यूएनको गाडिमा चोरी गर्ने १० वर्षपछि पक्राउ



कोहलपुर।

संयुक्त राष्ट्रसंघ (यूएन) को गाडिमा डाँका चोरी गर्ने समुहका एक जना १० बर्षपछि पक्राउ परेका छन् । २०६७ सालमा बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर १ देउराली जंगलमा हातहतियार देखाई यूएनको गाडिमा डाँका चोरी भएको थियो ।  उक्त घटनामा संग्लन भएका मध्ये एक जना सोमबार इलाका प्रहरी कार्यालय कोहलपुरको फन्दामा परेका छन् । घटनामा संग्लन बाँके बैजनाथ गाउँपालिका वडा नम्बर ०४ का नरेन्द्र न्यौपानेलाई नेपाल भारत सिमा जमुनाहाबाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

जमुनाहाबाट कोहलपुरतर्फ मोटरसाइकलमा राखेर ल्याउँदै गर्दा न्यौपाने भागेपछि नियन्त्रणमा लिनको लागि प्रहरीले गोली चलाउनुपरेको  थियो । ‘हाम्रो टोलीले कार्यालय तर्फ ल्याउँदै गर्दा भागेपछि नियन्त्रणमा लिन गोली चलाउनुपरेको हो’ उनले भने, ‘एक राउण्ड गोली उनको खुट्टामा लागेको  छ ।’ भारतबाट नेपाल आउँदै गरेको बिशेष सुचना पाएपछि प्रहरी नायब उपरीक्षक शाहीको कमाण्डमा टोली न्यौपानेलाई नियन्त्रणमा लिनको लागि जमुनाहा पुगेको थियो । त्यही नियन्त्रणमा लिएर मोटरसाइकलमा राखेर कोहलपुर ल्याउँदै गर्दा नेपालगञ्ज उपमहानगरपालिका २० राँझा चोक नजिकै हाम फालेर भागेका थिए ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको न्यौपानेको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । कडा सुरक्षा बिच उनको उपचार भइरहेको छ । कोहलपुरका प्रहरी नायब उपरीक्षक शाहीका अनुसार डाँका चोरी मुद्वामा अदालतले ६ वर्ष जेल सजाय तोकेका न्यौपाने फरार प्रतिवादी समेत हुन् । ‘बर्दिया जिल्ला अदालतले डाँका चोरी मुद्दामा उनीसहितको समुहलाई ६ वर्ष कैद फैसला गरेको पाइएको छ’ उनले भने, ‘लामो समयदेखी फरार रहेका उनीलाई ठूलो मेहनतले पक्राउ गर्न सफल भइयो ।’ बर्दिया जिल्ला अदालत २०६८ पौष २१ गते डाँका चोरी मुद्धाका प्रतिवादी बाँके बैजनाथ गाउँपालिका वडा नं. ४ बानियाभारका नरेन्द्र न्यौपाने, डिल्ली वली र मंगल शाहीलाई ६ वर्ष कैद र २७९०० जरिवाना तोकेको थियो ।

गोली प्रहार गरी नियन्त्रणमा लिइएका न्यौपानेविरुद्व अन्य अपराधिक घटनाहरुमा सग्लन भए नभएको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक शाहीले बताए । उनका अनुसार अदालतले कैद फैसला गरेका अन्य भने अझैसम्म फरार नै रहेका छन् । उनीहरुको समेत खोजी भइरहेको बताउँदै प्रहरी  नायब उपरीक्षक शाहीले छिट्टै नै पक्राउ गरिने बताए । उपचार पश्चात पक्राउ परेका न्यौपानेलाई अदालतको जिम्मा लगाइने इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरी नायब उपरीक्षक शाहीले इलाका प्रहरी कार्यालय कोहलपुरको नेतृत्व सम्हालेको एक हप्ता नपुग्दै गोली नै प्रहार गरेर १० बर्षदेखि फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ १७ गते मंगलबार