डिल्ली शाही कोलहपुर ।
बाढीले घरबास बगाएपछि मनिलाई पाँच वर्षदेखि ज्यान जोगाउने ओतको पिरले न दिन न रातमा निद्रा पर्दैनथ्यो । च्यातिएको पालमुनि खडेरीको राप, वर्षातमा झिजेको विछ्याउना र कठ्यांग्रीने हिँदको सास्तीबाट मुक्ति पाउने आशा नै थिएन ।
बैजनाथ गाउँपालिकामा स्थित ५ मा रहेको बनखेतमा बस्ने २६ वर्षिया मनिषा विकको पाँच वर्षअघिको बाढीले ओत लाग्ने भएको घरबास नै बगायो । त्यसपछिको उनको दैनिकी नै सुरक्षित घरबासको व्यवस्था गसरी गर्ने भन्ने चिन्तामै बित्थ्यो । दश वर्षमुनिका दुई छोरा र श्रीमानसहित आफ्नो शिर सुरक्षित छुपाउने बास नहुँदा मनिसाको दैनिकी सास्तीपूर्ण बन्दै गएको थियो । तर लामो पर्खाइपछि उनले घरबासको चिन्ताबाट मुक्ति पाउने आशा पलाएको छ ।
गाउँपालिकाको समन्वयमा सानैभए पनि बाँसको घर बनाउन सुरु भएपछि अब उनले आफु मात्र नभई परिवार नै सुरक्षित र चिन्तामुक्त बास बस्ने आशा पलाएको हो । पाँच वर्षअघि बर्षातमा आएको भिषण बाढीले मनिसा मात्रै नभई पुरै गाउँ बगाएको थियो । तर आर्थिक हैसियत हुनेहरुले भने केही समयमै आफ्नो सुरक्षित ओतको व्यवस्था गरिसकेका थिए । आर्थिक विपन्न जो दिनभरी कमाएको रकमले साँझ छाक टार्न मुस्किल हुनेहरुले भने अहिलेसम्म आफ्नो घर निर्माण गर्नसकेनन् ।
गाउँपालिकाले आफ्नो पालिकाभित्र रहेका यस्ता विपन्न र घरबास बिहिन परिवारका लागि नमूना घर निर्माण थालेको छ ।
ताइवानको सहयोगमा गाउँपालिकाले विपन्न नागरिकका लागि तत्काल एक दर्जनजति बाँसका सुरक्षित नमूना घर निर्माण गर्न सुरु गरेको हो । अहिले न्यून खर्चमा, स्थानीय बाँसको प्रयोग गरी केही वर्षसम्म टिकाउ हुने नमूना घरहरु निर्माण कार्य धमाधम अगाडि बढिरहेको छ । त्यस्तै बैजनाथ गाउँपालिका ५ का अध्यक्ष मानबहादुर थापाक अनुसार स्थानीय बाँसको प्रयोग गरि ९ वठा घरहरु निर्माणको चरणमा छन् । भने अहिले दुईवटा घरको निर्माण सम्पन्न भई विपन्न परिवारलाई हस्तान्तरण गर्न लायकको बनाइसकेको छ ।
विपन्न तथा जोखिममा परेका घरपरिवारको तथ्यांक अनुसार कमजोर आर्थिक अवस्था भएकाहरुलाई पहिलो प्राथमिकतामा राखेर यी घरहरु निर्माण गर्न लागिएको बताए । आव २०७४÷०७५ मा तीन लाख बाँस खेतीको लागि छुट्याएको अध्यक्ष थापाले जानकारी दिए । नेपालमा आएका ताइवानी विपद् विज्ञ ग्लोरीयाले भने ‘उताको ज्ञान तथा सीप बाड्न र सिक्ने उद्देश्यले आफुहरु यस्ता बाँसका नमूना घरहरु निर्माण गर्न लागेका हौं ।’
करिब तीनलाख रकमको लागतमा निर्माण हुने र सम्बन्धित घरवालाहरुलाई दैनिक ज्यालादारीमा उनीहरुकै घर निर्माण गर्ने कामका लगाएर उनीहरुको सहभागीता जुटाइएको फ्रेण्ड सर्भिस काउन्सिल नेपालका कार्यकारी निर्देशक माधवी प्रधानले बताइन् । उनले, यो घर मात्रै नबनाएर सीप सिकाउने पनि काम भएकाले त्यसका लागि ताइवानबाट १० जना कामदार तथा प्रशिक्षकले घर बनाइरहेको जानकारी दिइन् । हाल २० जना स्थानीयहरुले सीप सिकेका छन् ।
स्थानीय बाँसको प्रयोग गरि जमिनदेखि साढे ३ फिट जगमाथि ९ फिट अग्लो र १९ फिट लम्बाइ तथा १३ फिट चौडाइ भएको घर निर्माण गरिने छ । घर निर्माण कार्य सुरु भएसँगै स्थानीय विपन्न परिवारका सदस्यले गाउँपालिकाले ढिलै भए पनि आफ्ना नागरिकको जीवन रक्षाका लागि काम सुरु गरेको भन्दै उत्साहपूर्ण तरिकाले घर निर्माणमा सहभागी भएका छन् ।









प्रतिक्रिया दिनुहोस्