सहकारीमा ५२ करोड रकम अपचलन, वडाध्यक्ष पाठक र बर्माविरुद्ध पक्राउ पुर्जी जारी



नेपालगञ्ज ।

नेपालगन्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडको ५२ करोड बराबरको रकम अपचलन भएको मुद्दामा नेपालगञ्ज उपमहानगरपालिका दुई वडा अध्यक्ष विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । रकम अपचलन गरेको आरोपमा बाँके प्रहरीले वडा नम्बर १७ का अध्यक्ष अजयकुमार पाठक र वडा नम्बर १८ का अध्यक्ष दीपकुमार बर्माविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । सहकारी वित्तीय विकास संस्था लिमिटेडको ५२ करोड बराबरको रकम अपचलन भएको भन्दै बाँके प्रहरीले अनुसन्धान गर्दै आएको छ ।

सोही मुद्दाको आवश्यक अनुसन्धानका लागि तत्कालिन सञ्चालक समितिमा रहेका वडाध्यक्षद्धय विरुद्ध पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । ‘सहकारी संस्थाको रकम अपचलन सम्बन्धी मुद्दाको अनुसन्धानका लागि उहाँहरु विरुद्ध पक्राउ पुर्जी जारी ग¥यौं,’ उनले भने ‘प्रहरीले उहाँहरुलाई खोजीरहेको छ, तर सम्पर्कमा हुनुहुन्न ।’

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पाठक यसअघि उक्त सहकारी संस्थाको उपाध्यक्ष पदमा कार्यरत थिए, भने बर्मा कार्यसमिति सदस्य तथा कर्जा लगानी उपसमितिमा आवद्ध रहेका थिए । अभियोग लागेपनि उनीहरुले के कति रकम अपचलन गरेका छन् भन्ने कुराको तथ्य अनुसन्धानपछि मात्रै खुल्ने प्रहरी उपरीक्षक वलीले बताए । स्रोतका अनुसार प्रहरीले पक्राउ पुर्जी जारी गरेको सुईको पाए लगत्तै दुबै जना फरार भएका हुन्।

वडाध्यक्ष पाठक र बर्मा भारततर्फ फरार भएको हुन सक्ने प्रहरीको आशंका छ । सहकारीको रकम अपचलन मुद्दाको अनुसन्धान गर्ने क्रममा यसअघि बाँके प्रहरीले उक्त सहकारीका कर्मचारी रहेका वडाध्यक्ष बर्माका दाई मुख्य आरोपी अरुणकुमार सहित गंगाधुर सुवेदी, गोपाल भण्डारी, स्थीरमणि बज्राचार्य, प्रकाश चौधरी र बलराम यादवलाई पक्राउ गरिसकेको छ । सहकारीका अध्यक्ष हरदेवबक्स चौधरीलगायतका अरु सञ्चालकहरु पनि सम्पर्कविहीन रहेकोले उनीहरुको खोजी तिव्र पारिएको बाँके प्रहरीले जनाएको छ । ११ हजार ४ सय आठ जना निक्षेपकर्ता रहेको सहकारीको नेपालगञ्ज, खजुरा र बैजापुरमा शाखा रहेको थियो ।

बाँके प्रहरीले सुचना जारी गर्दै बचतकर्ताहरुलाई आफूसँग भएको प्रमाण लिएर सम्पर्कमा आउन सार्वजनिक आह्वान गरिसकेको छ । करोडौँ रुपैयाँ हिनामिना गरेको सहकारी वित्तिय विकास संस्था लिमिटेडका बचतकर्ताले भने नेपालगञ्जमा दैनिक जसो प्रदर्शन गर्ने गरेका छन् । सञ्चालक समितिका केही पदाधिकारीलाई प्रहरीले पक्राउ गरेर थुनेको र केही फरार रहेपछि सहकारी अहिले बन्द छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ १९ गते बिहीबार