बर्दियाको राँझामा रहेको च्यामा सिमसार क्षेत्र संरक्षणको ओझेलमा



रावन बिश्वकर्मा, बाँसगढी

बर्दियाको राँझामा रहेको च्यामा सिमसार क्षेत्र संरक्षणको अभावमा ओझेलमा परेको छ । प्राकृतिक सुन्दरताले भरीपूर्ण र प्राकृतिक रमणीय च्यामा सिमसार क्षेत्रको संरक्षण र उचित प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको हो । बाँसगढी नगरपालिकाको राँझामा रहेको सिमसार क्षेत्रलाई संरक्षण गर्न सके मात्रै आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्र बन्न सक्ने प्रशस्त सम्भावना रहेको छ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित बाह्रै महिना पानी रहिरहने मनै लोभ्याउने प्राकृतिक ताल सिमसार क्षेत्रको मुख्य बिशेषता रहेको छ ।

वरीपरी बनजंगल, चराचुरुङ्गीहरुको चिरबिर आवाज, जंगली जनावरहरुको पानी पिउन आउने मुख्य केन्द्र च्यामा सिमसार क्षेत्र व्यवस्थित बनाउन सके पर्यटकीय गन्तव्यको रुपमा विकास हुने सम्भावना देखिन्छ । सिमसार क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले पनि विभिन्न प्रजातिका चराचुरुङ्गीहरु, जंगली जनावरहरु देख्न पाइन्छ । बाघखोर उपभोक्ता समिति अन्तर्गत पर्ने सिमसार क्षेत्रको विकासको लागि सिमसार क्षेत्र व्यवस्थापन समिति पनि गठन गरिएको छ । च्यामा सिमसार क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष अजित कुमार मल्लले सिमसार क्षेत्रलाई बाँसगढी क्षेत्रकै पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजनाका साथ लागेको बताए ।

उनका अनुसार आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्र बनाउन सिमसार क्षेत्रको संरक्षण र विकासका लागि संघ, प्रदेश र स्थानिय तहमा बजेटको माग गरिएको छ । सिमसार क्षेत्र तथा तालको मर्मत, संरक्षण गरी भ्यु टावरको निर्माण गर्ने, सिमसार क्षेत्र र रमणीय वातावरणको अवलोकनको लागि मचानहरु निर्माण गर्ने, तालको छेउमै पानीको छोरा फाल्ने बोरिङ्ग हान्ने तथा सिमसार क्षेत्रको अवलोकनको लागि वरीपरि पिक्नीक स्थलको विकास गर्ने योजना रहेको मल्लले बताए । ‘सिमसार क्षेत्र र तालको संरक्षण गर्न थाहाँ नपाएर अहिलेसम्म राँझा क्षेत्र पछाडि परेको छ’ उनले भने, ‘अब सिमसार क्षेत्रको विकास गरी बाँसगढी क्षेत्रकै रमणीय र पर्यटकीय गन्तव्यको रुपमा विकास गरिन्छ ।’ ‘सत्खलुवा सिमसार क्षेत्र र बढैयाताल अवलोकनका लागि आएका पर्यटकहरुलाई पनि च्यामा सिमसार क्षेत्रमा अवलोकन गर्न आउने वातावरण मिलाउने सोच बनाएका छौं’ उनले भने ।

बाँसगढी नगरपालिका २ का वडा अध्यक्ष घमण्ड चन्दले बाँसगढी नगरपालिकाको १० लाख बजेटले पानी छेक्ने गेटवाल निर्माण गरिएको र प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत ताल वरीपरी रहेका झाडिहरु सफा गर्ने काम गरिएको दाबी गरे । सिमसार क्षेत्रसम्म सहज आवतजावतको लागि सडक तथा पुल निर्माणको लागि पहल गरिरहेको उनको भनाई रहेको छ । त्यस्तै बाघखोर उपभोक्ता समितिका अध्यक्ष अर्जुन खड्काले सिमसार क्षेत्रको विकासको लागि समुदाय, गाँउका जनप्रतिनिधि, अगुवा, युवा र बाघखोर उपभोक्ता समिति पनि आ–आफ्नो क्षेत्रबाट लागि परेको जानकारी दिए । सिमसार क्षेत्रको विकास र संरक्षण गर्न सके पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने भन्दै उनले थुपै सम्भावना रहेको बताए ।

स्थानीय थल बहादुर वलीले च्यामा सिमसार क्षेत्र पर्यटकिय सम्भावना बोकेको क्षेत्र भएकाले विकास र संरक्षणको खाँचो रहेको औल्याए । ‘सिमचार क्षेत्रमा रहेको प्राकृतिक सौन्दर्य तालको अवलोकन, जंगल सफारी मार्फत जंगली जनावरहरुको अवलोकन, राँझा जलजलाको रमनिय खुल्ला घाँसे मैदान हो’ उनले भने, ‘यसलाई आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षक बिन्दुको रुपमा विकास गर्न सक्ने सम्भावना
छ ।’ च्यामा सिमसार क्षेत्र पुर्वपश्चिम महेन्द्र राजमार्गको लखना चोक देखि उत्तर ११ किलोमिटर भित्र लखना राझाँ सडक देखि ५ सय मिटर भित्र छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक १८ गते सोमबार