प्रादेशिक महोत्सव समापन



नेपालगन्ज ।
गत फागुन १९ गतेदेखि बाँकेको नेपालगन्जमा जारी “प्रादेशिक महोत्सव–२०७५ नेपालगन्ज, बाँके” बुधबार समापन भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष चण्डीप्रसाद ढकालको प्रमुख आतिथ्यता र आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यको अध्यक्षतामा समापन समारोह आयोजना गरिएको थियो ।

समापन समारोहमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष ढकालले देशलाई समृद्धिमा लैजान नीजि क्षेत्रसंगको सहकार्यलाई सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

नीजिक्षेत्रको सहकार्य बिना देश समृद्धि हुन नसक्ने उनको दावी थियो । समापन समारोहमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, हेमराज ढकाल, पूर्व केन्द्रीय सदस्य अच्युत प्रसाई, नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश सदस्य नरेन्द्रराज शर्मा, नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौला, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारी लगायतले बाँकेको समृद्धिका लागि सबैक्षेत्र एकहुनुपर्नेमा जोड दिएका थिए ।

स्वागत भनाई राख्दै नेपालगन्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष अब्दुल वाहिद मन्सुरीले पछिल्लो समय नेपालगन्जलाई पछि पार्ने काम भइरहेको भन्दै त्यस्तै अवस्था रहिरहे आन्दोलन हुने चेतावनी दिए । संघका अध्यक्ष नन्दलाल बैश्यले समग्र जिल्लाको विकासको प्रचार प्रसारका लागि आयोजना गरिएको महोत्सव प्रतिकुल समयका बाबजुत सफल भएको बताए ।

विगत झै यस पटक पनि संघलाई नेपाल सरकारबाट भोगाधिकार प्राप्त १० विगाह जमिनमा वहुउद्देशिय सभा–गृह तथा व्यवसायिक हित सहयोगार्थ संघले महोत्सवको आयोजना गरेको हो । यस बाहेक प्रदेशभित्र थप नयाँ उद्योग व्यवसायलाई विकसित गर्दै स्वाधीन र बलियो प्रदेश निर्माण गर्ने अभियानमा टेवा पु¥याउँदै राष्ट्र र प्रदेशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने महोत्सवको मुख्य उद्देश्य थियो ।

महोत्सवको ७० हजारभन्दा बढी मानिसहरुले प्रत्यक्ष अवलोकन गरेको आयोजकले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ फागुन ३० गते बिहीबार