काठमाडौं ।
पछिल्लोपटक लिपुलेक, कालापानी र लिम्पियाधुरामा सीमा अतिक्रमणको विवाद उल्झेको छ । तीनतिर भारतले घेरिएको र खुला सिमानाका कारण सीमा अतिक्रमणको घाउ बारम्बार उल्झिरहँदा सिमानामा काँडेतार लगाउनुपर्ने आवाज जोडदाररुपमा उठिरहेको छ । यस्तोमा एकजना यस्ता वडाध्यक्ष देखिनुभएको छ, जसले पहिले नै सिमानामा काँडेतार लगाइसकेका छन् । भारतले सीमा अतिक्रमण गरेको भन्दै सडकदेखि सदनसम्म सीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने चर्को आवाज उठिरहँदा पर्सा जिल्लाको पश्चिमी क्षेत्र ठोरी गाउँपालिका वडा नं. ३ का वडाध्यक्षले भारतसँग जोडिएको सीमा क्षेत्रमा काँडेतार लगाइसकेको पाइएको छ ।
वडाध्यक्ष सूर्य लामाले भारतको विहारसँग सीमा जोडिएको वडा– ३ अन्तर्गत पर्ने ठुटेखोला नजिकैको पिल्लर नम्बर ४३५÷१ देखि ४३१÷४ सम्मको करिब ५ किलोमिटरको दूरीमा काँडेतार लगाएउनु भएको हो । वडाध्यक्ष लामाले स्थानीय प्रशासन, प्रहरी र गाउँपालिका अध्यक्षको सहयोगमा २०७४ मंसिरबाट तार लगाउन सुरु गरिएको र ठुटेखोलादेखि ब्रह्मनगरसम्म गरी १९ वटा सानाठूला पिल्लर रहेका करिब ५ किलोमिटर क्षेत्रमा अन्तर्राष्ट्रिय कानुनअनुसार दशगजा क्षेत्रमा छाडेर तार लगाएको जानकारी दिनुभयो । गत ११ चैतदेखि सरकारले देशभर लगाएको ‘लकडाउन’पछिको अवधिमा मात्रै करिब १ हजार ५ सय मिटर काँडेतार लगाइएको छ ।
यो अवधिमा वडाभित्रका भारतसँग सीमा जोडिएका १ हजार ८ सय मिटर क्षेत्रमा तार लगाउन बाँकी रहेकोमा भारतीय पक्षको अवरोध गरेपछि ३ सय मिटर तार लगाउने काम रोकिएको छ । सो क्षेत्रमा दुबैतर्फका प्रतिनिधि बसेर नापजाँच गरेर तार लगाइने सहमति भएको उहाँले बताउनुभयो । ‘छिमेकी मुलुकले देशभर सीमा अतिक्रमण गर्दा कताकता दुख्दो रहेछ । मैले आफ्नो वडाअन्तर्गत पर्ने सीमा क्षेत्रबाटै भए पनि भूमि जोगाउन काँडेतार लगाउन सुरु गरें’, वडाध्यक्ष लामाले राजधानी दैनिकसँग कुरा गर्दै भन्नुभएको छ, ‘भारतीय पक्षले विवाद गराएर अवरोध गरेपछि ३ सय मिटर बाँकी काम रोकियो । त्यो पनि सहमतिबाट छिट्टै सुरु हुन्छ ।’ लामाले गाउँपालिकाबाट वडाका लागि आएको विकास बजेटबाट छुट्याएर आफूले सीमा क्षेत्रको सुरक्षाका लागि काँडेतार लगाएको जानकारी दिनुभयो । २०७४ देखि हालसम्म विकास बजेटबाट तारबारका लागि पहिलो वर्ष १५ लाख, दोस्रो वर्ष १० लाख र गत वर्ष ८ लाख बजेट कटौती गरेर सीमा क्षेत्रमा काँडेतार लगाएको बताउनुभयो ।









प्रतिक्रिया दिनुहोस्