कोहलपुरमा २५ औ जनयुद्ध दिवस मनाइयो, फोटो फिचर



कोहलपुर ।

बाँके लगायत देशभरी २५ औ जनयुद्ध दिवस बिहीबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । जनयुद्ध र जनआन्दोलन महान शहिदको स्मृतिमा २५ औ जनयुद्ध दिवस मनाइएको हो । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कोहलपुर नगर कमिटिको आयोजनामा भएको एक औपचारीक कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य अशोक रोकायले महान शहिदहरुले देखेको सपना साकार पार्नका लागि नेकपा कटिबद्ध भएर लागेको बताएका थिए ।

विक्रम संवत २०५२ साल फागुन १ गते तत्कालिन विद्रोही नेकपा माओवादीले संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्नका लागि युद्ध शुरु गरेको थियो ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का जिल्ला कमिटि सदस्य तथा कोहलपुर नगर कमिटि सचिव तुलाराज विष्टले महिला, समावेशी, धर्मनिपेक्षता बनाउने मुल जग नै जनयुद्ध भएको बताए । ‘यदि हामीले जनयुद्ध नगरेको भए अहिले मुलक संटकालिन अवस्थामा पुग्ने थियो’ उनले भने, ‘त्यसकारणले माओवादीले हातहरियार बोक्न बाध्य भएको थियो ।’ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रदेश नं. ५ का सचिवालय सदस्य तथा बाँके जिल्ला सचिव अशोक कोइरालाले संविधान नेकपाले अझै पूर्ण रुपमा प्रयोग गर्न नपाएको गुनासो व्यक्त गरेका थिए ।

‘जनताको आवश्यकता पुरा गर्नका लागि संविधानमा मात्र लेखेर पुरा हुँदैन’ उनले भने, ‘सोही संविधानमा रहेर कानून बनाउँदै गएपछि मात्र जनताको काम गर्न सहज भएपछि मात्र संविधानको पूर्ण रुपमा प्रयोग गर्न पाउँछौं ।’

जनयुद्ध दिवस कार्यक्रमको कोहलपुर नगरपालिका कमिटिका अध्यक्ष बसन्ती अधिकारी, प्रदेश सदस्य नरेन्द्र न्यौपाने, प्रेम भूषाल लगायतको उपस्थित रहेको थियो ।

जनयुद्ध दिवसको कार्यक्रममा सम्पूर्ण महान शहिदहरुलाई हार्दिक श्रद्धाञ्जलि समेत व्यक्त गरिएको थियो । साथै राष्ट्रिय युवा संघ बाँकेको आयोजना कोहलपुर चौराहामा दिप प्रज्वलन समेत गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ फागुन २ गते शुक्रबार