बजारमा सर्जिकल मास्कको अभाव



नेपालमा सबैभन्दा बढी सर्जिकल मास्क आयात हुने चीनबाट नै आयात गर्न प्रतिबन्ध लागेसँगै बजारमा माक्सको अभाव देखिएको व्यवसायीहरु बताउँछन् । पछिल्लो केही दिनयता भारतले समेत आफ्नो देशमा उत्पादन भएका मास्कहरु अन्य मुलुकहरुमा निर्यात गर्न रोक लगाइसकेको छ ।
कोहलपुर ।

बाँके लगायतका जिल्लाहरुमा केही दिनयता मास्कको अभाव देखिएको छ । कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिममा नेपाल रहेको बताइएपछि बजारमा मास्कको अभाव देखिएको हो । बाँकेसहित विभिन्न जिल्लाहरुमा मास्कको माग बढेसँगै कालोबजारी समेत भइरहेको छ । कोहलपुर, गुलरिया, नेपालगञ्ज, छिन्चु, वीरेन्द्रनगरल तुलसीपुर, घोराही, लमही लगायतका मुख्य बजारमा अहिले मास्क पाइदैन ।

राँझा विमानस्थलमा मास्क लगाएर सुरक्षामा खटिएका नेपाल प्रहरी

जुम्ला घर भई कोहलपुरमा व्यवसाय गर्दै आएका लालबहादुर खड्काले बिहीबार मेडिकलहरुमा मास्क किन्न जाँदा कतै नपाइएको बताए । ‘कोरोना भाइरसको हल्लाले बजारमा मास्क किन्नको लागि पुगे । तर कुनै पनि मेडिकलमा मास्क पाइएन’ उनले भने । एकातिर बजारमा कोरोना भाइरस (कोभिड–१९) को हल्ला र अर्कोतिर बजारमा मास्कको अभाव भएपछि आम नागरीकहरुमा त्रास छाएको छ । व्यवसायीहरुका अनुसार दैनिक जसो ठूलो संख्यामा मानिसहरु मास्क खोज्दै आउँदा रित्तो हात फर्काउनुपर्छ । खासगरी पछिल्लो समय बजारमा सर्जिकल मास्कको अभाव देखिन थालेको छ । नेपाल सर्जिकल एण्ड केमिकल एशोसिएसन भेरीका अध्यक्ष प्रदिप गुप्ताले बाँकेमा सर्जिकल मास्कको अभाव रहेको बताउँछन् । ‘बाँकेमा लगभग सर्जिकल मास्कको स्टक छैन’ उनले भने, ‘चीन र भारतबाट मास्क आउन नसक्दा समस्या देखिएको हो ।’ माघ पहिलोहप्तासम्म बाँकेमा सर्जिकल मास्कको स्टक रहेको उनले बताए ।

‘माघको पहिलो हप्तासम्म यहाँ मास्कको हुनै समस्या थिएन’ अध्यक्ष गुप्ताले भने, ‘चीनमा कोरोना भाइरसको संक्रमण देखा परेपछि यताबाट काठमाडौंका व्यवसायीहरुले खरिद गरेर लगे ।’ यहाँका व्यवसायीहरुले अहिले बदमासी नगरेको उनी बताउँछन् । ‘बाँकेमा मास्कमा व्यवसायीहरुले कालोबजारी गरेका छैनन्’ उनले भने, ‘पुरानो स्टक नरहेको र भारतबाट लुकाईछिपाई ल्याउँदा यहाँ केही मास्क महंगो पर्न गएको हो ।’ अध्यक्ष गुप्ताका अनुसार अहिले भारतमा नै सर्जिकल मास्कको भारतीय २० रुपैयाँदेखि २५ रुपैयाँसम्म पर्ने गरेको छ । कोरोनाको सम्भावित जोखिमबाट बच्ने भनेकै स्वास्थ्य सतर्कता अपनाउने हो ।

डिटोल जस्ता साबुन पानीले हात धुने, मास्क देखि ग्लोब्स लगाउनेसम्मका पूर्व सतर्कता अपनाउने हो । तर, बजारमा यतिबेला यी तीनवटै सामाग्रीको कृत्रिम अभाव सिर्जना गरिएको छ । जहाँ पाइएको छ, त्यो पनि महङ्गो मूल्यमा खरिद बिक्री भइरहेको उपभोक्ताहरुले गुनासो गरेका छन् । स्वास्थ्य संस्थामा यस्ता सामाग्रीको अभाव सिर्जना हुन थालेको छ । नेपाल औषधी व्यवसायी संघ बाँकेका अध्यक्ष बसन्त शर्माले पनि मास्कको कालोबजारी भन्दा पनि मास्कको आयात नै हुन नसक्दा अभाव देखिएको बताए । ‘केही व्यवसायीहरुले कालोबजारी गरेको हुनसक्छन्’ उनले भने, ‘मुख्य कुरा त बजारमा मास्कको स्टक नै छैन ।’

कर्णाली प्रदेशको राजधानि वीरेन्द्रनगरमा समेत सर्जिकल मास्कको अभाव रहेको छ । नेपाल औषधी व्यवसायी संघ सुर्खेतका अध्यक्ष रणबहादुर खड्का व्यवसायीसँग मास्क स्टक नरहेको बताउँछन् । ‘सुर्खेतमा रहेका एक सय भन्दा बढी मेडिकलहरुमा सर्जिकल मास्कको स्टक नै छैन’ उनले भने, ‘मास्क नै स्टक नभएपछि कसरी व्यवसायीहरुले कृत्रिम अभाव गर्नसक्छन् ?’ आफुहरुले ल्याउँने डिलरमा नै मास्कको अभाव रहेको भन्दै अध्यक्ष खड्काले एक महिनादेखी मास्क ल्याउने प्रयास गरेपनि नआउँदा मेडिकलहरुमा मास्कको अभाव भएको बताए ।

चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका ८० भन्दा बढी देशमा फैलिसकेको छ । नेपालमा सामान्य अवस्थामा ३० प्रतिशत मानिसहरुले माक्सको प्रयोग गर्दै आएका छन । तर, कोरोना भाइरसको प्रभाव बढेपछि माक्स ८० प्रतिशत मानिसहरुले प्रयोग गर्ने लागेकाले पनि बजारमा माक्सको अभाव भएको बताइन्छ ।

प्रकाशित मिति : २०७६ फागुन २३ गते शुक्रबार