेशम थापाले भने । विश्वमा पैmलिएको कोरोना संकटले पर्यटन व्यवसाय धरासायी भएको थापाले बताउँछन् । उनी भन्छन्, ‘यो एक दुई महिनाको संकट होइन । यसले त पर्यटन व्यवसायलाई दुई तीन वर्षनै मारमा पार्छ । कोरोनाले पर्यापर्यटनलाई चौपट बनायो ।’

बन्दाबन्दीका कारण पर्यटन व्यसायीहरुको लगानी चुर्लुम्म डुबेको छ । व्यवसाय धरासयी भएपछि राज्यलाई तिर्नु पर्ने कर पनि तिर्न सक्ने अवस्था नरहेको पर्यटन व्यवसायीहरु बताउँछन् । मुलुकमा स्थिर सरकार भए पछि यहाँको पर्यटन व्यवसाय फस्टाउँदै गएको थियो । विगतमा बन्द भएका रिर्सोट पनि केही वर्षयता संचालनमा आएका थिए । केही नयाँ पनि थपिएका छन् । तर कोरोना भाइरसको महामारीले पुनः पर्यटन व्यवसायलाई ठूलो धक्का लगाएको पर्यटन व्यवसायी एवं गैँडा क्याम्प रिर्सोटका संचालक रामजी थापा बताउँछन् । कोरोना महामारीका कारण निकुञ्जको राजश्वमा समेत ठूलो धक्का पुगेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल बताउँछन् । उनी भन्छन्, ‘यो सिजन वन्यजन्तु अवलोकन गर्ने उत्तम समय हो । यतीबेल आन्तरिक र वाह्य पर्यटकको ओइरो हुन्थ्यो । वर्ष भरीमा सबै भन्दा धेरै राजश्व पनि यसैबेला संकलन हुन्थ्यो । तर अहिले शून्य छ ’

राजमार्गमै देखिन्छ बाघको ‘बाघचाल’

लकडाउन भएयता राजमार्गमा सवारीसाधन खासै गुडेका छैनन् । राजमार्गमा सवारीसाधनको चाप नभएपछि निकुञ्जका वन्यजन्तुले दिनहुँजसो राजमार्गमै देखिन थालेका छन् । बर्दिया राष्ट्रिय निकुञ्ज भित्र पर्ने पुर्व पश्चिम महेन्द्र राजमार्गमा लकडाउनका कारण सवारी साधन नगुड्दा दिनहुँजसो पाटेबाघ र जंगली हात्ती लगायतका वन्यजन्तुहरु राजमार्गमा आउने गरेका छन् । पहिले जंगलभित्र मात्रै देखिने बाघ, हात्ती लगायतका वन्यजन्तुहरु लकडाउनका बेला खुला र सुनसान राजमार्ग भएपछि राजमार्गमै देखिन थालेका हुन् । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भन्छन् ‘राजमार्गमा सवारीको चाप कम भएर होला अहिले बर्दिया निकुञ्ज भित्र पर्ने राजमार्ग पूर्णरुपमा शान्त छ । त्यसैले होला पाटेबाघ र जंगली हात्तीलगायतका वन्यजन्तुले त राजमार्गमै देखिन्छ । कहिलेकाँही त बाघले त राजमार्ग नै छेकेर बसेका हुन्छन् । आजभोली राजमार्गमा दिनहुँ बाघ देखिन्छन् रे नी ? राष्ट्रिय प्रकृती संरक्षण कोष ठाकुरद्धारा बर्दिया संरक्षण कार्यक्रमका प्रमुख डा. रबिन कडरियालाई प्रश्न गर्दा उनी भन्छन्, ‘हो नि बाघ त राजमार्गमा दिनहुँ ‘क्याटवाक’ गर्छन्, भनेको मतलब दिनहुँजसो राजमार्गमा बाघ देखिन्छन् ।’ कडरिया भन्छन्, ‘बाघ मात्रै होइन बाघ, हात्ती, गैँडा जस्ता ठूला वन्यजन्तुहरुले निकुञ्जभित्र पर्ने राजमार्गमा निर्बाद रुपमा हिँडडुल र ओहोरदोहोर गर्न थालेका छन् त ।’

‘कहिलेकाँही निकुञ्जको गस्तिमा निस्कँदा राजमार्गमा पाटेबाघ बसेको, बिच सडका हिँडिरहेको, राजमार्गको बिच सडकमा सुतेको, छेउमा उभिएको देख्न पाईन्छ, राजमार्गमा जडान गरेको क्यमरामा पनि हरेकदिन बाघ पर्ने गरेका छन्’ डा. कडरिया भन्छन् । उनी थप्छन्, ‘ निकुञ्ज भित्र पर्ने राजमार्गमा दिनहुँजसो पाटे बाघ देखिन थालेपछि बर्दिया राष्ट्रिय निकुञ्जका जंगली हात्ती र बाघ यतिबेला पुर्व पश्चिम राजमार्गमा दिनहुँ ‘क्याटवाक’ जस्तै गर्छन् भनेको हुँ । तर साँच्चिकै त्यस्तै भैरहेको छ, बाघ सडकमा आयो भने केहिबेरसम्म त भाग्दै भाग्दैन ।’ राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक तथा आर्थिक सहयोगमा पुर्व पश्चिम राजमार्ग छेउछाउमा बर्दिया निकुञ्जले १० स्थानमा क्यामरा जडान गरेको छ । लकडाउनका बेला वन्यजन्तुको राजमार्गमा ओहोरदोहोरको अवस्था अध्ययन गर्न जडान गरिएका क्यामरामा एउटै बाघले लगातार झण्डै चार किलोमिटर राजमार्गमा हिँडेको तस्विर समेत रेकर्ड भएको डा. कडरियाले बताए । निकुञ्जले राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमको प्राविधिक सहयोगमा लकडाउन सुरु भएपछि राजमार्गको १६ किलोमिटर दुरिमा १० ठाउँमा क्यामेरा जडान गरेको छ ।

‘क्यामेराले रातभर राजमार्गमा पाटे बाघ हिँडडुल गरिरहेको तस्बिर कैद गरेको छ, होहल्ला नहुँदा बाघ, हात्तीलगायतका वन्यजन्तुहरु राजमार्गमा स्वतन्त्र रूपमा हिँडिरहेका देखिन्छन् कडरियाले भने । एकै दिनमा तीन वटा बाघ नजिकैबाट देखेका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भने ‘अहिले बाघ हेर्न निकुञ्जको घना जंगलभित्र पस्नै पर्दैन बाघ त राजमार्गमै भेटिन्छन् । गस्तिमा निस्कँदा निकुञ्ज कार्यालयदेखि अलिकति भित्र गयो भनेपनि बाघ नै देखिन्छन् । गस्तीमा जाँदा निकुञ्जका कर्मचारीले एकैदिनमा ५ वटासम्म बाघ १२ वटासम्म गैँडा र ५० बढि हात्तीका हुल पनि देखेका छन् ।’ लकडाउनअघि सवारीसाधनले कब्जा जमाएको निकुञ्जको जंगलभित्र पर्ने पुर्व पश्चिम राजमार्गमा यतिबेला पाटे बाघको चहलपहल बढेको छ । अत्यावस्यक सामाग्री बोकेका गाडीहरु विहान, वेलुका र रातीमा निकुञ्ज भित्रैको राजमार्गमा बाघ र हात्तीका कारण केहिबेर रोकिन्छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ असार १२ गते शुक्रबार