ठेक्का सकिने अवधीमा ४ प्रतिशत काम, पप्पुबाट पेश्की रकम फिर्ता लिइयो



कोहलपुर ।

बाँकेमा निर्माण सुरु गरिएको क्षेत्रीय कारागारको काम ठेक्का अवधी सकिदा लाग्दा ४ प्रतिशतमात्र काम भएको पाइएको छ । समयमा नै कारागारको निर्माणको काम सम्पन्न हुने छाटकाँट नदेखिएपछि निर्माण कम्पनीबाट पेश्की रकम फिर्ता लिइएको छ ।

कारागार निर्माणको ठेक्का पप्पु–रसुवा कन्स्ट्रक्शनले पाएको थियो । विवादमा आइरहने पप्पुले समयमा नै काम सम्पन्न गर्न नसक्ने देखिएपछि शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना ईकाई नेपालगञ्जले पेश्की स्वरुप लिएको रकम फिर्ता लिएको हो ।

कार्यालयले तीन बर्षभित्र कारागारको निर्माण सम्पन्न गइसक्नुपर्ने पप्पु–रसुवा कन्स्ट्रक्शनसँग सम्झौता गरेको थियो । तीन बर्षे सम्झौताको अवधी आगामी कात्तिक ४ गते सकिदैछ । शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना ईकाई नेपालगञ्जका अनुसार हालसम्म ४ प्रतिशत मात्रै काम भएपछि निर्माण कम्पनीबाट मोविलाईजेशन बापतको ७ करोड ६ लाख रुपैयाँ फिर्ता लिइएको छ ।

‘सम्झौताको अवधी समाप्त हुने बेलासम्म ४ प्रतिशतमात्रै काम भएको छ’ कार्यालय प्रमुख सुबास बस्नेतले भने, ‘त्यसैले निर्माण कम्पनीलाई मोविलाईजेशन बापत उपलब्ध गराएको ७ करोड ६ लाख रुपैयाँ फिर्ता ल्याएको हो ।’ कुल ५३ करोड बजेट रहेकोमा ठेक्कामा जाँदा पप्पु–रसुवा कन्स्ट्रक्शनले ३८ करोडमा ठेक्का सकारेको थियो ।

क्षेत्रीय कारागार निर्माणका लागि रसुवा–पप्पु कन्ट्रक्सन जेभीले २०७३ कार्तिक ८ गते ३८ करोड ६८ लाख ७९ हजार २ सय ८१ रूपैयाँमा ठेक्का लिएको थियो । बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा क्षेत्रीय कारागार निर्माणाधिन अवस्थामा रहेको छ । १० बिगाह क्षेत्रफलमा बन्न लागेको ३ हजार कैदीबन्दी क्षमताको कारागार निर्माण सम्झौता सकिदा लाग्दा समेत निर्माण कम्पनीको बदमासीका कारण सुस्त छ । कारागारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तिन सय जना बस्ने ब्यारेक, मुख्य कारागार भवन, प्रशासनीक भवन, भान्सा, आठ वटा जेल युनिट लगायत विभिन्न २५ वटा संरचना निर्माण गर्नुपर्नेछ । त्यसैगरी जिल्लाको गनापुरमा निर्माणाधिन खुला कारागार पनी सञ्चालनमा आउन सकेको छैन ।

कारागार व्यवस्थापन विभागले १ करोड ४६ लाखको लागतमा सुरक्षा भवन निर्माण गरेपनी कारागार कहिले सञ्चालन हुने भन्नेबारे टुंगो लाग्न सकेको छैन । यी दुई कारागार निकै सुस्त गतिमा निर्माणाधिन अवस्थामा भईरहँदा बाँके जिल्ला कारागारमा भने क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी भए पछि समस्या हुनेगरेको कारागार कार्यालय बाँकेले जनाएको छ ।

नौबस्तामा निर्माणाधीन क्षेत्रिय कारागार र गनापुरमा निर्माणाधीन खुला कारागार निर्माण भएर सञ्चालनमा आएपछि यहाँका कैदीबन्दीलाई उनीहरूको अपराध प्रकृति हेरेर त्यहाँ स्थानान्तरण गरिने कारागार विभागले जनाएको छ । तर अहिलेको अवस्थामा यी दुवै कारागारहरु निर्धारित अवधीमा नै सञ्चालनमा आउने लक्ष्य देखिदैन ।

  • No tags available
प्रकाशित मिति : २०७६ असार २४ गते मंगलबार