साक्षर घोषणालाई कार्यान्वयनमा जोड



कोहलपुर ।

राप्तीसोनारी गाउँपालिकालाई साक्षर पालिका घोषणा सभालाई सम्बोधन गर्ने अधिकांश बक्ताहरुले साक्षर घोषणा मात्रै नभई कार्यान्वयनमा जोड दिएका
छन् । बाँके जिल्लामा अभियान कै रुपमा चलिरहेको साक्षर स्थानीय तह घोषणा अभियानलाई घोषणा मात्रै सिमित नगरी साक्षर जिल्ला घोषणाको लागि निर्णय कार्यान्वयनमा जोड दिएका हुन् । घोषणा सभामा बोल्दै प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाँकेका सांसद महेश्वरजंग गहतराज अथकले स्थानीय तह साक्षर घोषणा उपलब्धी र अवसर मात्र नभई चुनौती पनि रहेको बताए ।

शिक्षाको विकास बिना समाजको सर्वार्गिण विकासको परिकल्पना गर्नु सान्दर्भिक नहुने उनले बताए । ‘ वर्तमान सरकारले २ वर्षमा नेपालबाट निरक्षर उन्मुलन गर्ने घोषणा गरेको छ ’ उनले भने,‘ सोही अनुरुप बाँकेका सबै स्थानीय तहलाई साक्षर बनाउने अभियानमा सबै हातेमालो गरौँ ।’ सभाका विशिष्ट अतिथि तथा पुर्व मन्त्री प्रेम बहादुर भण्डारीले साक्षर घोषणा गर्नु राप्तीसोनारीको पहिचान भएको बताए । सबैले जिम्मेबार भएर शैक्षिक अभियानमा सहभागी बनौ उनले बताए । उनका अनुसार शिक्षा नभएको समाज र राष्ट्र समृद्ध बन्न नसक्ने बताईएको छ ।

विशिष्ट अतिथि तथा पुर्व संविधान सभा सदस्य अशोक रोकाया राप्तीसोनारी हरेक हिसाबले सम्भावनाको क्षेत्र भएकोले शैक्षिकको हबको रुपमा बिकास गर्नको लागि सबैले हातेमालो गरेर अघि बढ्नु पर्नेमा जोड दिए । कार्यक्रममा नेकपा राप्तीसोनारीका अध्यक्ष चाम बहादुर घर्ती,नेपाली कांँग्रेस राप्तीसोनारीका प्रतिनिधि श्रीधर उपाध्याय र राप्रपा लगायतका राजनितिक दलका प्रतिनिधिले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । यस्तै २०७५ को एसईई परिक्षामा गाउँपालिका मै उत्कृष्ट नतिजा ल्याउन सफल सरस्वती माविका निराजन चौधरीलाई सम्मान गरिएको थियो । भने विभिन्न विद्यालयका साँस्कृतिक प्रस्तुति, रुकुम जिल्लामा प्रचलित मयुर नाच प्रदर्शन गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ असार ३१ गते मंगलबार