कोहलपुर ।
बाँकेको कोहलपुरमा रहेको जनज्योति पब्लिक हाईस्कुलले क्विक्स कप अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतबार भएको फाइनल खेलमा दुर्गा मावि रौतहटलाई हराउँदै जनज्योतिले उपाधि जितेको हो । फाइनल खेलमा दुर्गा माविलाई २–१ गोल अन्तरले जनज्योति हाईस्कुलले हराएको थियो ।
सेमिफाइनल खेलमा जनज्योतिले ज्वालामुखी मावि सुनसरीलाई र दुर्गाले महादेव माविलाई हराउँदै उपाधिको लागि भिड्ने यात्रा तय गरेका थिए । खेलको पहिलो हाफ सकिदा जनज्योति र दुर्गाले समान १–१ गोल गरेका थिए । खेलको २६ औं मिनेटमा दुर्गा माविकी सुनिता बोलानले एक गोल गरेकी थिइन् । दुर्गाकी बोलानले १ गोल गरेको ९ मिनेटपछि जनज्योतिकी दिक्षा खाँडले १ गोल गर्ने बराबरी बनाइन् । उनले पहिलो हाफको ३५ औं मिनेटमा गोल गरेकी थिइन् । त्यसपछि दोस्रो हाफको ५१ औं मिनेटमा जनज्योतिकी एलिशा थापामगरले गोल गर्दै अग्रता लिन मद्धत गरिन् । उनको गोलले नै जनज्योतिलाई उपाधि हात पार्न मद्धत गरेको थियो ।
प्रतियोगिताको उपाधि हात पारेको जनज्योतिले नगद ३ लाख सहित ट्रफि पाएको छ । यस्तै उपविजेता भएको दुर्गा मावि रौतटहले नगद १ लाख ५० हजारसहित ट्रफि पाएको थियो । प्रतियोगितामा तेस्रो भएको महादेव मावि कैलालीले नगद ७५ हजार र चौथौं भएको ज्वालामुखी मावि सुनसरीले नगद ५० हजार रुपैयाँ प्राप्त गरे । एन्फाको आयोजना तथा चौधरी गु्रपको उत्पादन क्विक्सको प्रायोजनामा प्रतियोगिता सञ्चालन भएको थियो । विजेताहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यबहाक अध्यक्ष पंकज नेम्वाङ र चौधरी ग्रुपका सिनियर म्यानेजर विश्वास राइले ट्रफि र नगद प्रदान गरेका थिए ।
सोही प्रतियोगितामा जनज्योतिका अमृत केसी बेस्ट कोच, विनिशा सुनार बेष्ट किपर र दिक्षा खाँड बेस्ट फरवार्ड घोषित भए । उनीहरुलाई जनही नगद ५ हजार रुपैयाँ प्रदान गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल वेग प्रकाश चन्दले जानकारी दिए । ७ प्रदेशबाट छनोट भई आएका विद्यालयले अन्तिम चरणमा प्रतिस्पर्धा गरेका हुन् । छात्रतर्फको फाइनल चरण भने यसअघि नै सम्पन्न भइसकेको छ ।








प्रतिक्रिया दिनुहोस्