काठमाडौं ।
उपत्यकामा कोरोना भाइरसबाट संक्रमित नयाँ बिरामीको संख्या ८ पुगेको छ।
आज (शनिबार) अपराह्नसम्मको तथ्यांकअनुसार उपत्यका बाहिरका विभिन्न जिल्लामा घर भई काठमाडौंमा बसोबास गर्ने ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान १० बजे विज्ञप्तिमार्फत सार्वजनिक गरेको कोरोना संक्रमितको सूचीमा उल्लेख सर्लाही रामनगरकी १८ वर्षीया युवती पनि काठमाडौंकै बासिन्दा भएको खुलेको हो।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार संक्रमित युवतीसहित उनको परिवार लामो समयदेखि काठमाडौं बसिरहेको पाइएको हो।
ती युवतीसमेत मंगलबारयता अहिलेसम्म काठमाडौं उपत्यकामा बसोबास गर्ने ८ व्यक्ति संक्रमित प्रमाणित भएका हुन्।
यसअघि शुक्रबारसम्म काठमाडौं उपत्यकामा कोरोना भाइरसबाट ७ जना संक्रमित भइसकेको जानकारी स्वास्थ्य मन्त्रालयले दिइसकेको छ।
अहिले उनीहरू काठमाडौं उपत्यकाभित्रकै विभिन्न अस्पतालको आइसोलेसनमा छन्। तीमध्ये ५ जना टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा छन्।
यसअघि काठमाडौं उपत्यकामा कोरोना संक्रमण पुष्टि भएका बिरामी निको भइसकेका छन्।
देशव्यापी लकडाउन सुरु भएपछि उपत्यकाबाट बाहिरिएकाहरू फेरि धमाधम यतै फर्किन थालेपछि यहाँ फेरि संक्रमण बढ्दै गएको हो।
यसैकारण सरकारले काठमाडौं उपत्यकामा फेरि लकडाउन कडा पारेको छ। चार संक्रमित फेला परेको चन्द्रागिरि नगरपालिकाले त आज शनिबारदेखि जेठ ७ गतेसम्मलाई घरबाट समेत निस्कन नपाउने गरी आफ्नो क्षेत्र सिल नै गरेको छ।









प्रतिक्रिया दिनुहोस्