वि.स.२०६६ मंसिर १९ गते सगरमाथा आधार शिविर नजिकै काला पत्थरमा मन्त्रीपरिषदको बैठक बस्यो । त्यही ऐतिहासिक मन्त्रीपरिषद् बैठकमा बाँके राष्ट्रिय निकुञ्जको स्थापना गर्ने निर्णय भएको थियो । २०६७ आषाढ २८ गते बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग कि.मि. क्षेत्र समेटी नेपालको दशौं राष्ट्रिय निकुञ्जको रूपमा बाँके राष्ट्रिय निकुञ्जको स्थापना भएको हो । बाघ संरक्षणका लागी स्थापना गरिएको नेपालको कान्छो राष्ट्रिय निकुञ्ज समेत बाँके हो । नेपाल सरकारले बाघ संरक्षणका लागि अन्र्तराष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता अनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले निकुञ्जको स्थापना गरेको थियो । बाँके राष्ट्रिय निकुञ्ज पाटेबाघ र हात्तीको महत्वपूर्ण वासस्थान मानिन्छ ।
यो निकुञ्ज पश्चिममा बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको हुँदा ठूला वन्यजन्तुको लागि एकदमै महत्वपूर्ण बासस्थानको रूपमा पनि रहेको छ । सन् २०१० मा रुसको पिटर्सबर्गमा भएको बाघ पाइने देशका राष्ट्रप्रमुखहरूको पहिलो सम्मेलनले बाघ संरक्षणबारे चेतना फैलाउने उद्देश्यले दिवस मनाउने निर्णय गरिएको थियो । सम्मेलनले सन् २०२२ सम्म बाघ पाइने १३ देशमा बाघको संख्या दोब्बर बनाउने घोषणा गरेको थियो । उक्त समयमा नेपालमा १ सय २१ वटा बाघ थिए । सन् २०१८ मा संख्या बढेर २ सय ३५ पुगिसकेको छ । सन् २०२२ सम्म नेपालले बाघको संख्या २ सय ५० भन्दा बढी पु¥याउने संकल्प गरेको थियो । यसरी हेर्दा नेपालले आफ्नो लक्ष्य भेटाउन सन् २०२२ सम्म १५ वटा बाघको संख्या बढाउन आवश्यक हुन्छ ।
सन् २०१३ मा जम्मा ४ वटा बाघ रहेकोमा सन् २०१८ को गणना अनुसार बाघको संख्या २१ वटा पुगेको छ । छोटो समयमै बाघ संरक्षणमा बाँके निकुञ्ज सफल बनेको
देखिन्छ । बाघको संख्या बढ्दै गएपनि यसको संरक्षणको लागि भने प्रशस्तै चुनौती देखिन्छ । बाघ संरक्षणको लागि सबै मिलेर संरक्षणको विकल्प छैन । राष्ट्रिय लक्ष्य प्राप्तिको लागि बाघको चोरी निकासी र अवैध ओसारपोसारमा सक्रिय रुपमा अघि बढ्दै संरक्षणमा सबैको हातेमालो आवश्यक हुन्छ ।









प्रतिक्रिया दिनुहोस्