सिडियोलाई स्वागत गर्न रातारात काटिएका रेलिङ्गहरु संघकै कार्यालयबाट गायब



कोहलपुर ।

गैरकानुनी रुपमा कोहलपुर जमुनाहा फोन लेन सडक खण्डको कोहलपुर बजार क्षेत्रमा काटिएका सडक बार (रेलिङ्ग) हरु रातारात कोहलपुर उद्योग बाणिज्य संघको कार्यालय परिसरबाट गायब पारिएका छन् । भदौं पहिलो हप्ता कोहलपुर नगरपालिकाकी उप प्रमुख सन्जु कुमारी थारुको उपस्थितीमा नै कोहलपुर उद्योग बाणिज्य संघले चोरी शैलीमा रेलिङ्गहरु काटेर लगेको थियो । सडकबाट काटेका लगेका रेलिङ्गहरु सोमबार साँझसम्म समेत संघको कार्यालय परिसरमा रहेका थिए । मंगलबार दिउँसो कार्यालयमा नै संघले बाँकेका नयाँ प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई स्वागत गर्ने कार्यक्रम राखेको थियो ।

सिडियोलाई संघका अध्यक्ष चक्र अधिकारी, महासचिव तेजप्रसाद अधिकारी लगायतले स्वागत गरेका थिए । कार्यक्रममा संघका पदाधिकारी, यस क्षेत्रका अगुवा व्यवसायीहरुको उपस्थिती रहेको थियो । नयाँ सिडियो खड्काले सरकारी सम्पत्तिमा हानी नोक्सानी पु¥याउने संघको स्वागत थापेका छन् । कतीपयले भने यसलाई कारबाहीबाट बच्नको लागि संघले नयाँ सिडियोसँग सम्बन्ध बढाउन खोजेको रुपमा बुझेका छन् । यता कार्यक्षेत्र पर्ने सडक डिभिजन कार्यालय नेपालगञ्जले भने रेलिङ्ग कसले र किन काटेको हो भन्नेबारे जानकारी नभएको जनाएको छ । कार्यालयले आफुहरुको अनुमती बिना सडक पेटीमा राखेका पाइप (रेलिङ्ग) काटेर क्षती पु¥याउनेको पहिचान गरेर कारबाही गर्न जिल्ला प्रशासन कार्यालय बाँकेलाई पत्र काटेको छ । निमित्त डिभिजन प्रमुख नेत्र विलास पौडेलले काटेको पत्रमा भनिएको छ ।

‘रत्नराजमार्गको कोहलपुर बजारको इलाका प्रहरी कार्यालय देखि दक्षिणतिर सडकको पुर्व तर्फको सडक पेटीमा राखिएको जि.आई. र रेलिङ्ग पाईपहरु कार्यालयको अनुमती बिना धेरै स्थानमा काटि सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पु¥याएको हुँदा सो कार्य गर्ने गराउने व्यक्तिहरुलाई कारबाही गरिदिनुहुन अनुरोध छ ।’ भदौं ५ गते नै कार्यालयले कारबाहीको लागि प्रशासनलाई पत्र लेखेपनी अझैसम्म कुनै कदम चालिएको छैन । स्थानीयबासीहरुले भने दादागिरी शैलीमा रातारात अन्र्तराष्ट्रिय मापदण्ड अनुसार बनाइएका रेलिङ्गहरु काट्नेलाई छिटो भन्दा छिटो कारबाही गर्न माग गरेका छन् ।

कोहलपुर उद्योग वाणिज्य संघका महासचिव तेजप्रसाद अधिकारीले भने काटिएका रेलिङ्गहरु कोहलपुर नगरपालिकामा पठाएको भन्दै झुट बोलेका छन् । उनले कोहलपुर नगरपालिकाको सहमतीमा नै रेलिङ्ग काटेकोले रेलिङ्गहरु नगरपालिकामा पठाइएको बताइरहँदा नगरपालिका परिसरमा कतै पनी रेलिङ्गहरु देखिएनन् । कोहलपुर नगरपालिकाले पनी रेलिङ्गहरु नबुझेको जनाएको छ । नगर प्रमुख लुट बहादुर रावतले रेलिङ्ग काट्ने र त्यसको ब्यवस्थापन गर्ने कुरा नगरपालिकाको क्षेत्राअधिकार भित्र नपर्ने बताए । ‘काटिएका रेलिङ्ग राख्ने विषय नगरपालिकाको क्षेत्राधिकारभन्दा बाहिरको कुरा हो’ उनले भने, ‘संस्थागत रुपमा त्यसको जिम्मेवारी लिन सकिदैन ।’

संघले रातारात तीन चरणमा एनटिभी रोडदेखि बिद्युत् रोडसम्म सडकको दुबैतर्फका रेलिङ्गहरु काटेको थियो । अन्तर्राष्ट्रिय मापदण्डको सडक निर्माण गर्दा एडिबीले बजार क्षेत्रमा सुरक्षाको लागि भन्दै सडकको दुवै भागमा रेलिङ्ग लगाएको थियो । सम्बन्धित निकायको अनुमती बिना नै कोहलपुर उद्योग बाणिज्य संघले चोरीको शैलीमा रातारात रेलिङ्ग काटेर लगेको हो । संघले रातारात रेलिङ्ग काटेपछि स्थानीयबासीहरु भने आक्रोशित छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ १८ गते बुधबार