बढेन बाँके निकुञ्जमा पर्यटकको आकर्षण, नयाँ योजना बनाउँदै निकुञ्ज



कोहलपुर ।

बाघ संरक्षण गर्ने उद्देश्यका साथ स्थापना गरिएको बाँके निकुञ्ज पर्यटकको आकर्षणमा कम पर्ने पाइएको छ । निकुञ्ज पछिल्लो केही समययता आन्तरीक तथा बाह्य पर्यटकहरु भित्र्याउन लागेपनि पर्यटकहरुको संख्या भने खासै बढ्न सकेको छैन ।२०६७ सालमा स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज ५ सय ५० वर्गकिलोमिटरमा फैलिएको छ । यसले बर्दिया, सुर्खेत, सल्यान र दाङलाई छोएको छ । गत आर्थिक वर्ष २०७५/०७६ मा निकुञ्जमा आन्तरिक र बाह्य गरी १५० पर्यटक घुम्न आएको तथ्याङ्कले देखाउँछ ।

ती मध्ये बाह्य विदेशी पर्यटकको संख्या आठ मात्र रहेको थियो । निकुञ्ज घुम्न आउने पर्यटकहरुको संख्या न्यून भएपछि नयाँ योजना बनाउन लागिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले बताए । ‘अन्य निकुञ्जहरुका तुलनामा यस निकुञ्जमा पर्यटक कम आउने गरेका छन्’ उनले भने, ‘यसका कारणको खोजी गरी नयाँ रणनीतिक योजना बनाउन लागिएको छ ।’ पर्यटक भित्र्याउने योजनाअन्तर्गत निकुञ्जले यहाँका जनप्रतिनिधि, होटल तथा यातायात व्यवसायी, पत्रकार, उद्योगी, व्यापारी र अन्य सरोकारवाला पक्षसँग छलफल कार्यक्रमको आयोजना गरी राय सुझाव लिने काम पनि गरिरहेको उनले दाबी गरे ।

‘बाघका लागि बाँके निकुञ्ज उपयुक्त ठाउँ हो’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईले भने, ‘तीन सय बढी प्रजातीका चरा, चौकालगायतका वन्यजन्तु रहेको निकुञ्जमा जंगल सफारीको पनि सुविधा छ । जंगल सफारी खुल्दा पनि खासै पर्यटकहरु बढ्न सकेनन् ।’ सरकारले नेपाल भ्रमण वर्ष २०२० मनाइरहेको बेला नेपालको कान्छो निकुञ्ज भनेर चिनिने बाँके निकुञ्जमा भने पर्यटक बढ्न सकेका छैनन् । होटल व्यवसायी सङ्घ बाँकेका भीमलाल कँडेल भने जिल्लामा नेपाल भ्रमण वर्षको गतिविधि कम भएकाले निकुञ्जमा पर्यटकको उपस्थिति बढ्न नसकेको बताउँछन् । भ्रमण वर्षलाई दृष्टिगत गरी सङ्घले नेपालगञ्जमा प्रथम सडक खाना महोत्सव (फुड फेस्टिबल) गर्न लागेको जानकारी उनले दिए । यही फागुन २३ देखि २४ गतेसम्म हुने खाना महोत्सवमा भारतीय पर्यटक समेत भित्र्याउने सङ्घको योजना छ ।

करिब ५० हजारले अवलोकन गर्ने र रु दुई करोड बढीको कारोवार हुने लक्ष्य लिइएको महोत्सवमा आउने पर्यटकलाई बाँके निकुञ्ज पु¥याउने सकिने अध्यक्ष कँडेलले दाबी गरे । सो निकुञ्ज नेपालगञ्जदेखि २० किलोमिटर टाढा पूर्व–पश्चिम राजमार्गको छेउमै अवस्थित छ । राजमार्गको चौबाटो कोहलपुर चोकवाट पूर्व, पश्चिम र उत्तरी क्षेत्रमा अवस्थित यो पाटेबाघको मुख्य क्रिडास्थलका रुपमा समेत परिचित छ । निकुञ्जको मनमोहक प्राकृतिक छँटा, विभिन्न थरीका वन्यजन्तु, नदीनाला र विभिन्न जातिका परम्परागत आवास घर (होमस्टे) ले निकुञ्जको शोभा बढाएको छ ।

आठ वर्षअघि स्थापना भएको यो निकुञ्जमा पाटेबाघको संख्या २१ पुगेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईले जानकारी दिए । पछिल्लो समय बाघको संख्या बढ्दै गएपछि पर्यटकको संख्यामा पनि वृद्धि हुने क्रम बढेको भएपनि त्यो सोचेजस्तो नभएको उनले बताए । गाभर भ्याली सामुदायिक होमस्टे र चुरिया रेन्जले पनि निकुञ्जको शोभा बढाएको छ । होमस्टेका प्रमुख कृष्ण चौधरीका अनुसार, चुरे क्षेत्रमा हाइकिङको व्यवस्था भएकाले पनि यो निकुञ्ज पर्यटकको रोजाइँमा पर्ने विश्वास गरिएको छ । बाँकेमा भ्रमण वर्षको गतिविधि शून्यजस्तै भएरै अहिले होटल व्यवसायी मात्र होइन, स्थानीय निकाय पनि पर्यटक भित्र्याउने दौड र योजनामा लागिपरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ फागुन ९ गते शुक्रबार