आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको स्थान र खेलको टुङ्गो



कोहलपुर ।
प्रदेश नं ५ मा आयोजना हुन गइरहेको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको मिति औपचारिक रुपमा घोषणा नभए पनि खेल हुने स्थानको भने टुङ्गो लागेको छ ।

प्रतियोगितामा समावेश कूल ३८ खेलमध्ये १५ विधाका खेल बाँकेमा हुने मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति प्रदेश नं ५ का अध्यक्ष भीम ओलीले जानकारी दिए । उनका अनुसार १५ मध्ये १० खेल नेपालगञ्जमा नै हुनेछन् ।

नेपालगञ्जमा फुटबल, हेन्डबल, सुटिङ, भारोत्तोलन, स्विमिङ, तेक्वान्दो, टेबुलटेनिस, आर्चरी, पुरुष हक्की, चेस र जुडो प्रतियोगिता हुनेछन् । कोहलपुरमा पुरुष क्रिकेट र साइक्लिङ खेल हुने भएको छ भने, खजुराको शुक्र माविमा महिला–पुरुष भलिबल र हक्की तथा ज्ञानोदय माविमा बक्सिङ प्रतियोगिता हुने पक्का भएको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति प्रदेश नं ५ का उपाध्यक्ष नरेन्द्र थापाले बताए ।

उनका अनुसार बर्दियाको गुलरियामा सेपाकटाक्रो, भुरीगाउँमा खो–खो र बाँसगढीमा महिला–पुरुष कबड्डी प्रतियोगिता हुनेछ । कपिलवस्तुमा कुस्ती, दाङको घोराहीमा बास्केटबल, ब्याडमिन्टन, बेलझुण्डीमा एथलेटिक्स, महिला फुटबल, तुलसीपुरमा कराते र उसु खेल हुने प्रस्ताव अनुसार काम भइरहेको छ ।

अध्यक्ष ओलीका अनुसार, रुपन्देहीको बुटवलमा लङटेनिस र शारीरिक सुगठन प्रतियोगिताका लागि प्रस्ताव गरिएको छ । एक÷दुई स्थानमा बाहेक अधिकांश प्रस्ताव गरिएको स्थानमा नै प्रतियोगिता हुने उनले दाबी गरे ।

  • No tags available
प्रकाशित मिति : २०७५ चैत १० गते आइतबार