बनाइँदै भगवान्



भेषराज बस्नेत । राँझा ।
बाँकेको जानकी गाउँपालिका– ६ कैरातीपुर निवासी राजकुमार हरिजनको दैनिकी माटासँगै बित्छ । दिनरात उनी माटाबाट भगवान्का विभिन्न आकृति बनाउन व्यस्त हुन्छन् । नेपालगञ्ज–कोहलपुर चारलेन सडकको किनारमा निर्मित अस्थायी टिनको टहराभित्र र बाहिर यतिबेला बन्दै गरेका भगवान्को आकृति भरीभराउ छन् । सानै उमेरदेखि मूर्ति बनाउने काम गर्दै आएका हरिजनको यो पुख्र्यौली पेशा हो । बाँकेको जानकी गाउँपालिकाबाहेक सदरमुकाम नेपालगञ्जमा पनि तीन चार ठाउँमा व्यावसायिक रुपमा माटाबाट भगवान्को मूर्ति बनाएर बिक्री वितरण हुने गरेको छ ।

दशैँं नजिकिँदै जाँदा मूर्तिकारको दैनिकी व्यस्त भएको छ । अहिले उनीहरुलाई माटाको मूर्ति बनाउन भ्याइनभ्याई छ । तराईमा दशैँको बेला घटस्थापनाका दिनदेखि टोलटोलमा माटाबाट बनेका भगवान्को मूृर्तिमा पूजा गर्ने चलन छ । ‘पहिला घरमा सानोसानो मूर्ति बनाउथ्यौंँ, पछि ठूलो बनाउन लागेँ । दुर्गामातालगायत सबै प्रकारको मूर्ति बनाउने गरेको छु ।’ हरिजनले भने,‘नवरात्रको बेला सिजन हो । पराल, बाँस, माटो, काठ किल्ला, डोरी लाग्छ । मेहनत धेरै छ ।’ उनका अनुसार रु २० देखि २५ हजारको एउटा मूर्ति बिक्री गर्दा रु चारदेखि पाँच हजारसम्म नाफा हुन्छ । हरिजनले आफूजस्तै अन्य छ जनालाई रोजगारीसमेत दिएका छन् । उनीहरुले रु १० हजारदेखि रु २० हजारसम्म पारिश्रमिक पाउने गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–८ रानी तलाउ नजीकै मूर्ति बनाउँदै आएका सन्दीपकुमार वंशकारले डेढ महीनाअघिदेखि माटाबाट तयार पारिएका देवीदेवताको आकृतिमा यतिबेला रङरोगन गर्न भ्याइनभ्याई भएको बताए ।

उनका अनुसार यतिबेला कालीगढहरु मूर्तिमा देवदेवीका बाहन र उनीहरुले प्रयोग गर्ने अस्त्रको रङ्गरोगनमा व्यस्त छन् । दुर्गा, लक्ष्मी, गणेश, कात्तिके, बाघ, मुसा, राँगा, सर्प र देवीदेवताका मूर्ति तयार भएका छन् । दुर्गा, बाघ, भैँसी, राक्षस, गणेश, लक्ष्मी, कात्तिकेलगायत मूर्ति बानउनका लागि एक महीना अगाडि बुक गर्ने गरेको वंशकारले जानकारी दिए । मूर्तिका लागि चाहिने औजार र सजावटका सामग्री भारतीय बजार रुपैडिहाबाट खरीद गरी ल्याउने गरिएको छ । बाँकेको सदरमुकाम नेपालगञ्ज, कोहलपुर, जानकी, खजुरा, डुडुवा, नरैनापुरमा समेत दशैँको भोलिपल्ट दुर्गा झाँकी निकाल्ने हुँदा मूर्तिको माग बढ्दै गएको पाइएको छ । खर्च बढी लाग्ने भएकाले समुदाय मिलेर रकम सङ्कलन गरी टोलटोलमा नवदुर्गा भवानीको मूर्ति स्थापना गर्ने गरिए पनि कतिपयले निजी खर्चमा पनि दुर्गापूजा स्थापना गर्ने गरेका छन् । ‘टोलमा देवीको मूर्ति स्थापना भएपछि मात्र दशैँं शुरु भएको महसुस हुन्छ’, नेपालगञ्ज–११ का मनोज रस्तोगीले भने, ‘टोलको सौन्दर्य बढाएर नवदुर्गाको मूर्ति स्थापना गरी श्रद्धालु भक्तजनद्वारा दशँै अवधिभरि विधिवत् पूजाअर्चना हुने गर्छ । यसरी राखिएको देवीका मूर्ति दशैँंको भोलिपल्ट राप्ती नदीमा विसर्जन गरिन्छ ।’ नेपालगञ्जमा नवदुर्गा भवानीको मूर्ति राखेर पूजार्चना गर्ने पुरानो परम्परा
हो । विगतमा अधिकांश मूर्ति भारतबाट ल्याउने गरिए पनि अहिले यहीँ बनाई खरीदबिक्री हुने गरेको छ । ‘टाढाबाट ल्याउँदा टुट्ने फुट्ने समस्या भएकाले पनि धेरैले हामीसँगै मूर्तिको अर्डर दिने गरेका छन्’, मूर्तिकार हरिजनले भने, ‘अझै पनि कतिपयले धेरै डिजाइनवाला र ठूलो मूर्तिका लागि भारत पुग्ने गरेका छन् ।’

मूर्तिकार असङ्गठित

बाँकेमा माटाबाट भगवान्को मूर्ति बनाउने मूर्तिकार सङ्गठित हुन सकेका छैनन् । सोका कारण मूर्तिको दरमा पनि एकरुपता छैन । ‘सबैले आआफ्नै तरिकाले मूर्ति बिक्री गर्ने गरेका छौंँ, चिनेजानेका नियमित ग्राहकलाई छुट गर्ने पनि गरिएको छ’, मूर्तिकार हरिजनले भने, ‘धेरैजसो रेगुलर ग्राहक छन् तर चिनेको आधारमा एक जनालाई छुट गर्दा धेरैजनासँग घाटा खानु परेको छ ।’ उनले निश्चित मूल्य तोकेर मूर्तिको अर्डर गरे पनि मूर्ति लिने बेला ग्राहकले कम मूल्य दिने गरेको गुनासो गरे । विवाद र झैझगडा हुन सक्ने भएकाले यस वर्ष मूर्ति उठाउने दिन प्रहरीलाई खबर गरिने उनले बताए ।

भारतीय कालीगढ समस्या

दशँै र वसन्तपञ्चमी जस्ता समयमा भारतबाट आउने कालीगढ बाँकेको गाउँगाउँमा पुगेर सस्तो दरमा मूर्ति बनाउने गरेका कारण समस्या हुने गरेको नेपाली मूर्तिकारको गुनासो छ । भारतीय मूर्तिकारले कमसल सामग्री राखेर सस्तोमा टोलमै सस्तो दरमा मूर्ति बनाइदिँदा समस्या आएको मूर्तिकार अङ्कित मिश्रले बताए । भारतीय कालीगढलाई गाउँगाउँमा पुगेर काम गर्न स्थानीय सरकारले रोक लगाउनुपर्ने उनको धारणा छ ।

सरकारले चासो नदिएको गुनासो
दुर्गा भवानीको मूर्तिले आकार लिइसकेको छ । अहिले धमाधम साजसज्जा र रङरोगनको कामले भ्याइनभ्याई छ । एक महीनाअघिदेखि शुरु गरिएको मूर्ति बनाउने काम अन्तिम चरणमा पुगेको छ । पराल, माटो, भुस र दाउरा प्रयोग गरी आकर्षक मूर्ति निर्माण गर्ने गरिएको छ । ‘धेरैजसो कच्चापदार्थ नेपालगञ्जमा पाइन्छ, माटो राप्ती किनारबाट ल्याउनुपर्छ’, मूर्तिकार हरिजनले भने, ‘मूर्ति बनाउन सीपको आवश्यकता पर्छ ।’ मूर्ति सजाउन चाहिने सामग्री भने भारतबाट ल्याउनुपर्छ । हस्तकला क्षेत्रमा लागेका व्यक्तिलाई सरकारी निकायले चासो नदिएकामा मूर्तिकारको गुनासो छ । ‘आफैँ सीप सिकेरै यहाँसम्म आएका छौँ’, उनले भने, ‘आवश्यक सीप र नयाँ प्रविधिका बारेमा जानकारी गराउने हो भने अझै राम्रो गर्न सक्ने छौँ ।’ जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादव माटाबाट भगवान्को मूर्ति बनाउने काममा अत्यन्तै मेहनत लाग्ने भए पनि यो पवित्र काम भएकाले मूर्तिकारका जायज माग सम्बोधन गर्न गाउँपालिका सधैँ सकारात्मक रहेको बताए । रासस

  • No tags available
प्रकाशित मिति : २०७६ असोज ११ गते शनिबार