नगरभित्रका विद्यालयमै मापदण्ड अनुरुपको पूर्वाधार छैनन्



कोहलपुर ।

बाहिरबाट हेर्दा कोहलपुर क्षेत्रभित्रका विद्यालयका भवन आलिसान मकानभन्दा कम देखिँदैनन् । आकर्षक रंगरोगन, घेरबार देख्दा लाग्छ कुनै विकसित ठाउँमा सबै पूर्वाधारले भरिपूर्ण छन् । तर भित्र छिर्दा भने बाहिरको अनुमान ठ्याक्कै विपरित देखिन्छ ।

कोहलपुर नगरपालिका भित्र रहेका संस्थागत तथा सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार कम रहेको पाइएको छ । बाहिरबाट झट्ट हेर्दा विद्यालयहरु भौतिक पूर्वाधारहरुले सुविधासम्पन्न भएको जस्तो देखिएपनी अधिकांश विद्यालयहरुमा आवश्यक पूर्वाधारहरुको नै व्यवस्थापन नभएको पाइएको हो । भौतिक पूर्वाधारले सुविधा सम्पन्न मान्ने गरिएका संस्थागत विद्यालयहरुमा समेत आवश्यक पूर्वाधारहरु छैनन् ।

यतीसम्म की कोहलपुरमा सञ्चालनमा रहेका केही संस्थागत विद्यालयमा शुद्व खानेपानी, विद्यार्थी संख्याको आधारमा शौचालय र कक्षाकोठा समेत छैनन् । नगर भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुको अहिले कोहलपुर नगरपालिकाकाले अनुगमन तथा सर्वेक्षण गरिरहेको छ । विद्यालयहरुको अनुगमन तथा सर्वेक्षण गरिरहेको टोलीले यस्ता समस्याहरु पहिचान गरेको हो ।

सौचालयको गन्ध कक्षाकोठामा

शान्त र सफा वातावरणमा दिइएको शिक्षा नै विद्यार्थीको लागि अविस्मरणिय हुन्छ । तर सबै पूर्वाधारले भरिपूर्ण रहेको भन्दै महंगो शुल्क अशुल्ने संस्थागत विद्यालयका विद्यार्थी नै सौचालयको गन्ध सुँघ्दै अध्ययन गर्न बाध्य छन् । अनुगमनका क्रममा केही संस्थागत विद्यालयमा सौचालयको ढुंगढुंङ्गती गन्ध विद्यार्थीको कक्षाकोठासम्म पुग्ने गरेको पाइएको छ । नगर शिक्षा प्रमुख रामसुरेश यादवले अहिले नगरका सामुदायिक तथा संस्थागत विद्यालयहरुको अनुगमन तथा सर्वेक्षण गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिए । ‘केही विद्यालयहरु सबै कुरामा सुविधा सम्पन्न भएको पाइएको छ’, धेरै विद्यालयहरुमा विभिन्न किसिमका समस्याहरु छन्’ उनले भने, ‘बाहिरबाट हेर्दा विद्यालयका भवन सुविधासम्पन्न देखिन्छन् तर भित्री हेर्दा धेरै विद्यालयमा धेरै समस्या छ ।

कतीपय संस्थागत विद्यालयका भवन भएपनि कक्षाकोठाहरु सिकाई अनुकुल छैनन् ।’ उनका अनुसार एउटै कोठामा दुई भन्दा बढी कक्षाहरुसमेत सञ्चालन गरेको पाइएको छ । अनुगमनका क्रममा कोहलपुर ८ पिपरीमा रहेको क्यानभास इङलिस मिडियम स्कुलमा शौचालयबाट आएको दुर्गन्ध सिधै कक्षाकोठामा जाने गरेको पाइएको थियो ।

‘हामी त अनुगमनका क्रममा गएको बेला एकछिन पनि नाक नथुनेर बस्न सकेनौं’ उनले भने, ‘सँधैभरी पढ्ने र पढाउनेलाई कस्तो भएको होला, सायद उनीहरु बानी परेकाले बस्न सकेका होलान् ।’ सामुदायिक विद्यालयमा तह अनुसार बिषयगत शिक्षकहरुको अभाव, शैक्षिक साम्रगी, बार्षिक कार्ययोजना नबनाउने गरेको समस्या बढी मात्रामा पाइएको अनुगमन तथा सर्वेक्षण टोलीका एक सदस्यले जानकारी दिए ।

उनका अनुसार औंलामा गन्न मात्र सकिने संस्थागत विद्यालयहरु मात्र मापदण्ड अनुसार चलेको पाइए पनि अधिकांश विद्यालयमा सरकारले तोकेको मापदण्ड पुगेको छैन । अनुगमन तथा सर्वेक्षण टोलीले विद्यालयका समस्याहरु टिपोट गर्नुका साथै समस्याहरुको समाधन गर्न सुझाव दिने गरेको छ । पिउने पानीसित सेट्टीट्याकी जोडिएका, खेलकुद मैदानको कमी, अध्याँरा कक्षाकोठा, शौचालय फोहोर लगायतका समस्या संस्थागत विद्यालयहरुमा रहेका छन् ।

अनुगमन तथा सर्वेक्षण टोलीका सदस्य समेत रहेका एन प्याव्सन कोहलपुरका सचिव शिव डाँगीले अनुगमन चलिरहेको भन्दै अहिले प्रतिक्रिया नदिने बताए । ‘संस्थागत विद्यालयको बारेमा तपाई जानकार नै हुनुहुन्छ’ उनले उल्टै संवाददातालाई प्रश्न गर्दै भने, ‘अहिले यस बिषयमा बोल्दा विवादमा पर्न सकिन्छ त्यसैले अनुगमनपछि सबै कुरा बाहीर आउला ।’ अनुगमनको क्रममा मिसनकर्मीहरुलेसमेत नगरका सामुदायिक तथा संस्थागत विद्यालयहरुको बारेमा स्थल रुपमा बुझ्ने मौका पाएका थिए ।

यसबारे कोहलपुर क्षेत्रका संस्थागत विद्यालयहरुको संगठन एन प्याब्सन कोहलपुरका अध्यक्ष किशोरराज मल्ललाई मिसन टुडेले प्रतिक्रिया लिन खोज्दा मोबाइल अफ रहेको थियो । अनेरास्वियूका कोहलपुर नगर इन्चार्ज सुमन घिमिरे अनुगमनलाई अनुगमनमा मात्र सिमित राख्न नहुने बताए । ‘अनुगमनका क्रममा गल्ती भेटाएका विद्यालयहरु नगरपालिकाले कारबाहीको दायरामा ल्याउनुपर्छ’ उनले भने, ‘नत्र अनुगमनको कुनै काम हुदैन ।’ चैत्र ५ गते नगरपालिकाले अनुगमन तथा सर्वेक्षणबाट आएका समस्याहरुको बारेमा सामुदायिक र संस्थागत विद्यालयहरुका प्रअहरु सँग छुट्टाछुट्दै छलफल गर्दैछ ।

  • No tags available
प्रकाशित मिति : २०७५ चैत १ गते शुक्रबार