बाँकेमा बढ्दो ट्राफिक नियम उल्लङ्घन



कोहलपुर ।

पछिल्लो समय बाँकेमा ट्राफिक नियम उल्लङ्घन गरेर सवारी साधन चलाउनेको संख्या वृद्वि हुदै गएको पाइएको छ । जिल्ला ट्राफिक कार्यालय बाँकेले मिसन टुडेलाई उपलब्ध गराएको तथ्यांक अनुसार पछिल्लो समय ट्राफिक नियम विपरित सवारी साधन चलाउनेको संख्या बढ्दै जान थालेको देखिएको हो । उक्त अवधीमा बाँके ट्राफिकले सवारी साधनलाई कारवाही गरेर ३ करोड ४६ लाख ९९ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको थियो ।

ट्राफिक नियम उल्लङ्घन गरी सवारी साधन चलाउने बढेसँगै कारवाहीको संख्या बढ्दा राजस्वमा समेत वृद्वि भएको हो । ट्राफिक कार्यालय बाँकेको तथ्यांक अनुसार आर्थिक बर्ष २०७२÷७३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार ४ सय ३६ वटा सवारी साधनलाई कारवाही गरिएको थियो भने ३६ लाख ३३ हजार ५ सय रुपैयाँ राजस्व संकलन भयो । आर्थिक बर्ष २०७३÷०७४ मा ११ हजार ७ सय ३१ सवारी कारवाहीमा परेका थिए भने ६३ लाख ५३ हजार ५ सय रुपैंया संकलन गरिएको थियो । त्यसैगरी आर्थिक बर्ष २०७४÷०७५ मा १९ हजार ५ सय सवारी कारवाहीमा परेका थिए भने १ करोड ८३ लाख ५ हजार ५ सय रुपैयाँ ट्राफिक प्रहरीले राजस्व संकलन गरेको थियो ।

चालु आर्थिक बर्षको गत बैशाख अन्तिमसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने २५ हजार ३ सय ५० वटा सवारी साधनलाई कारबाही गरिएको जिल्ला ट्राफिक कार्यालय बाँकेका इन्चार्ज ट्राफिक प्रहरी निरीक्षक हिरेन्द्र रोकायले जानकारी दिए । उनका अनुसार यो अवधिमा १ करोड ३८ लाख ७७ हजार रुपैया राजस्व संकलन गरिएको छ । ‘पछिल्लो समय सवारी साधनको संख्या बढेसँगै ट्राफिक नियम उल्लङ्घनका घटना समेत बढिरहेका छन्’ उनले भने, ‘हाम्रो जनशक्तिले भ्याएसम्म त्यसलाई न्यूनिकरण गर्न लागिपरेका छौं ।’ चालु आर्थिक बर्षको साउनमा १ हजार ५ सय ५० वटा सवारी साधन कारवाहीमा परेका थिए भने ९ लाख १५ हजार रुपैया राजस्व संकलन भएको थियो ।

भदौमा २ हजार १ सय ५ वटा सवारी साधान कारवाही ११ लाख ९१ हजार रुपैया राजस्व, असोजमा २ हजार २ सय सवारी कारवाही १२ लाख १९ हजार ५ सय रुपैयाँ राजस्व, कात्तिकमा २ हजार ५० वटा सवारी कारवाही १२ लाख २० हजार ५ सय रुपैयाँ राजस्व, मंसिरमा २ हजार ३ सय वटा सवारी साधन कारवाही १२ लाख ६४ हजार ५ सय रुपैया राजस्व संकलन गरिएको थियो ।

यसैगरी पौषमा २ हजार ७ सय ५० वटा सवारी साधन कारवाही १५ लाख १ हजार रुपैयाँ राजस्व संकलन, माघमा २ हजार ६ सय वटा सवारी कारवाही १३ लाख ९ हजार ५ सय रुपैयाँ राजस्व, फागुनमा ३ हजार ३ सय ५० वटा सवारी कारवाही १८ लाख ११ हजार ५ सय रुपैयाँ राजस्व, चैतमा ३ हजार २ सय ५० सवारी कारवाही १७ लाख १८ हजार रुपैयाँ राजस्व र बैशाखमा ३ हजार १ सय ५० वटा सवारी कारवाहीमा १६ लाख ४२ हजार ५ सय रुपैया राजस्व संकलन भएको छ ।

ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनिकरण गर्नको लागि ट्राफिक नियमबारे सचेतना अभियान फैलाउने भएपछि दुर्घटना र ट्राफिक नियम उल्लङ्घनका घटना भने घट्नुको साटो बढ्दै गइरहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ जेठ २७ गते सोमबार