नेपालगन्ज ।
आठौ राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गरि शनिवार नेपालगन्ज नगरका विभिन्न स्थानमा सरसफाई गरिएको छ । आठौँ राष्ट्रिय प्रतियोगितालाई सघाउ पु¥याउन अबदेखि हरेक साताको शनिवार नेपालगन्जका विभिन्न सडक र स्थानको सफाई गरिने ग्रिन नेपालगन्ज, क्लिन नेपालगन्जका सदस्य हेमन्तराज काफ्लेले जानकारी दिए ।
आइटिएफ तेक्वान्डो संघ, मध्यपश्चिमाञ्चल खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समितिका पदाधिकारी, ग्रिन नेपालगन्ज, क्लिन नेपालगन्जका अभियन्ता, उद्योगी, ब्यापारीले नेपालगन्ज नगरका विभिन्न स्थानको सरसफाई गरेका हुन् । सदस्य हेमन्तराज काफ्लेले आठौँ राष्ट्रिय प्रतियोगितालाई भब्य रुपमा सफल बनाउने दायित्व सवैको भएकोले बताउँदै प्रतियोगितालाई भब्य बनाउन सफाई अभियान सुरु गरेको बताए ।
‘नेपालगन्जमा आउने खेलाडी र पाहुनालाई सफासुग्घर देखाई नेपालगन्जको इज्जत जोगाउन सरसफाई अभियान थालिएको छ,’ उनले भने । उनले प्रतियोगिता नसकिदासम्म सफाई अभियान जारी रहने बताए । हरेक साताको शनिवार नेपालगन्ज नगरको सफाई गरिने बताउँदै उनले आवश्यक परेको खण्डमा अन्य दिनमा पनि सफाई गरिने जानकारी दिए ।
‘प्रतियोगिता हाम्रो पनि हो र नेपालगन्जको इज्जत जोगाउने तपाई, हाम्रो काँधमा छ,’ काफ्लेले भने । नेपालगन्जको फोहर ब्यवस्थापनमा सघाउन उद्योगी, ब्यापारी, सर्वसाधारणलाई आग्रह गर्दै उनले आफूले उत्पादन गरेका फोहर आफैले ब्यवस्थापन गर्नुपर्ने बताए । ग्रिन नेपालगन्ज, क्लिन नेपालगन्जका अध्यक्ष विनोद कर्णले नेपालगन्जमा हुने आठौँ राष्ट्रिय प्रतियोगितालाई भब्य र सभ्य बनाउन सफाई आवश्यक भएको बताए ।
उनले प्रतियोगितामा सहभागी हुन देशका विभिन्न जिल्लाबाट खेलाडी र विशिष्ट ब्यक्ति आउने भएकोले नेपालगन्जको इज्जत जोगाउन सफाई अभियानमा जोड दिएको बताए ।
उनले आठौँ राष्ट्रिय प्रतियोगिता नेपालगन्जबासीका लागि गौरवको विषय भएको बताए । उनले नगरको सफाई गर्ने दायित्व सम्पूर्ण नगरबासीको भएको बताउँदै सफाई अभियानमा सहभागी हुन आह्वान गरे । ‘राष्ट्रिय गौरवको प्रतियोगितालाई सफल बनाउने दायित्व हामी सवैका हो, सवैले मिलेर अघि बढेमात्र प्रतियोगिता सफल हुनेछ,’ उनले भने ।









प्रतिक्रिया दिनुहोस्