कोहलपुर ।
आगामी मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनको तयारी बाँकेमा तिव्र पारिएको छ । यहाँ रिक्त एक पदका लागि उपनिर्वाचन हुने जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको
छ । कोहलपुर नगरपालिका वडा नम्बर ६ मा वडाअध्यक्ष पदको लागि उपनिर्वाचन हुनेछ । वडाअध्यक्ष रामसोहन थारुको गत मंसिर ९ गते हृदयघातबाट निधन भएको थियो । उनको निधनपछि यहाँ उक्त पद रिक्त रहेको छ ।
सोही स्थानमा उपनिर्वाचन हुने जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ । थारु स्थानीय तहको निर्वाचनमा कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए । निर्वाचन आयोगको सिफारिसमा सरकारको उपनिर्वाचनको मिति तोकेपछि त्यसको तयारी समेत आयोगले अगाडि बढाएको छ । जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख विमल गौतमले माथिको निर्देशन बमोजिम कामहरु गरिरहेको जानकारी दिए ।
‘आयोगले कोहलपुरको वडा नम्बर ६ मा रहेको मतदान केन्द्रको अवस्था बुझ्न लगाएको थियो’ उनले भने, ‘आयोगको निर्देशन अनुरुप हामीले स्थलगत रुपमा अनुगमन गरेर रिपोर्ट केन्द्रमा पठाइसकेका छौं ।’ उनका अनुसार जिल्लामा पहिलेका निर्वाचनका क्रममा बचेका के कती निर्वाचन साम्रगीहरु रहेका छन् भनेर आयोगमा जानकारी गराइसकिएको छ । कोहलपुर ६ रझेनामा रहेको सिद्धार्थ आधारभुत विद्यालयमा मतदान केन्द्र रहने कार्यालय प्रमुख गौतमले जानकारी दिए ।
‘विगतका निर्वाचनहरुमा त्यहाँ दुई वटा वडाको केन्द्र हुदो रहेछ’ उनले भने, ‘अहिले एउटा मात्र वडामा उपनिर्वाचन हुने भएकाले ६ नम्बर वडाको मात्र मतदान केन्द्र हुन्छ ।’ सरकारले उपनिर्वाचनको मिति घोषणा गरेसँगै गत साउन १६ गतेबाट मतदाता नामावली संकलनको काम उक्त वडामा बन्द भइसकेको छ । गत प्रदेश र संघको चुनावको बेला कोहलपुर ६ मा एक हजार नौं सय ६४ मतदाता रहेका थिए । साउन १६ गतेसम्म नयाँ ९२ जनाले वडाबाट मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
आयोगबाट मतदाता नामावली अद्यावधिक भएर नआउँदासम्म वडामा अहिले मतदाता संख्या यतै नै हुन् भनेर भन्न नसकिने निर्वाचन कार्यालयले जनाएको छ । मंसिर १४ गते स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभामा रिक्त रहेका ५१ पदका लागि उपनिर्वाचन हुँदैछ । उपनिवार्चनका लागि आयोगले दल दर्ता गर्न भदौ मसान्तसम्मको समय दिएको छ । २०७४ सालमा सम्पन्न निर्वाचनपछि जनप्रतिनिधिको मृत्यु, राजीनामा र जिल्ला समन्वय समितिमा गएका कारण तीनै तहमा ५१ पद रिक्त छन् । दशैँ तिहारलगत्तै हुने उपनिर्वाचनका लागि २५० मतदानस्थल, ५५० मतदान केन्द्र रहने आयोगले जनाएको छ ।
उपनिर्वाचनमा ५ लाखभन्दा बढी मतदाता सहभागी हुने अनुमान आयोगले गरेको छ । मतदातको संख्या एकीन रुपमा भने असोजको पहिलो हप्ता मात्रै टुंगो लाग्नेछ । ६ हजारभन्दा बढी कर्मचारी निर्वाचनमा खटिने आयोगले जनाएको छ । आयोगका अनुसार प्रतिनिधिसभातर्फ १, प्रदेशसभातर्फ ३, नगरपालिका मेयर १, गाउँपालिका अध्यक्ष ३, उपाध्यक्ष १ तथा वडाध्यक्ष ४२ गरी ५१ स्थानमा उपनिर्वाचन हुनेछ ।









प्रतिक्रिया दिनुहोस्