नेपाल पत्रकार महासंघ आन्दोलन आजदेखि शुरु



काठमाडौं ।

नेपाल पत्रकार महासंघ आजदेखि आन्दोलन शुरु गरेको छ।सरकारले ल्याउन लागेको ‘प्रेस स्वतन्त्रता विरोधी’ मिडिया काउन्सिलसम्वन्धी विधेयक फिर्ता लिन माग गर्दै आइतबारदेखि नेपाल पत्रकार महासंघले आन्दोलन सुरू गरेको छ।

मन्त्रिपरिषदबाट पारित भई बिहीबार संसदमा दर्ता भएको विधेयकका प्रावधान प्रेस स्वतन्त्रता विरोधी रहेकोले महासंघले आन्दोलन सुरू गरेको हो।

महासंघका महासचिव रमेश बिष्टका अनुसार आज दिउँसो २:३० बजे महासंघका पूर्वपदाधिकारी, सम्पादक, कानुनविद् र विज्ञसँग महासंघको केन्द्रीय कार्यालयमा छलफल गर्ने कार्यक्रम छ।

सरकारले प्रेस काउन्सिलको सट्टा सरकारबाट नियन्त्रित मिडिया काउन्सिल बनाउन खोजेको र विधेयकका प्रावधान प्रेस स्वतन्त्रता हनन गर्ने खालको भएपछि महासंघ आन्दोलनमा होमिएको हो।

सदनमा दर्ता भएको उक्त विधेयकमा समाचारले कसैको मर्यादा र प्रतिष्ठामा आँच पुर्‍याएको देखिए पत्रकारलाई दश लाखसम्म जरिवना भराउन सकिने उल्लेख छ।

‘यो विधेयक जस्ताको त्यस्तै कानुन बनेर आयो भने स्वतन्त्र पत्रकारितामाथि अंकुश लाग्छ,’ बिष्टले भने, ‘महासंघ, प्रेस काउन्सिललगायत सरोकार पक्षसँग सहमति र छलफल नगरी विधेयक संसदमा दर्ता गरिएको छ।’

काउन्सिललाई सरकार नियन्त्रित अंगका रूपमा स्थापित गर्ने नियतले विधेयक ल्याइएको भन्दै पत्रकारले विरोध गरेका हुन्। संसदमा दर्ता भएको विधेयक तत्काल फिर्ता लिन पनि महासंघले आग्रह गरेको छ।

  • No tags available
प्रकाशित मिति : २०७६ वैशाख ३० गते सोमबार