कर्णाली प्रदेश सरकारले दियो प्रदेश प्रहरीलाई १० गाडी



सुर्खेत। 

कर्णाली प्रदेश आन्तरीक मामिला तथा कानुन मन्त्रालयले खरिद गरेका गाडीमध्य १० वटा गाडी प्रदेश प्रहरी कार्यालय सुर्खेतलाई हस्तान्त्रण गरिएको छ । प्रदेशको शान्ति सुरक्षा स्थितिलाई थप मजबुत बनाउन तथा प्रहरी परिचालनमा सहजहोस् भन्ने ध्येयले मन्त्रालयले प्रदेश प्रहरीलाई गाडी हस्तान्त्रण गरेको हो ।  पहिलो चरणमा पाँच र बिहिबार दोस्रो चरणमा थप पाँच गरी १० वटा गाडी मन्त्रालयले प्रहरीलाई बुझाएको छ । प्रदेश प्रहरी कार्यालय प्रमुख तथा डिआईजी पुर्णचन्द्र जोशीलाई गाडीको साँचो (चावी) हस्तान्त्रण गर्दै कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले सवारी सुविधाका कारण प्रहरीको काम चुस्त, द्रुस्त बन्ने बताए ।

‘हामीले प्रदेश प्रहरी कार्यालयलाई दिएका सवारी प्रदेश प्रहरीले कर्णालीका अन्य जिल्लामा बितरण गर्नेछ’ उनले भने, ‘भौगोलिक र दुर्गमका कारण कर्णालीमा प्रहरीलाई काम गर्न चुनौती छ, त्यसैलाई मध्यनगर गरी गाडी दिएका हौ ।’ दुर्गमका प्रहरी कार्यालय सवारी पाएपछि सेवा प्रवाहमा थप सहजता हुने डिआईजी पुर्णचन्द्र जोशीले बताए । ‘मन्त्रालयले दिएका गाडी आवाश्यकताका आधारमा अन्य जिल्ला प्रहरी कार्यालयलाई दिईनेछ’ उनले भने । यसैबीच कर्णाली प्रदेश सरकारले ६ करोड २९ लाख ९५ हजारमा १४ वटा गाडी खरिद गरेको छ । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार प्रदेश सरकारका कार्यालय प्रयोजनका लागि हालसम्म ६ करोड २९ लाख ९५ हजारमा १४ वटा गाडी खरिद भएका हु्न् । आर्थिक बर्ष २०७५÷०७६ मा गाडी खरिदका लागि मन्त्रालयले आठ करोड ९५ लाख रकम विनियोजन गरेको थियो ।

मन्त्रालयका लेखा अधिकृत मोहन जैसवालका अनुसार सो रकमबाट असार मसान्तसम्म १४ वटा गाडी खरिद गर्दा ६ करोड २९ लाख ९५ हजार रकमखर्च भईसकेको छ । भने बाँकी बजेटबाट थप गाडी किन्ने तयारी छ । हालसम्म दुई चरणमा पहिलो चरण ६ र दोस्रो चरणमा आठ वटा गाडी खरिद गरिएको उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ ८ गते आइतबार