नेपालगञ्जका चार स्थान सिल



कोहलपुर ।

बाँकेको नेपालगञ्ज र रुपन्देही पनि कोरोना भाइरस (कोभिड–१९) का संक्रमित भेटिएका छन् । प्रदेश ५ मा पहिलोपटक शुक्रबार एकैदिन दुई जिल्लामा एक÷एक जनाको दरले दुई जना संक्रमित भेटिएका हुन् । रुपन्देहीका २५ वर्षीय र बाँकेको नेपालगञ्जमा ६० वर्षीय पुरुषमा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । नेपालगञ्जस्थित फुलबारी मस्जिदमा ११ जनाको स्वाब संकलन गरेर कोरोना परीक्षणको लागि भेरी अस्पताल पठाइएको थियो ।

कोरोना संक्रमित पुरुषलाई आइसोलेसन लैजान खटिएका सुरक्षाकर्मी र स्वास्थ्कर्मी

उनीहरु मध्येका ६० वर्षीय पुरुषमा भेरी अस्पतालको कोरोना प्रयोगशालामा पीसीआर प्रविधिबाट जाँच गर्दा कोरोना संक्रमण पाइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । कोरोना संक्रमित व्यक्तिको बिहीबार राति नै पहिलो जाँचमा कोरोना संक्रमण पाइएको थियो । त्यसपछि लगातार दुई पटकको परीक्षणमा कोरोना पोजिटिभ पाइएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए ।

भेरी अस्पतालको कोराना प्रयोगशालाले भेरीफिकेसन ल्याबको मान्यता पाएकाले यहाँबाट अर्को प्रयोगशालामा पुनः परीक्षणका लागि पठाउनु पर्दैन । फुलबारी मस्जिदबाट संकलन गरिएका ११ जनाको कोरोना परीक्षण गरिएकोमा ९ जनाको भने रिपोर्ट नेगेटिभ आएको कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए । अन्य एक जनाको रिपोर्ट आउन बाँकी रहेको छ । संक्रमित पुरुषलाई शुक्रबार दिउँसो नै सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसनमा पु¥याएका थिए ।

उनको स्वास्थ्य अवस्था सामान्य नै रहेको कोरोना फोकल पर्सन श्रेष्ठले बताए । संक्रमित पुरुष नेपालगञ्जको महेन्द्रपार्क नजिकको जुलाहन पुरवास्थित अन्सारी मस्जिदमा सहायकको काम गर्दै आएका थिए । उनी सोे मस्जिदमा सहायकको काम गर्दथे भने उनको घर वडा प्रहरी कार्यालय र एमपी स्कूल बीचको न्युरोडमा रहेको छ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु सङ्क्रमितसँग सम्पर्कमा आएको ब्यक्तिको पहिचानका लागि कन्ट्याकट ट्रेसिङमा जुटेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर ओलीले उनी कहाँबाट आएका हुन् कहाँ कहाँ गए भन्ने बारे अनुसन्धान भइरहेको बताए ।

‘दुई महिनाअघि संक्रमित बुबाको उपचारका लागि भारत गएको भन्ने बुझीन आएको छ’ उनले भने, ‘एक महिनाअघि फर्किएको सूचना प्राप्त भएको छ । अन्य कुराहरु खोज्न प्रहरी परिचालन गरेका छौं ।’ पछिल्लो समयमा नेपालगञ्जका धार्मिक स्थलहरुमा बसोबास गर्ने धर्मगुरु र तीनका सहायकहरुको कोरोना परिक्षण शुरु गरिएपछि सोही क्रममा यहाँ पहिलो संक्रमित भेटिएका हुन् । संक्रमित भेटिएको क्षेत्रलाई पूर्ण रुपमा सिल गरेर सो क्षेत्रका सबैको कोरोना परीक्षण गर्नु पर्ने माग स्थानीय बासिन्दाले गरेका छन् ।

उनिहरुले संक्रमित व्यक्ति घरघरमा गएर बालबालिकालाई ट्यूसन पढाउने काम गर्ने गरेकोले उनि जाने घरहरु लगायत मस्जिद क्षेत्र र उनको घर रहेको टोलमा समेत सबैको परिक्षण गर्नुपर्ने देखिएको छ । ‘सङ्क्रमित ब्यक्तिको सम्पर्कमा आउन सक्ने ब्यक्तिहरुको खोजीका लागि जुटेका छौं’ प्रमुख जिल्ला अधिकारी खड्काले भने, ‘नगर क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।’

चार स्थान सिल

एक जनामा कोरोना संक्रमणको पुष्टी भएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका चार स्थान सिल गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले कोरोना संक्रमण भेटिएपछि उच्च सर्तकता अपनाउँदै नगरका चार स्थान सिल गरिएको जानकारी दिए । नेपालगञ्जको डिएसपी रोड, वडा नम्बर ८ को महेन्द्र पार्क, एकलैनी र धम्बोझी चोक क्षेत्र सिल गरिएको हो । सिल गरिएको क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले चार स्थानलाई पूर्ण रुपमा सिल गरिएको बताए । ‘उच्च सर्तकता अपनाउँदै केही क्षेत्रहरुलाई सिल गरिएको अवस्था छ’ उनले भने, ‘आज (शुक्रबार) सिल मात्र गरेका छौं । शनिबार अलि गहिरो रुपमा काम हुन्छ ।’

प्रहरी धम्बोझी चोकको मस्जिद क्षेत्र तथा अन्य संवेदनशिल स्थानलाई डोरी तथा ¥यापिङ टेपको सहायताले सिल गरेको छ । सिल गरिएको क्षेत्रमा कोही पनि बाहिर निस्कन र बाहिरबाट उक्त क्षेत्रमा प्रवेश गर्न नपाउने प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए । उक्त क्षेत्रका मानिसहरुको स्वास्थ्य परीक्षण गरिएपछि मात्रै सिल खुल्ला गरिने सम्भावना रहेको छ ।

प्रकाशित मिति : २०७७ वैशाख २० गते शनिबार