पहिलेजस्तो खुर्सानी बिक्री वितरण गर्नको लागि बजारको कुनै समस्या नभएकाले किसानहरु यस खेतीतर्फ आकर्षित भएका हुन् । पहिले पहिले खाद्यान्नसँग गाउँ गाउँमा पुगेर खुर्सानी खेती गर्ने किसानहरुले आफुले उत्पादन गरेको खुर्सानी साट्नुपर्ने अवस्था थियो । अहिले स्थानीय स्तरमा नै खुर्सानीको खपत बढेसँगै गुलरीया नगरपालिका भित्रका किसानहरुले व्यवसायीक रुपमा खुर्सानी खेती गर्न थालेका छन् ।
अनोज थारु । गुलरीया ।
बिहानै उठ्ने, चिया नास्ता खाने अनि खेत बारीमा निस्किने बर्दिया गुलरीया नगरपालिकाका वडा नं ७ बडलुपुरका धनिराम लोनियाको दैनिकी हो । बिहानभरी बारीमा खुर्सानी, प्याजको बेर्ना, करेला, भान्टा जस्ता तरकारीको गोडमेल गर्ने खाना खाने अनी अन्य काममा निस्किने उनको दैनिक समय तालिका जस्तै छ । उनै मेहनती, परिश्रमी लोनियाले १० कठ्ठा जमिनमा खुर्सानी, ३ कठ्ठामा प्याजको बेर्ना उत्पादन गरेका छन् । अहिले उनको उत्पादन बजारमा बिक्री गर्ने समय हो । ‘अहिले खुर्सानी बिक्री गर्न मै व्यस्त छु, धमाधम बिक्री भईरहेको छ’ उनले भने । उनले आफ्नै बारीमा उत्पादन गरेको १० क्विन्टल खुर्सानी बिक्री गरिसकेका छन् । यो वर्ष मात्रै खुर्सानी बिक्रीबाट कुल ४५ हजार कमाई भएको उनले जानकारी दिए । अझै २५ देखी ३० क्विन्टल खुर्सानी बिक्री गर्न बाँकी रहेको उनले बताए । उनले यो वर्ष खुर्सानीबाट मात्रै १ लाख बढी आम्दानी हुने अनुमान गरेका छन् ।
६ महिनामा तयार हुने खुर्सानी खेतीले धान खेती भन्दा धेरै फाइदा दिने लोनिया बताउँछन् । ‘त्यो पनि मेहनत, मजदुरी, मलपानी जोड्दा केही पनि आम्दानी हुन्थेन’ उनले भने, ‘तर १० कठ्ठामा खुर्सानी खेती गर्दा फाईदा भयो ।’ धनिराम जस्तै उनका छिमेकी पनि खुर्सानी खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् । गुलरीया नगरपालिका ७ बडलुपुर कै दार्मु लोनिया पनि एक किसान हुन् । उनले १ कठ्ठा १० धुरमा खुर्सानी खेती गरेर यो वर्ष ३० हजार रुपैयाँ आम्दानी गरे ।
बिशेषगरी गुलरीया नगरपालिकाको वडा नं ३ र ७ खुर्सानी खेती गर्ने निकै राम्रो स्थान मानिन्छ । पहिले गुलरीयामा व्यापार व्यवसाय गर्ने कुनै ठाउँ नहुँदा त्यहाँका किसानहरुले गाउँ–गाउँमा गएर धानसँग खुर्सानी साट्ने गरेको बडलुपुर वडा नम्बर ७ का किसान धनिराम यादवले बताए । बङगालिपुर, खैरेनी, डल्ला, ठाकुरद्धारा, गंगापटुवा, रजवार ठाँउहरुमा बइलगाडा (लडिया) मा खुर्सानी लिएर ५/६ दिन उतै बास बसेर धानसँग खुर्सानी साट्ने गरेको अनुभव छ, उनीसँग । अहिले गुलरीया हाटबजार मै सस्तो भएपनि बेच्ने गरेको किसान यादवको भनाई रहेको छ ।
गुलरीया कृषि शाखाले नगरपालिका भित्र करिव ५० विगाहामा कृषकहरुले खुर्सानी खेती गरेको जनाएको छ । गुलरीया कृषि शाखा प्रमुख महादेव शाहले यस वर्ष किसानहरुलाई करिब ६० लाख बराबरको सिंचाईको सामग्री वितरण गर्ने कार्यक्रम रहेको बताए । किसानहरुलाई सिंचाईको सामग्री वितरण गरेपछि कृषकहरु आफै कृषि खेतीमा उत्साहित हुने उनको भनाई रहेको छ । गुलरीया नगरपालिकाको ३ र ७ वडामा बढी भन्दा बढी किसानहरु खुर्सानी खेती गर्ने गरेका छन् ।
त्यसैले वडा नम्बर ७ को बडलुपुर चौगुजी गाउँलाई खुर्सानी खेतीको पकेट क्षेत्र बनाएर खुर्सानी खेतीमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको वडा नम्बर ७ की अध्यक्ष गिता बस्नेतले बताइन् । उनका अनुसार अहिले सम्म किसानहरुले आफ्नै तरिकाले जीवन गुजाराका लागि मात्र खुर्सानी खेती गर्दै आएका थिए । तर यसलाई व्यवसायीकरण गर्नका लागि स्थानीय सरकारको सहयोग र बजारको मुल्य पाए किसानहरु अझै उत्साहित भएको उनले दाबी गरिन् ।









प्रतिक्रिया दिनुहोस्